www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२६ कालिका चोक थुमाको सडकमा गुणस्तरहीन पिच

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–२६ कालिका चोक थुमाको सडक गुणस्तरहीन पिच गरेको पाइएको छ ।

चरम लापरवाही गरेर पिच गरिएको एक स्थानीयले बताए । ‘१३ सय मिटर पिच गर्नु पर्ने बाटो अहिले करिब ७ सय मिटर पिच गरेको तर एकदम गुणस्तरहीन छ,’ उनले भने, ‘यस्तो हुँदा पनि वडा अध्यक्षले केही प्रतिक्रिया दिएका छैनन् ।’

Batas

पटक पटक वडा अध्यक्षलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

सडक पनि मापदण्ड पालना गरेर नबनाएको, नाली तयार नगरिएको, पातलो पिच जुन हातले नै सजिलै उप्काउन मिल्छ भनी वडा कार्यालयमा गुनासो गर्दा समेत कुनै काम कारवाही नभएको स्थानीयले बताएका छन् ।

वडा अध्यक्ष नारायण प्रसाद बरालले पिच सडकको मापदण्ड अनुसार बनाएको दाबि गरे । ‘पिच भने अनुसारको निर्माण भएको छ,’ उनले भने, ‘कहाँ हाईवेको जस्तो हुन्छ त एउटा वडाको सडकमा पिच ’ केही मान्छेले भनेको भरमा नराम्रो भन्न मिल्दैन् ।

अध्यक्ष बरालले यसो भनिरहँदा पिच भएको स्थलकै भिडियो ताण्डव न्यूजले प्राप्त गरेको छ । वडा अध्यक्षले ठेकेदारकै पक्षमा बोलेपछि कसै आर्थिक चलखेल भएको हो कि भनेर स्थानीयले शंका गरेका छन् । पिच गर्नका लागि वडाबाट २४ लाख बजेट परेको थियो ।

सामान्यतया बाटो पिच गरिसकेपछि जब सेट भईसक्छ तब हातले उप्काउन नमिल्ने हुन्छ । यसरी हातले उप्काउँदा पिच उप्किन्छ भने त्यो गुणस्तरहीन मानिने पोखरा लेखनाथ महानगरपालिकाका ईन्जिनियर भुवनेश्वर तिमिल्सिनाले बताए ।

फिल्डमा खटिएका महानगरपालिकाका जुनियर ईन्जिनियर प्रकाश वाग्लेले महानगरबाट हाम्रो प्राविधिक टोलि पटक पटक निरिक्षणको लागि स्थलमा गएको बताए ।

सडक उपभोक्ता समिति र महानगरको सयुक्त लगानीमा बनाईएकोले प्राविधिक निर्देशन गरेबमोजिमको सडक नबनेको वाग्लेले बताए । ‘मैले पटक पटक समिति र वडाध्यक्षलाई यस बारेमा जानकारी गराएको छु,’ उनले भने, ‘पिच हामीले मापदण्ड तोके बमोजिमको बनेको छैन् ।’

थुमाको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पितृप्रसाद गौतमले केही त्रुटि भएको स्विकार गरे । ‘ठेकेदारलाई सडकको पिच पुनः गर्नुपर्छ भनेका छौं,’ उनले भने, ‘ठेकेदारलाई राम्रोसँग काम गर्न पटक पटक भनिरहेका छौं ।’

ताण्डव न्यूज गौतमसँग ठेकेदारको सम्पर्क नम्बर माग्दा वडाध्यक्ष नारायण प्रसाद बराललाई जानकारी भएको र आफूसँग कुनै सम्पर्कमा नभएको बताए ।

स्रोतका अनुसार वडाध्यक्ष बरालको सिफारिसमा उक्त सडकको ठेक्का ठेकेदार कृष्ण पुनलाई दिइएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.