www.tandavnews.com
Fact ~ In search of truth

छोराको हत्या, न्यायकालागि भौतारीदै आमा

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

सन्तान गुमाउँदाको पीडा बुवाआमालाई जतिको अरु कसलाई पर्ला । नौ महिना कोखमा राखी २५ वर्षसम्म आफ्नो आँखा अगाडी हुर्काएको छोरो गुमाउनु पर्दा पीडाको सिमा रहँदैन । अझै छोरालाई कुटिकुटि मारेको भनेपछि विष्णुकुमारी पाण्डेको मन मात्र टुटेन, तीन वर्षदेखी आँखा ओभाएको छैन उनको ।

छोरालाई कुटेर मार्ने ५–६ जना अहिलेसम्म खुल्लेआम हिँडेको भन्दै विष्णुले ‘न्याय हराएको पोखरा’ भन्दै हिँडेकी छन् । पटक–पटक जिल्ला प्रहरी कार्यालय कास्की धाउँदा पनि छोराको घटना टुङ्गो नलागेपछि विष्णुसँग रुँदै मानवअधिकारवादी संघ संस्था र मिडिया गुहार्ने बाहेक अरु कुनै विकल्प रहेन ।

Batas

घटना २०७२ साल फागुन ५ गतेको हो । मादी सिल्दुजुरे घर भएका विष्णु र उनका छोरा सूर्य पोखरा नयाँबजार बस्थे । फागुन ५ गते शिवरात्री परेको थियो । मोटरसाइकल वर्कशपमा मिस्त्री रहेका सूर्य त्यस दिन विदा भएकै हुनाले अन्य युवाहरु जस्तै साथीहरु शिवरात्री मनाउन घरबाट हिँडे ।

आमा विष्णुसँग विदा मागेर गएको छोरा भोली पल्ट फर्किएन । त्यस दिन विहान एउटा सूचना आयो ‘एक जना केटाको लास सेती नदी किनारमा भेटिएको छ’ । त्यो खबरले विष्णुको मनमा चिसो पस्यो । खबर कानमा पर्नसाथ सबै सेती किनार तर्फ लागे । नयाँ बजार राम मन्दिर पछाडि सेती नदी पुलमुनि सूर्यको लास थियो ।

भोलीपल्ट जिल्ला प्रहरी कार्यालयमा सूर्यको परिवारले किटानी जाहेरी पनि दिए । केही युवाहरुलाई सोधपुछको लागि बोलाइयो तर घटना बारे केही थाहा भएन । सूर्यको चिउडोमा गहिरो चोट लागेका थियो । शरिरको अन्य भागमा पनि चोट थियो । शव फेला परेको ठाँउबाट नजिकै अस्थायी प्रहरी बिट हुँदा पनि प्रहरी अनविज्ञ भएपछि अझै शंका उब्जेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालिन प्रवक्ता तथा डिएसपी केदार रजौरेले घटना बारे गहिरो अनुसन्धान थाले तर टुङगो भने लागेन ।

अहिले ३ वर्ष वितिसक्दा पनि प्रहरीले घटनाबारे सत्य पत्ता लगाउन सकेको छैन, न त त्यो केसको फाइल नै बन्द गर्न सकेको छ ।

३ वर्ष पुरानो घटना रहेको एक प्रहरी अधिकृतले बताए । ‘त्यो घटना हुँदा म कास्कीमा थिइनँ ,’ उनले भने, ‘घटना सुन्दा हत्या भएको भन्ने आएको छ तर कसले ग¥यो भन्ने अझै पत्ता लागेको छैन ।’

घटना रहस्यमय नै बनेको अधिकृतले बताए । ‘हुन त त्यो बेला पोष्टमार्टम रिपोर्टमा ( कज अफ डेथ) मृत्यु हुनुको कारण बजारिएर भएको छ,’ उनले भने, ‘परिवारले पनि केही युवाहरुले कुटेर सेतीमा फालिदिएको भनेर आरोप लगाएका थिए ।’

आमाको रोदन

मेरो छोरालाई शिवरात्रीको वेलुका केही केटाहरुले कुटपिट गरेका थिए । मैले अहिले पनि तिनीहरुको नाम भुलेको छैन । त्यति मात्र होइन त्यो वेला मेरो छोराको केस हेर्र्ने प्रत्येक प्रहरीको नाम पनि मलाई याद छ ।

कसैले पत्ताउँदैन होला । म न्यायको लागि ३ वर्षदेखी जिल्ला प्रहरी कार्यालय कास्की, मानवअधिकार वादी संघ संस्था, वकिलकहाँ धाएको छु । तर मेरो मर्म सुन्ने मात्र भए, निकास गरिदिने कोही भएनन् । सबै ठाँउबाट सान्त्वना मात्र दिए, न्यायको पहल गरिदिने कोही भएनन् ।

मेरो छोरालाई मार्ने हत्यारालाई कारवाही नभएपछि म न्यायको लागि भौतारिएको छु । म मर्न भन्दा पहिला मेरो छोराको हत्यारालाई कारागारमा देख्ने धोको छ ।

आमा विष्णुकुमारी पाण्डे

प्रहरीकहाँ जाँदा मेरो छोरा आफै खसेर मरेको भन्छन् । त्यस्तो कुरा सुन्दा झन् पीडा लाग्छ । कोही मान्छे आफै हाम फाल्छ ? घटना भएको राती मेरो छोरालाई कुटेको देख्ने मान्छेहरु पनि छन् । उनीहरु त्यो वेलामा पनि बोलेका थिए र अहिले पनि बोल्न तयार छन् । हुँदा हुँदै अहिले त जिल्ला प्रहरी कार्यालय कास्कीको गेटबाटै फर्काइदिन्छन् मलाई ।

यो बुढि कति किचकिच गर्न आउँछे भन्दै हेप्छन् । मैले नयाँ एसपी सावलाई भेटेर आफ्नो गुनासो गर्न पनि नपाउने कस्तो प्रहरी कार्यालय हो ? एसपी सावलाई भेटर म फेरी किटानी जाहेरी दिने पक्षमा छु । मलाई थाहा छ, मेरो छोरा फर्किदैन भनेर तर मेरो छोराको हत्यारालाई जेल हाल्न पाए त्यही हो मेरो जीन्दगीमा ठूलो कुरा ।

हत्या भए कारवाही हुन्छ : एसपी राना

पुरानो घटना भएको हुनाले मैले पनि बुझ्नै पर्छ । जहाँसम्म हत्या जोडिएको छ भने ढिलो हुन नपर्ने हो । बल्ल घटनाबारे थाहा पाएँ । पिडित पक्षलाई बोलाएर म सोधपुछ अघि बढाउँछु । घटनाको बारेमा बुझ्छु अनि अनुसन्धान थाल्छु ।

यदी हत्या भएको हो भने कानुनी दायरामा ल्याइन्छ । हत्या भएको होइन भने केसले किन निकास पाएन । यसको लागि फाइल पल्टाएर हेर्नुपर्ने हुन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.