www.tandavnews.com
Fact ~ In search of truth

अदृश्य अंपागता, समान व्यवहारको आवश्यकता !

– दुर्गा रानामगर

पोखराको एक विद्यालयमा बौद्धिक अपांगता भएकी २२ वर्षिय छात्रा तीन वर्षदेखि लगातार एउटै कक्षामा अध्ययरत छिन् । उनी लेखेको कुरा सार्न सक्षम छिन् तर आफ्नो स्वविवेक प्रयोग गरेर परीक्षामा उत्तर लेख्न सक्दिनन् । उनमा डाउन सिन्ड्रोम छ । डाउन सिन्ड्रोम बौद्धिक अपांगताका विभिन्न कारणहरु मध्यकोे एक हो ।

उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास नहुनु बौद्धिक अपांगता हो । झट्ट हेर्दा सामान्य नै देखिएता पनि उनीहरुले आफ्नो उमेर र वातावरणअनुसार गर्ने क्रियाकलापहरुमा भने समस्या देखिन्छ । बौद्धिक अपंगता भएको व्यक्ति शारीरिक र मानसिक दुवै रुपमा कमजोर हुने गर्दछन् । आफ्नो विवेकको प्रयोग गर्न नसक्नु नै उनीहरुको मुख्य कमजोरी हो ।

सरकारले अपांगतालाई गम्भीरताका आधारमा ४ भागमा वर्गीकरण गरेको छ । जसमा सामान्यलाई सेतो, मध्यमलाई पहेँलो, अति अशक्तलाई निलो र पूर्ण अशक्तलाई रातो कार्डको रुपमा अपंगताको परिचयपत्र दिने व्यवस्था रहेको छ । जसअनुसार नै सामाजिक सुरक्षा भत्ता तथा सुविधाहरु प्रदान गर्ने गरिएको छ । रातो र निलोका लागि मासिक रु.२ हजार र रु.६ सय भत्ता उपलब्ध गराईएको छ भने अन्यका लागि भत्ता नभएतापनि सरकारी सुविधाहरु जस्तै सार्वजनिक साधनमा छुट, सिट आरक्षण आदि दिने गरिन्छ ।

बौद्धिक अपांगता भएकाहरुका लागि सामान्य अन्तरगतको परिचयपत्र अर्थात् सेतो कार्ड प्रदान गरिदै आएको छ । गम्भीरताका आधारमा हेर्ने हो भने सामान्यको वर्गीकरणमा हुनेहरु हिडडुल गर्ने, रोजगार गर्न सक्षम, स्वविवेकको प्रयोग गर्न सक्ने हुन्छन् तर त्यहि वर्गीकरणमा परेको बौद्धिक अपंगता भएका व्यक्तिहरुमा भने यो सबै सीमा विफल हुन्छ । उनीहरु सामान्य रुपमा हिडँडुल गर्न त सक्छन् तर स्वविवेकले रोजगार गर्न सक्षम भने हुदैनन् ।

देख्दा सामान्य भएकै कारण सामान्यमा वर्गिकृत गरिएको छ जसले गर्दा उनीहरु अपाङ्गताको भत्ता पाउने सुविधाबाट वन्चित छन्, जुन अन्यायपूर्ण रहेको बताउछन् बौद्धिक अपाङ्गताका अभिभावक संघ, कास्कीका अध्यक्ष रामनारायण श्रेष्ठ । उनी भन्छन्, ‘बौद्धिक अपाङ्गता, गाडीको इन्जिन बिग्रिए बराबर हो, गाडीको टायरहरु बिग्रिएजस्तो होइन, गाडी चल्नै सक्दैन, धकेलेर मात्र गुड्न सक्छ, उनीहरुले आफ्नो स्वविवेकको प्रयोग गर्न सक्दैन र सदा अरुमा निर्भर रहनुपर्छ । यस्तोमा सरकारबाट विशेष सहयोगकोे आवश्यकता उनीहरुलाई पनि छ ।’

मनमाया नेपाली (नाम परिवर्तन)लाई आफ्नो छोरालाई डाउन सिन्ड्रोम छ भन्ने कुरा बच्चा २ वर्षको भएपछि मात्र थाहा भयो । अरु सामान्य बच्चाभन्दा उसले गर्ने क्रियाकलाप र उसमा आएको शारीरिक विकासक्रम फरक थियो । मनमाया र उनको श्रीमन दुबै ज्याला मजदुरी गर्दछन् । पहिलो सन्तान स्कुल जान्छ भने अर्कोलाई दिनभर हेर्नकै लागि एकजना कुरुवा बस्नुपर्दछ । जसले गर्दा उनीहरुलाई दैनिकि गुजारा गर्न गाह््रो हुदै आएको छ । ‘दिनभर काम गर्न जानु कि छोरा हेरेर बस्नु’ उनी भन्छिन्, ‘कतैबाट केही सहयोग पनि छैन ।’

मनमाया जस्तै अन्य धेरै अभिभावकको समस्या उस्तै किसिमको छ । एकजना कुरुवा बसिराख्नुपर्ने भएका कारणले गर्दा बौद्धिक अपाङ्गता भएकाहरुलाई कोठामा थुनेर राख्ने, डोरीले एक ठाउँमा बाधेँर राख्ने किसिमको चलन छ । अभिभावकले बाध्यताकै कारण सकेसम्म बौद्धिक अपाङ्गता भएका वच्चालाई आफूबाट टाढा राख्न खोज्ने चलन पनि रहेको बताउनुहुन्छ राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका कार्यक्रम अधिकृत दिनेश अधिकारी ।

उनले धेरै अभिभावकहरुले त्यसलाई सामाजिक इज्जतको रुपमा लिने गरेको बताए । निरन्तर रुपमा त्यस्तो सेवा सुविधा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले पाउनुका साथै उचित निर्देशन र रेखदेख भयो भने उनीहरु पनि रोजगारका लागि सक्षम हुन सक्ने उनले बताए । बौद्धिक अपाङ्गता भएकाहरुका लागि फिजियो थेरापिस्ट र अकुपेशनल थेरापिस्टको नेपालमा धेरै आवश्यकता रहेकोमा पनि उनले जोड दिए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसख्यामध्ये १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । अपाङ्गतालाई विभिन्न १० प्रकारले वर्गिकरण गरिएको छ । तीमध्ये बौद्धिक अपाङ्गता भएकाहरु १४,८८८ अर्थात् २.९४ प्रतिशत रहेका छन् । तर यो संख्याले बौद्धिक अपाङ्गताको वास्तविक प्रतिनिधित्व नगरेको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालको ठहर छ ।

बौैद्धिक अपांङ्गता कुनै रोग नभएर, एउटा अवस्था हो, जुन अवस्थामा सो व्यक्ति जिवनभर रहि रहन्छ । यसले गर्दा उनीहरु जीवनभर नै कसैमा आश्रित रहनुपर्ने हुन्छ । अपाङ्गतालाई निर्मुल पार्न नसकिएपनि दैनिक जीवनयापनका लागि त्यसलाई सहजरुपले व्यवस्थापन भने गर्न सकिन्छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विशेष हेरचाह र मायाले उनीहरुलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थापन गर्न सक्षम बनाउन सकिन्छ’ । उनले बौद्धिक अपाङ्गता भएकाहरुका लागि विशेष कक्षा, घर तथा विद्यालयमा विशेष स्याहार हुने हो भने, उनीहरुले सिक्न सक्ने बताए ।

देशभरका हरेक जिल्लामा बौद्धिक अपाङ्गताका लागि विद्यालयमा नै विशेष शिक्षा संचालनमा रहेको छ तर त्यो पर्याप्त भने छैन । उनीहरुका लागि चाहिने पर्याप्त सेवा सुविधा, पुर्वाधार तथा कुशल जनशक्तिको कमि छ । श्रेष्ठले धेरै ठाउँमा विद्यालयमा विशेष कक्षा सञ्चालनको नाममा सरकारी सेवाको दुरुपयोग मात्र भईरहेको बताए । उचित जनशक्ति र बेलाबेलामा निरीक्षण नहुदाँ बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अवस्था त्यस्ता कक्षाहरुमा दयनीय भएको बताए ।

अपाङ्गता पहिला जन्मको पापले गर्दा यस्तो भएको भन्ने जनविश्वास हाम्रो समाज छ । बौद्धिक अपाङ्गता भएकै कारण आमा तथा परिवारलाई लाञ्छना लगाउने, विभेद गर्ने, अमर्यादित शब्दहरुको प्रयोग गर्ने, घर, समाज तथा विद्यालयमा हाँसोको पात्र बन्नुपर्ने र अमानवीय व्यवहार भोग्नुपर्ने अवस्था छ ।

राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले बौद्धिक अपाङ्गता भएकाहरुलाई मानसिक रोगीको सज्ञां दिने गरेको बताउँदै मानसिक रोगी र बौद्धिक अपाङ्गता फरक कुरा भएको बताए । उनले विशेष हेरचाहका लागि केयर सेन्टरको आवश्यकता औल्याउँदै केयर टेकरहरुका लागि पनि पर्याप्त तालिमहरुको सेवा सुविधा हुनुपर्ने बताए । उनले बौद्धिक अपाङ्गता भएकाहरुको हकअधिकार सुनिश्चित गर्न सबै सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताए ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्र नबनाई समान व्यवहार गरिनुपर्छ । विशेषगरि अभिभावकले आफ्नो वच्चालाई माया र स्याहार गर्नु आवश्यक छ । अन्य वच्चा सरह नै हौसला दिने र समान व्यवहार गर्ने हो भने उनीहरुलाई छिमेक तथा समाजले पनि सम्मानपुर्वक व्यवहार गर्न सिक्दछन् ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि स्थापित सेवा केन्द्रका निर्देशक समेत रहेका श्रेष्ठ थप्छन्, ‘उनीहरुमा पनि सामान्य व्यक्तिहरुको जस्तै समान इच्छा र आवश्यकता हुन्छन्, आफूलाई कसले माया गरेको छ र कसले घृणा गरेको छ भन्ने कुरा उनीहरुले बुझ्दछन् ।’ अपाङ्गता भएको वच्चालाई लिएर समाजमा लाज मान्ने, हीनताबोध गर्ने किसिमको व्यवहार गर्नु नहुने भन्दै उनले कुनै पनि कुरा उनीहरुलाई झिजोँ नमानी सिकाउनुपर्ने बताए ।

दैनिक जीवनमा गर्र्नुपर्ने ससाना क्रियाकलापहरु गर्न सक्षम बनाउन पनि उनीहरुलाई विशेष शिक्षा, सीप र स्याहारकोे खाँचो छ । यसका लागि सुरुमा अभिभावकले नै तत्परता देखाउनुपर्छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई समान व्यवहार, माया र सम्मान गरी उनीहरु प्रति सकरात्मक धारणा ल्याउन जरुरी छ । अनि मात्रै समाज र व्यवहार परिवर्तन हुन सक्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...