www.tandavnews.com
Fact ~ In search of truth

जे छ आखिर प्रेममै त छ…

प्रत्येक दिन प्रेम दिवस हो, एउटा सत्य जानिराख,
प्रेमभन्दा मूल्यवान् केही अरु हुँदैन ठानिराख,
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए,
प्रेमको इतिहास चोखो लेखिनुपर्छ ठानीराख ।

साहित्यकार सरुभक्तले प्रेम दिवस सम्बन्धी सिर्जना गरेको यि हरफले भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस केबल एक दिनको रौनक नभएको तर हरेक दिनको उत्सव भएको प्रस्ट्याउँछ । प्रेम दिवसको आगमनसँगै अहिले देशका विभिन्न शहर झैं पोखरा पनि प्रेमिल भएको छ । प्रेम जोडी प्रेम गरिरहँदा समाज भने प्रेम जस्तो पवित्र शब्दसँग डराउँछ ।

चिन्दै नचिनेको व्यक्तिसँग मागी विवाह गरेर ओछ्यानबाट शुरु भएको कथित प्रेमलाई हाम्रो समाजले असल प्रेमको ट्याग पहिराइदिन्छ । तर जब खुलमखुला कसैले प्रेम गर्छ र छानेर विवाह गर्न चाहन्छ भने यहि समाजले प्रणय दिवसमाथि प्रश्न त गर्छ नै प्रेमिल जोडीलाई अश्लिलताको ट्याग लगाइदिन्छ ।

Batas

समाजका हरेक व्यक्ति प्रेमका भोका हुन्छन् । समाजमा फोहरी शब्द प्रयोग गर्नेहरु माथि होइन अंगालो हालेर र हात समाएर हिंड्नेहरुमाथि निगरानी गरिन्छ । प्रेमबाट प्रेमिल जोडीका परिवार मात्र होइन सरकार पनि डराउँछ ।

प्रेमका क्रान्तिकारी वाक्यहरु फलाक्दै प्रेम सम्बन्ध गाँसेकाहरु अन्ततः बिना प्रेमको मागी विवाह गरेर प्रेमबाट स्खलित भएका उदाहरणहरु यहि समाजमा पाइन्छ । हिजोसम्म आफ्नी प्रेमी वा आफ्नो प्रेमिकासँग डेटिङ गरेका प्रेमिल पात्रहरु प्रेमलाई श्रद्धाञ्जली दिएर चिन्दै नचिनेको व्यक्तिसँग विवाह गरि गुमनाम भएका छन् ।

आखिर उनीहरु पनि कुनै दिन प्रेमका भोका थिए तर प्रेममाथि ढल्दै गरेको जोवन र सुरक्षित भविष्य हावी भएर उनीहरु चिप्लिए । प्राकृतिक रुपमा हुनुपर्ने प्रेम आजभोलि भौतिक हुँदै गएको छ । भेटेर प्रेम साटासाट गरेर होइन यन्त्रबाट जोडिएर भौतिक दूरीलाई घटाइएको छ । दिन प्रति दिन हुर्कदै झांगिनु पर्ने प्रेम आजभोलि क्षणिक वर्षा झैं रित्तिन थालेका छन् ।

अनलाइनबाट शुरु भएका प्रेमले अनलाइनमा सहादात पाएका छन् । प्रेम बिना बाँचेका मानिसहरु बाँचेका त हुन्छन् तर आत्माको अनुभूति भने हुँदैन । प्रेमिल मन नभएका मानिसहरु अशान्त हुन्छन् ।

प्रेममा गुलाब

प्रेम दिवस होस् या अन्य अरु कुनै दिन प्रेम अभिव्यक्त गर्ने माध्यका रुपमा फूललाई लिइन्छ । हुन त विभिन्न अवसरमा विभिन्न प्रकारको फूलका गुच्छाहरु तथ बुके उपहारमा दिइन्छ तर पनि गुलाब फूलको भने विशेष महत्व रहेको छ ।

प्रेमको प्रतिकको रुपमा रहेको गुलाफको फूलको प्रत्येक पत्रहरुले, पत्रमाथिको शितले र बासनाले स्वतः प्रेम अभिव्यक्त गर्दछ । प्रेम र गुलाफ कहिल्यै सुक्दैन । पुरानो प्रेमको याद आए झैं सुकेको गुलाबबाट पनि सधैं ताजा गुलाबको झैं सुगन्ध आउँछ । अरु फूलका पत्रहरु कुहिएर गन्हाउन्छन् तर गुलाब सुके पनि यसले सुगन्ध दिन्छ । प्रेम र गुलाब दुबै मरेर पनि सधैं अमर र अजर रहन्छन् लैला मज्नु र रोमियो जुलियट झैं ।

रेखाको प्रेम

भारतीय अभिनेत्री रेखाको प्रेम अमिताभ बच्चनसँग पनि भयो । यिनको विवाह भने मुकेश अगरवालसँग भएको थियो । मुकेशको आत्महत्या पछि यिनले पूर्व प्रेमी अमिताभसँग एकतर्फी प्रेम गरि रहिन् जबकि अमिताभले जयासँग विवाह गरिसकेका थिए ।

एक टिभी अन्तरवार्तामा रेखाले अमिताभ नाम किटान नगरि भनेकी छिन् “कुनै पुरुष विवाहित छ भनेर मलाई फरक पर्दैन, गुलाब सधैं गुलाब नै हुन्छ त्यसको काँडाले घोचे पनि ।” आजभोलि पनि अमिताभले कुनै अवार्ड पाउन गइरहेका छन् भने पत्रकारहरुको ध्यान रेखा तर्फ हुन्छ र उनको अनुहारमा क्यामरा फोकस गर्छन् ।

शुरुमै रेखा उठ्छिन् र अमिताभले अवार्ड पाउँदा उनी जया भन्दा पनि हँसिले देखिन्छिन् । रेखाले अमिताभलाई गरेको यो पनि एक प्रकारको गहिरो प्रेम हो जसलाई कसैले रोक्न सक्दैन । रेखाले अमिताभलाई दर्शाउने प्रेमलाई सरुभक्तको यो मुक्तकले पनि उजागर गर्छ ।

प्रेम पवित्र पागलपन हो, म सद्देहरुलाई भन्दै हिंड्छु,
तिनका नजरमा शायद कसिंगर जस्तो बन्दै हिंड्छु,
समय साक्षी छ, प्रेमको नाममा बदनामी कति हुन्छन्,
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिंड्छु ।

त्यो पहिलो प्रेमः माथि भनिए झैं हाम्रो समाजमा अभिनेत्री रेखाले पूर्व प्रेमी वा प्रेमीकालाई प्रेम गर्ने दुस्साहस कसैले नगर्लान् तर पहिलो प्रेमको छाप भने कसैले पनि मेट्न सक्दैन । विवाह गरिसके पछि कुनै पनि व्यक्तिले दोस्रो, तेस्रो लगायत भूतपूर्वहरुलाई बिर्सिन सक्ला र चाहेर पनि पहिलो प्रेम भने भुल्न सक्दैन ।

मायामै अडेको यस संसारमा पहिलो प्रेम, पहिलो प्रेम पत्र, पहिलो चुम्बन यो लेख पढ्दा आखिर याद आयो कि आए न त ? त्यो प्रेमको दुःखद वन सुखद् अन्त्य भए पनि अहिले सम्झिदा एक प्रकारको रोमाञ्चकता र प्रेमिल यादहरुले अतितलाई ताजा बनायो कि बनाए न त ? रातीसम्म मोबाइलमा गरेका कुराकानी, मेसेन्जरका सन्देशहरु, पहिलो प्रेमको पहिलो उपहार, भेट हुनासाथ जुधेका दुई जोडी नयनका गहिरो हेराइले पनि हृदय पक्कै पग्लियो होला ।

कसैसँग झुक्केर शरिर छोइदाको अनभूति र त्यहि पहिले प्रेमसँग जानेर छोइदाँको छुवाई पक्कै पनि त्यहि थिएन होला । अहिले जोसँग प्रेम छ उसैलाई छोएर पहिलेको छुवाइलाई कल्पनामा जाँदा कुन छुवाईमा आखिर माधुर्य थियो त ? त्यो प्रेमि वा प्रेमिकाको आवाज अहिले नसुने पनि मनमा आखिर गुिञ्जछ नै । किन धेरै जनासँग प्रेम भए पनि, विवाहित भए पनि हामीहरु किन अभिनेत्री रेखाले झैं खुलेर पहिलो प्रेमको बारे भन्न सक्दैनौं “गुलाब सधै गुलाब नै हुन्छ त्यसको काँडाले घोंचे पनि ।”

झन् प्रेम गरिसकेका व्यक्तिल यदि मागी विवाह गरे र कथमकदाचित वैवाहिक सम्बन्धमा प्रेम अभाव भयो भने त्यहि पहिलो प्रेमलाई नै सम्झिदैनन् र ? यदि यौनले मात्र विवाहित जोडीहरुलाई नजिक राख्थ्यो भने किन विवाहितहरु पनि विवाह इतरको प्रेम सम्बन्ध राखेर परि आएमा दोस्रो विवाह गर्छन् ? साहित्यकार तथा रानी ऐश्वर्य शाह उर्फ चाँदनी शाहले लेखेको गीती हरफले पनि पहिलो प्रेमको महत्व दर्शाउँछ ।

कहाँ हुन्छ माया सस्तो जहिंतहिं भेटिने ?
कहाँ हुन्छ प्रित त्यस्तो जहिंतहिं साटिने ?
तिम्रो माया भेट्दा कति भयो खुशी नसोध ।
तिमीले प्रित साट्दा कति भयो गर्व नसोध ।
कहाँ हुन्छ माया सस्तो ?

प्रेममा अंकुश र उदारता

प्रेमबाट प्रेमिल जोडीका परिवार मात्र होइन सरकार पनि डराउँछ । पाकिस्तान सरकारले सन् २०१८ देखि आफ्ना नागरिकलाई भ्यालेन्टाइन डे मनाउ प्रतिबन्ध गर्दै सबै मिडियाहरुलाई कुनै पनि देशमा मनाइएको प्रेम दिवस सम्बन्धि समाचार सम्प्रेषण तथा विचार अभिव्यक्त नगर्न आदेश नै दियो ।

विश्वभरि प्रेमिल जोडीहरुले मनाउने पर्वलाई पाकिस्तानले प्रतिबन्ध गरेपछि यो वर्षदेखि त्यहाको कृषि विश्व विद्यालयले सिस्टर्स डे अर्थात बहिनी दिवसको रुपमा मनाउने भएको छ । दुनियाँभर भ्यालेन्टाइन डे मनाइरहँदा पाकिस्तानको उक्त विश्व विद्यालयका युवतीहरुलाइ बहिनी मानेर गलबन्दी वा सल मात्र दिन पाइनेछ तर गुलाब भने होइन । धार्मिक कट्टरता रहेको त्यहाँ बेलाबेलामा जोडीहरु पिटिने गरेका छन् ।

विभिन्न कारणले चर्चामा आउने नेकपाका नेता केशव स्थापितले एकताका राजधानीमा प्रेमिल ठाउँ नभएकोले लभ पार्क आवश्यकता रहेको बताउँदै लर्भ पार्क बनाउने घोषणा गरेका थिए । धेरैले उनको लभ पार्कको गुरु योजनालाई मजाकमा उडाएका थिए ।

प्रदेश ३ को पूर्वाधार मन्त्री भएपछि उनले लभ पार्क बनाएरै छोड्ने बताएका थिए तर उनी राजीनामा दिन बाध्य भए । वास्तवमा उनले भने झैं जनघनत्व भएको ठाउँमा एकान्तकुना छैन ।

हरियाली र शान्त ठाउँले जोडीलाई प्रेमिल मात्र होइन सिर्जनात्मक पनि बनाउँछ । लभ पार्क नभए पनि काठमाडौं गार्डेन अफ् ड्रिम्स तथा रत्नपार्कलाई केशव स्थापितको स्वप्नशिल लभ पार्कलाई प्रतिकात्मक रुपमा युगल जोडीले प्रयोग गरेको देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.