www.tandavnews.com
Fact ~ In search of truth

थरी थरीका नामहरू

पोखरा
ताण्डव न्यूज ।

नाम : सम्बोधनको लागि प्रयोग गरिन्छ । कसैको परिचय दिने नामले विभिन्न अर्थ राखेको हुन्छ ।

व्यक्ति, गाउँ, टोल, जिल्ला, प्रदेश, देश, खोलानाला, डाँडाकाँडा देखि जीवजन्तुसम्म सबैले नाम पाएका छन् । जब कुनै पनि कुरा धेरै हुन्छ, हरेकको अस्तित्व कायम राख्नका लागि नाम राख्न सुरू भएको हुनुपर्छ ।

Batas

मान्छे धेरै भए, छुट्याउन नामको सुरूवात गरियो । हिमाल धेरै भए, यिनले पनि नाम पाए ।

खोला, छहरासम्मको पनि न्वारन भयो । खेतछेउ बग्ने कुलेसोको पनि आफ्नै नाम हुन्छ । अचम्मको कुरा त, बरू व्यक्तिका नाम दोहोरिएलान् । खोलानाला र पाखा पर्वतका नाम स्थान अनुसार वेग्ला बेग्लै हुन्छन्, एक नाम अर्को नामसँग जुधेको देखिँदैन ।

अब हामी मान्छेकै नामका बारेमा कुरा गरौँ । तपाई आफ्नो नाम सम्झनुस् त । कसले राखिदियो ? पण्डित, बुवाआमा, दाजुभाई दिदिबहिनी, छरछिमेकी, विद्यालयमा शिक्षक वा तपाई आफैले ? के न्वारनमा पण्डितले वा बुबा आमाले राखिदिनुभएको नाम तपाईलाई मन प¥यो ?

हामीले एसएलसी दिने समयमा कक्षा नौै मा पुगेपछि रजिष्ट्रेशन फारम भर्नुपर्ने हुन्थ्यो । शिक्षकले भन्नुभए अनुसार नाम फेर्नका लागि त्यो अन्तिम मौका हुन्थ्यो । पछि एसएलसीको मार्कसिटमा नाम टाँसिएर आएपछि फेर्न मिल्दैन भन्ने थाहा पाएपछि मलाई पनि नाम फेर्ने झोँक चल्यो । आफैले कल्पना गरेको मिठो नाम दिएर फारम भरेँ ।

पण्डितजीले न्वारनमा राखिदिएको मेरो पुरानो नाम मलाई चित्त बुझिरहेको थिएन । जब फारममा राखेको नयाँ नाम मेरो थरसँग जोडे पढेँ । मेरो नयाँ नाम आफैलाई नै नौलो लाग्यो मेरै लागि अपरिचित जस्तो, थरसँग जोडेर हेर्दा छेउकुना कताकता नमिलेझैँ लाग्यो ।

अनि नाम फेर्ने विचारलाई आफूबाट हटाईदिएँ । त्यसयता आजसम्म मेरा लागि मेरो पुरानै नाम मिठो लाग्छ । न अब फेरिनेछ, न फेर्ने बारेमा सोचिनेछ । एसएलसी ताका आफैलाई ‘ओल्ड फ््यासन्ड’ लाग्ने आफ्नो नाम सहज लाग्दै गयो ।

एक समय नामका पछाडी काल्पनिक नाम जोड्ने चलन खुबै चलेको थियो । विशेषगरी अटो डायरीमा, गजल र गीत लेख्दा प्रयोग गरिने यि नामहरू अनेकथरी हुन्थे । हामी भारतीय सिमा नजिकैका भएको हुनाले प्रभाव परेर होला, अधिकांशले घायल, दिवाना, बेवफाह, अजनबी, मुस्कान आदी जस्ता नाम राख्ने चलन थियो ।

साहित्य र माया प्रेमलाई सहज लिने चलन नभएर पनि होला । प्रेमि प्रेमिकालाई पठाउने पत्रका छद्म नाम भेटिन्थे । कुनै तेस्रो व्यक्तिले पत्र भेटेपनि सहजै प्रेसक र प्रापक नभेटोस् भन्ने टेक्निक पनि हुनुपर्छ त्यो । फेरिएका नाम भएका पत्र कहिले काहीँ अन्तै पुग्थे । कति पत्र बिचको हुलाकी साथीले मैले दिएको भनिदिन्थ्यो ।

रमाईलो कुरा त एउटाले लेखेको पत्रको सहायताले अर्काले प्रेमिका पट्याउँथ्यो । राम्रो पत्र लेख्न नजान्नेले आफ्नो छद्म नाम मात्रै भनिदिएर जान्ने साथीलाई साहित्यक नाम लेख्न अह्राउँथ्यो । बरू अहिले मोबाइल आएपछि साहित्यको किनबेच हराउँदै गएको छ । साहित्य सँगसँगै ति नामहरू पनि ।

पछि दशवर्षे द्धन्द्धका समयमा पनि नामले निकै चर्चा पायो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको नाम सुनेर म तिनको हुलिया कल्पना गर्थेँ । त्यसबेला प्रचण्ड, बादल जस्ता नाम मान्छेका हुन् कि त्रास फैलाउनका लागि राखिएका मात्रै हुन् भन्ने चर्चा चल्थ्यो ।

रक्तिम, चट्टान, डायमण्ड, कोसिस जस्ता नामहरू भएका कमरेडहरू पण्डित र बुवा आमाले राखेका आफ्ना नाम सुनाउँदैनथे । तर चट्टान नाम राख्ने कमरेड निर्बल झँै लाग्थ्यो । एकता भन्ने नामहरूले बिखण्डन खोजेजस्तो । शत्रु पक्षले नचिनुन भनेर प्रयोग गरिएका ति नामहरू सम्बन्धित व्यक्तिभन्दा बढी चर्चित पनि थिए ।

अचेल सामाजिक सञ्जालमा समेत नाम फेर्ने चलन आएको छ । घायल प्रेमी म, आमाको प्यारी छोरी म, घायल प्रेमी, धोका खाएको मान्छे जस्ता अनेकथरी नामबाट रिक्वेस्ट आउँछन् बेलाबेला ।

नाम पढ्दै बैरागी लाग्ने यस्ता मित्रको फ्रेन्ड रिक्वेस्ट मार्फत बैराग स्वीकार गरेर जिन्दगीमा थप वैराग थप्न मन लाग्दैन । फेसबुकमा देखिने पीडित नामका फ्रे्रन्ड रिक्वेस्टले धेरैलाई हैरानी दिएको हुन्छ । बुवाआमाले छोराछोरीका नाम चिन्ने हुँदैनन् । फेसबुकमा भन्दा रमाईला नाम त अझै ट्विटरतिर भेटिन्छन् ।

प्राय : चर्चित ट्विटर प्रयोगकर्ताका असली नाम पत्ता लगाउन धेरैलाई हम्मे हम्मे पर्छ ।

नामले तेज बोकेको हुनुपर्छ । सरल हुनुपर्छ, जुन बोलाउँदा सहज होस् । बुवाआमाले राखिदिएका नाम त्यतिधेरै अलौकिक पनि नहुन् ताकि भविष्यमा ति नाम उच्चारण गर्न सन्तानलाई नै धक लागोस् ।

विजयी नामहरूले सन्तानलाई जर्बजस्ती विजयी बन भनेझैँ हुन सक्छ । नामसँग बुवा आमाले सन्तानप्रति अपेक्षा राखेका हुन्छन् । तर नाम धेरै एक्स्ट्रा पनि हुन हुँदैन । यसो हुँदा सन्तानलाई जर्बजस्ती अरूभन्दा फरक बन्नुपर्ने दबाब रहोस् ।

नाम सहज होस्, सरल बगोस्, केही सामान्य अर्थ बोकोस् । नामकै अर्थका लागि जर्बजस्ती प्रगती गर्नुपर्ने नहोस् ।

धेरैजनाको बीचमा पनि उच्चारण गर्न सकिने होस् । नाम बोझ नबनोस् ।

 

लेखकबाट थप

‘सरोगेट’ नेपाल आमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.