www.tandavnews.com
Fact ~ In search of truth

चिया खानु भो त !

>> सुमित्रा भट्टराई

जेहोस् एक कप चियाले हुनेवाली बुहारी पक्का गरिदिन्छ ।

कसैलाई भेट्नु छ ? चिया खान भेटौं नत ! कोही भेटिएका छन् ? चिया खाऔं नत । जाबो एक कप चिया त जसले जसलाई नि खुवाउँछ । एक कप चियाले जोडेका सम्बन्धहरू मापन गर्न नसक्ने भइदिन्छन् ।

Batas

बिहानै मोबाइल भाइब्रेट हुन्छ । म्यासेज आउँछ चिया खानु भो ?

बेलाबेला त यी म्यासेन्जर, इमो, ह्वाट्सएप, भाइबर जेजे छन्, चिया खाको सोध्नकै लागि बनाएका हुन् झैं लाग्ने ।

चिटिक्क परेको कपमा अरूले खिचेको चियाको रेडिमेड फोटो पठाएर सेन्टिमेन्ट बटुल्नेको त के कुरा गर्नु र खै ! खाएको छैन भनौं भने पकाएर ल्याइदिने होइनन् ।

खाएँ भनुँ भने खोई मलाई ? थप्लान् भन्ने पिर ।

जे होस् कसैसँग बोल्न शुरू गर्नु छ भने चियाबाटै सुरू हुन्छ ।

मलाई यहाँ चियाको हिस्ट्रीका कुरा गरेर मिस्ट्री बनाउनु त छैन । तर बेलाबेला गिलास वा कपमा भएको चिया रित्याइसकेपछि सोच आउँछ । यो चिया खाने चलन कसले बनायो ?

चियाको पानीमा चिनी, दूध, अदुवा, मरिच, सुकमेल दालचिनी कहिलेबाट जोडिन आए ? चिया छान्ने छान्नी नबन्दासम्म चियापत्ति केले छान्थे होला ? भोटको चिया बाहेक चियामा चिनी हालेमा मिठो हुन्छ भनेर पत्ता लाउने, चिया बिहान उठ्ने वित्तिकै खानु अपरिहार्य जस्तै छ भनेर पत्ता लाउने चै को होलान् ?

धन्न चिया छ र कहिलेकाहीँ सोचका लागि विषयवस्तु बनिदिएको छ ।

अब चियाको उपयोगिता र महिमाको कुरा गरौं । चिया नेपालीका लागि यति प्रसिद्ध छ कि एक व्यक्तिले खाना बनाउन चियाबाटै शुरू गर्छ । पहिला चियामा पोख्त भएमात्रै भान्साका अन्य परिकार पकाउनका लागि योग्य ठहरिन्छ ।

नत्र चियै पकाउन नजान्नेले अम्लेट बनाउन र चाउचाउ बनाउन के सक्ला र खै भन्दै तपाईंको सिपलाई परिवारका सदस्यले नै पत्याइदिँदैनन् । सबैभन्दा अनौठो लागेको कुरा त अझै पनि अधिकांश ठाउँमा कोही विवाहका लागि सम्बन्ध जोड्न आएकालाई पनि हुनेवाली बुहारीले चिया पकाएर स्वागत गर्नुपर्ने ।

मुटुमा ढ्यांग्रो बजाउँदै, चियाको कित्ली बोकेर लर्बराउँदै भविष्यको परिवारजनका सदस्यलाई चिया पु¥याउन आएकाको हालत हेर्नलायक हुन्छ । चिया दिँदादिँदै पोखियो भने अर्को आपत् ।

उसै त होसले ठाउँ छोडिसकेको हुन्छ । त्यसमाथि चिनी कम, पानी बढी भन्ने प्रतिक्रियाले मुटुको के गति बनाउँदो हो । जेहोस् एक कप चियाले हुनेवाली बुहारी पक्का गरिदिन्छ ।

चियाका नाम पनि थरिथरिका । सानो छँदा दूध चिया, कालो चिया, अदुवा चिया र कागती चिया आदिका बारेमा थाहा पाएका हामी अचेल चियाका थरिथरि नाम सुन्ने गर्छौं । पहिले नेपाली कागती चिया, अचेल लेमन टि भयो । दूध चिया मिल्क टि, अदुवा चिया जिञ्जर टि र कालो चिया ब्ल्याक टि । दूध चियालाई ह्वाइट टि भनिसक्या छैनौँ ।

खैर कसैले भन्नु हुन्छ भने पनि मेरो आपत्ति छैन ।

यतिमै कहाँ सकिन्छन् र चियाका नामहरू । अझ नाम भन्नु या उपनाम…बेड टि मर्निङ टि त छँदै थिए केही होटलहरूमा हाईटी समेत थपिएका छन् । एक होटलमा कार्यक्रम हुने भयो… होटल म्योजरले कडा मुस्कान दिँदै हाईटी खानका लागि दिउँसो चारबजे भनेर हाम्रो टोलीलाई निम्तो दिए । त्यसअघि मैले चैँ हाईटी भन्ने देश हो भनेर मात्रै जानेको थिएँ । उत्साहित हुँदै निमन्त्रित ठाउँ पुगियो ।

हाईटी भनेको कपमा चिया र प्लेटमा दुईवटा कुकिज हो रहेछ । हामी झण्डै सेन्टिफ्ल्याट ! त्यसपछि अचेल देश हाइटीको नाम पढे पनि मलाई त्यो कुकिजवाला हाईटीको नाम याद आउँछ । होटलको स्वागतवाला हाईटी ।

चियाको संसारमा एक अर्को नाम थपिएको छ ग्रिन टि । हेर्दा गुन्द्रुक झैँ देखिने यो टि ले पनि ईलामेली टि, दार्जिलिङे टि, मुना चिया, टोकला चियाहरूलाई चुनौती दिँदैछ । च्याट्ट एक पोका यो टिलाई भक्भकी उमालेको पानी राखेको सिसाको गिलासमा राख्नुभो भने पानी कै रंग हरियो, रातो बनाईदिने रहेछ । सुरूमा स्वाद न व्यादको लाग्ने यो चियामा चिनी किन्ने झमेला गर्नुपर्दैन ।

एक पोका वा एक चिम्टी गुन्द्रुक झारेर तातोपानीको कप वा गिलासलाई छोप्न मनलागे छोप्यो नत्र केहीबेर छोडेर सुरूप्प सुरूप्प पा¥यो । यस टि का प्रयोगकर्ता चैं शरीरमा मोटोपन भएका, मधुमेहले छोएका, स्लिम हुन मन गर्ने, उच्च रक्तचाप भएकाहरू नै धेरै छन् ।

अनि प्रायः यी लक्षणबाट ग्रस्त हुने नै कामकाजी तथा केही आरामदायी जीवनयापन गर्नेहरू नै हुन् । त्यसैले म ग्रिन टि लाई संभ्रान्त वा विशेष चिया भन्न रूचाउँछु ।

चियाको महिमा, आवश्यकता र उपयोगिता अतुलनीय छ । एक कप चियाले केही साइनोहरू युगौँलाई जोडिएका छन् । चिया भेट नभएका केही कोही अझैं अञ्जान छन् । चिया एक सम्मानित पेय पदार्थ जसलाई कुनै सितन चाहिँदैन ।

चियाको लागि आग्रह गर्दा कमैमात्र नाईनास्ती आउँछ । युगौंदेखिको चियासँग जोडिएको मानिसको साइनो अझैं युगौं चल्ने निश्चित छ । किनभने चिया भनेको चियानै हो यसलाई कफिले रिप्लेस गर्न सक्दैन ।

पहिले केमा पिउँथ्यौं खै, मैले जान्दादेखि स्टिलका गिलास, चिनियाँ कप चलिरहेका छन् । बजारमा अचेल कुल्लड चिया, मट्का चिया पनि थपिएका छन् । मिठो चियाले पल मिठो बनाइदिन्छ ।

चाहे आफै पकाएर खानुस्, चाहे अरूले पकाएको तर ठिक्क खानुस् ताकी चिया तपाईंलाई भइरहोस् । चियालाई तपाईं भइरहनुहोस् ।

जय चिया !

 

Gmail : [email protected]

Twitter : @farsumitra

 

लेखकबाट थप :

बलात्कार अंग प्रर्दशनको कारणले मात्रै हुन्छ ?

इम्याजिन भर्सेज रियालिटी

घरेलु हिंसा तथा सजायका लागि बनेको ऐन

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.