www.tandavnews.com
Fact ~ In search of truth

‘इलिगल ड्रग्स एडिक्सन’मा पोखरा

पाेखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज । 

धर्म, समुदाय जाती र वर्ग नहेर्ने लागुऔषधले आखिर भूगोल के हेथ्र्यो र ? चाहे त्यो विकासित देश होस् या विकासोउन्मुख देश किन नहोस, सबैको साझा समस्या बनेको छ लागुऔषध । जसको समस्याबाट हाम्रो देश नेपाल पनि दशकौं देखि अछुतो रहन सकेको छैन् ।

मुलुककै ठूलो महानगरपालिका पोखरा पनि लागु औषधको जालोमा जकडिदै गएको छ । लागुऔषध प्रभावित जिल्लाको रुपमा तेस्रो स्थानमा पर्छ पोखरा । लागुऔषध उत्पादन नहुने भएतापनि खपतदर भने अत्यधिक भएको पाइन्छ ।

Batas

नेपाल सरकार गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखा, काठमाण्डौंले प्रस्तुत गरेको तथ्यांकमा पहिलो स्थानमा काठमाण्डौं, दोस्रो सुनसरी र तेस्रो पोखरा रहेको जनाएको हो ।

प्रस्तुत रिपोर्ट अनुसार प्राकृतिक रुपमा फल्ने गाँजा बाहेक कास्कीमा अन्य लागु औषधको उत्पादन हुँदैन् । गाँजा, चरेश, अफिम जस्ता लागु औषध विभिन्न पहाडी जिल्लाहरु बाग्लुङ, पर्वत, म्याग्दी, मकवानपुर, धादिङबाट सहजै सुन्दर नगरी पोखरामा भित्रिने गरेको पाइन्छ ।

खैरो हिरोईन, नर्फिन, डाईजापाम, फेनारगन, लुपिजेसिक, ट्यावलेटजन्य लागु औषध भने दुई देशको खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न नाका हुँदै पोखरा आइपुग्छ ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कास्कीको तथ्यांक अनुसार पोखरामा मात्रै लागु औषध दुव्र्यसनीको संख्या ६ हजार ९ सय १७ छन् । जसमा दुव्र्यसनीमा फसेका महिलाको संख्या मात्रै ५ सय ३ छ । नेपालमा कुल दुव्र्यसनी संख्या ९१ हजार ५ सय ३४ पुगेको छ । नेपालको समग्र तथ्यांकलाई हेर्दा ७ प्रतिशत दुव्र्यसनी पोखरामा मात्रै देखिन्छ ।

गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाका अनुसार वार्षिक ११.३६ प्रतिशतका दरले दुव्र्यसनीको संख्यामा बृद्धि हुँदै गएको छ । यस हिसाबले आंकलन गर्दा अबको एक दशकमा पोखरामा लागु औषध दुव्र्यसनीको स्थिती विकराल हुन सक्ने सरकारी अध्ययनले स्पष्ट पारेको छ ।

दुव्र्यसनीमा विद्यार्थी

पोखरामा लागु औषधको जोखिम मौलाएकसँगै प्रत्यक्ष पहिलो निशानामा स्कूले विद्यार्थी नै यसको शिकार भएका छन् । लागु औषध नियन्त्रण ब्यूरोले जिल्लामा लागु औषध नियन्त्रण सम्बन्धी कार्ययोजना ०७३ कार्यान्वयन गरी ६ महिनाको अवधिमा विद्यार्थी, अविभावक र सामाजिक संघसंस्थाको सहकार्य अध्ययन गरेको थियो ।

पोखरामा सञ्चालिक ६११ सरकारी तथा गैरसरकारी शिक्षण संस्थाका १ लाख ४३ हजार २१ जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा ३६ हजार विद्यार्थी लागु औषधको दुव्र्यसनीमा फसेको पाइएको छ । जसमा अधिकांश कक्षा ८ देखि कक्षा १२ सम्मका स्कूले विद्यार्थी प्रभावित छन् ।

कार्ययोजनाको लक्ष्य अनुसार अनुमानित २१ हजारको हाराहारीमा प्रभावित विद्यार्थी रहने अनुमान फेल खाएको छ । लक्ष्य भन्दा झण्डैं दोब्बर संख्यामा लागु औषधमा विद्यार्थीको सहभागिताले सो सम्बन्धी शिक्षाको अभाव रहेको समेत पुष्टि गरेको छ ।

लागुऔषध प्रभावित क्षेत्रमा कडा निगरानी

पछिल्लो समययता पोखरामा लागु औषध प्रयोगकर्ताको संख्या बढेसँगै समग्र जिल्लाको सुरक्षा चुनौती पनि स्वतः बढ्दै गएको अनूभुति हुने गरेको छ । लागु औषध नियन्त्रणका लागि क्रियाशिल लागु औषध नियन्त्रण ब्यूरो शाखा कास्कीले सशक्त रुपमा क्षेत्र बाँडफाँड गरि सुरक्षा संवेदनशीलतालाई ख्याल गरेको छ ।

ब्यूरोले लागू औषधको प्रभाव क्षेत्रगत रुपमा वडा प्रहरी कार्यालय बगर कार्यक्षेत्र पर्ने स्थानहरु सराङकोट, लामागाउँ, सिमपानी, बगर, लामाचौर, महेन्द्र गुफा, दीप, हेम्जा, बाग्लुङ बसपार्क, नदीपुरलाई खैरो हिरोइन, गाँजा, चरेश, नर्फिन, डाईजापाम, फेनारागन, लुपिजेसिक, ट्याब्लेटजन्य लागु पदार्थ प्रभावित क्षेत्रको रुपमा निरिक्षण गरेको छ ।

श्री सिद्धबराह माध्यमिक विद्यालय, पोखरा–२३ स्थित माझथुममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमबहादुर रानाले लागु औषध सम्बन्धी जनचेतना अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै ।

वडा प्रहरी कार्यालय वैदाम अन्तर्गत लागु औषध प्रभाव क्षेत्र अनुसार छोरेपाटन, लेकसाइड, खहरे, पामे, जरेवर, बसपार्क एरिया, मालेपाटन, पृथ्वीचोक, शान्तिवन, घारिपाटन, नयाँबजार लाई विशेष प्रभाव क्षेत्रको रुपमा किटान गरी निगरानी बढाएको छ ।

वडा प्रहरी कार्यालय रामबजार अन्तर्गत उल्लिखित अन्य क्षेत्रमा जस्तै लागु औषध प्रयोगकर्ता प्रभाव क्षेत्रमा अमरसिंह, हस्पिटल क्षेत्र, फुलबारी, पेन्सनक्याम्प, टुटुङ्गा, नयाँगाउँ, सिताराम हाउजिङ, चाउँथे, रानीपौवा क्षेत्रलाई प्रभाव क्षेत्रको रुपमा रेकर्ड राखी निगरानी बढाएको छ ।

उल्लिखित स्थान बाहेक राजमार्ग क्षेत्रमा समेत बाहिरी जिल्लाबाट पोखरा महानगर भित्रिदै गरेका सवारीमा लुकाएर ल्याएको अवस्थामा लागु औषधहरु बरामद गर्न लागु औषध नियन्त्रण ब्यूरो सफल भएको छ । लागू औषध ओसार पसारमा केही हदसम्म नियन्त्रण गर्दागर्दै पनि पोखरा पर्यटकीय सहर भएकाले विदेशी नागरिकको आगमनसँगै लागु औषध प्रयोगकर्ता संख्यामा बृद्धि भने भइरहेको पाइन्छ ।

परिमार्जित हुँदै लागुऔषध ऐन

नेपालमा प्राकृतिक औषधीको रुपमा गाँजा तथा अफिम खेतिहरु गर्ने गरिए पनि विस्तारै विलासी आनन्दको लागि यस्ता पदार्थहरुको प्रयोग ज्यादात्तर रुपमा बढेको पाइन्छ ।

सामाजिक परम्परागत रुपमा लागु पदार्थहरुको प्रयोग भए पनि यसलाई अनियन्त्रित हुनबाट जोगाउन सन् १९६१ मा व्यापक रुपमा संयुक्त राष्ट्रसंघले ‘सिंगल कन्भेन्शन अन न्यारोटिक ड्रग्स १९६१ ल्याइ विश्वभर लागु औषध नियन्त्रण प्रयास गरेको पाइन्छ । नेपालमा वि.सं. २०३३ सालमा लाग औषध नियन्त्रण ऐन ल्याइएको हो ।

हाल यो ऐन प्रतिस्थापनको क्रममा रहेको गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेले बताए ।

‘विश्वव्यापी समस्याको रुपमा रहेको लागु औषधले नेपालमा पनि केही दशकमै विकराल स्थिती निम्त्याउने अवस्था आउन सक्छ,’ उपसचिव लामिछाने भने, ‘मुलुकमा भइरहेको लागु औषध नियन्त्रण सम्बन्धी मौजुदा कानुनमा केही परिमार्जन गरी लागु औषध सामाजिक अपराधको रुपमा विस्तार गर्न सरकार लागिरहेको छ ।’

नेपालमा लागु औषध प्रयोगकर्ताको संख्यामा बृद्धिदर देखि सँगै नियन्त्रण प्रयास मात्रै प्रभावकारी नभएको उपसचिव लामिछाने बताउँछन् । यसकारण सरोकारवालासँगको सहकार्यमा लागु औषध नियन्त्रण जागरण अभियानकै रुपमा स्थापित गर्ने गरी नयाँ ऐनको व्यवस्था गरिने उनको भनाई छ ।

सरकारले विद्यमान नीति ऐन कानुन निर्देशन परिमार्जन गरी जनस्तरबाट लागु औषधको रोकथामका लागि प्रयास गर्ने तयारी गरेको छ ।

जसका लागि व्यापक जन सहभागितामा सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने, लागु औषध उत्पादन तथा निर्माण श्रोतको पहिचान गरी निस्तेज पार्ने ।

जोखिम न्यूनिकरणका लागि अनुगमन निरीक्षण चेकजाँच नियन्त्रण र कानुनी कारवाही कडाइका साथ लागु गर्ने रहेको छ ।

ऐन पारित भएसँगै सहयोग र समन्वयकारी भूमिका निर्वाह गरिरहेका संघसंस्थासँगको सहकार्यमा जनस्तरमा कार्यक्रम लागु गरिने गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाले जनाएको छ ।

लागु औषध प्रयोगकर्तालाई समाजमा पुनः स्थापना गराउने सरकारी नीति छ

प्रेमलाल लामिछाने
उपसचिव, गृहमन्त्रालय
लागु औषध नियन्त्रण शाखा

लागु औषध प्रयोगकर्तालाई थप जोमिखमा पर्न नदिई उनीहरुलाई आवश्यक उपचार सेवा प्रदान गरी समाजमा पुनः स्थापना गराउने सरकारी नीति छ ।

यसको लागि लागु औषध प्रयोगकर्तालाई दुव्र्यसनीको रुपमा हेर्ने विद्यमान सामाजिक सोच र प्रवृत्तिमा आमूल परिवर्तन ल्याउन जरुरी छ ।

लागु औषध प्रयोगकर्तामाथि मानवीय व्यवहार र उनीहरुको मानव अधिकारको सम्मान पनि त्यत्तिकै आवश्यक छ । यसको साथै उनीहरुको उपचारलाई सार्वजनिक सरोकारको रुपमा लिनुपर्ने खाँचो पनि उत्तिकै देखिएको छ ।

गुणस्तरीय र भरपर्दो उपचार तथा पुनःस्थापना सेवामा लागु औषध प्रयोगकर्ताहरुको पहुँच बढाउन पनि उत्तिकै जरुरी छ । यसको लागि लागु औषध प्रयोगकर्तालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न छुट्टै संयन्त्र र सञ्चालन सेवाको खाँचो क्रमशः बढ्दै गएको छ ।

लागु औषध दव्र्यसन रहित स्वस्थ र समन्नत समाजको प्राप्तीको लागि लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागु भैसकेको छ । लागु पदार्थको अवैधक ओसार–पसार, कारोवार एवं आपूर्तिमा कडाईका साथ नियन्त्रण गरी यससँग सम्बन्धीत अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमूखी कार्यक्रमहरु सञ्चालन गर्न पनि उतिकै जरुरी छ ।

यसैगरी लागु पदार्थको अवैध खेती एवं ओसार–पसारलाई निरुत्साहित गर्न विभिन्न दवावमूलक कार्यक्रम साथै सो सँग सम्बन्धीत सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु आवश्यक देखिन्छ ।

र, गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण शाखाले ‘लागु औषध दुव्र्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्ती’ का लागि आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा बहुआयामिक कार्यक्रम सञ्चालन गरी लागु औषध दुव्र्यसन रहित समाजको सिर्जना गर्न रणनीति तयार गरी काम कारवाही अगाडि बढाईरहेको छ ।

 

एक जटिल सामाजिक समस्या

रवीन्द्रमान गुरुङ, प्रहरी निरीक्षक
प्रमुख, लागू औषध नियन्त्रण ब्यूरो शाखा

विशेषगरी पछिल्लो समयमा आएर लागु औषध प्रयोगको समस्या छ एकदमै विकराल देखिन्छ । यो एक जटिल सामाजिक समस्याको रुपमा देखा परेको छ ।

समस्यालाई समयमा नै नसोच्ने हो भने, खुलेर बहस नगर्ने हो भने लागु औषधलाई आफ्नै समस्या नमान्ने हो भने, वर्षेनी बढ्दो रुपमा प्रयोगदर बढ्ने सम्भावना देखिन्छ । गएको ०६९ सालकै तथ्यांक हेर्दा पनि ६ हजार ९ सय १७ जना प्रयोगकर्ताहरु कास्की जिल्लामा छन् भनेर सार्वजनिक गरेका थियौं ।

त्यस समय देखि हालसम्म ०७५ को अवधि सम्ममा लगभग त्यो संख्या १० हजारको हाराहारीमा पुगेको अनुमान छ । यसरी लागु औषध प्रयोगकर्ताको संख्या बृद्धि हुँदै जाने हो भने त एक दुई दशक पछि यसको समस्या प्रत्येक घर परिवार टोल समाजले भोग्नू पर्ने देखिन सक्छ ।

लागु औषध समस्यालाई समयमै सबै सामाजिक पद्दतीबाट न्यूनिकरणका अभ्यास थालनी भएन भने, देशका कर्णधार भनिएका युवाहरुबाट केही आशा रहँदैन् । तसर्थ, प्रहरी मात्रै यसको न्यूनिकरणको नियमन निकाय होइन भन्ने भावनाको विकास गरी सबैले हातेमालो गरौं ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पनि लागु औषध विरुद्धको महाअभियान अन्तर्गत प्रत्येक वडाहरुमा समिति गठन गरेको छ । प्रत्येक घरघरमा लागु औषध दूव्र्यसनीको बारेमा सबैले बुझ्नु जरुरी छ । विद्यालय स्तरबाट नै विद्यार्थीलाई पनि यस बारेमा सचेत गराउन जरुरी छ ।

नागरिक समाज, टोल विकास संस्थाहरु, सामुदायिक प्रहरी सेवा केन्द्रहरु, अन्य सामाजिक संघसंस्था जसले लागु औषध नियन्त्रणका लागि भूमिका निर्वाह गरिरहनु भएको छ । सबैको सहकार्यमा यसलाई सामाजिक समस्याको रुपमा लिएर निराकरण तर्फ लम्कियौं भने अवश्य पनि नियन्त्रण गर्न सकिन्छ ।

लागु औषधको समस्या नेपालको मात्र नभई विश्वको समस्याको रुपमा देखिएको छ । करोडौं मानिसहरु यो समस्यामा फसिसकेका छन् । समस्या देखिए पछि नियन्त्रण निराकरण गर्नु राज्यको पनि दायित्व हो । तर यति भन्दैमा व्यक्ति स्वयम्ले आचरण सुधार्न सक्दैन् भने त समस्या पुनः दोहोरिएर आउन सक्छ ।

हाम्रो समाजमा अझ पनि एक किसिमको संकुचन भावनाले गाँजिरहेको छ । फलानो लागु औषधमा फस्यो रे, भन्छन्, मेरो त परिवारमा कोही त्यस्तो छैनन् भन्छन् । तर समस्या त जहाँ कहीँ पनि देखा पर्न सक्छ । यसरी पन्छिएर अरुलाई मात्र दोषि देखेर भएन् । प्रत्येक नागरिक सचेत हुनु जरुरी छ की लागु औषध मेरो पनि व्यक्तिगत समस्या हो ।

कतिपय सन्दर्भमा लागु औषधमा फसेको व्यक्ति हामीले पक्राउ गर्छौ । उसलाई निश्चित समयको लागि कारवाही समय तोकिएको हुन्छ । पुर्नस्थापना केन्द्रमा उपचारको लागि लैजान्छौं । जब ऊ व्यक्ति सजाय कटाएर घर फर्कन्छ ।

उसलाई समाजले हेर्ने दृष्टिकोणमा भिन्नता, परिवारले गर्ने पक्षपोषणमा भिन्नताका कारण पनि पुनः सोही चक्रमा पर्ने पनि देखिएको छ । तसर्थ, अब बद्लिनु पर्छ घरपरिवार, समाजले लागु औषधमा फसेकाहरुलाई हेर्ने नजर थोरै फराकिलो बनाईदिएमा पनि पुनः दोहोरिने संख्या न्यून हुन जान्छ ।

मानिस समूहमा घुलमिल हुन मन पराउने प्राणी भएकाले पनि समाजले स्वीकार्नु पर्दछ । वातावरण तयार पार्न हामी सबैको दायित्व पनि हो । लागु औषध समस्यालाई सामाजिक चेतनाको रुपमा विकास गरौं ।

कोही पनि व्यक्ति लागू औषधमा फस्न नदिन सबै पक्ष जिम्मेवार हुन जरुरी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.