www.tandavnews.com
Fact ~ In search of truth

इतिहास र योगमाया

अन्धकार अनि अशान्त अरुण । मनलाई आनन्द बनाउने अरुण खोलाको आवाज त्यति बेला बेचैनी पैदा गर्ने थियो । उताबाट एक हुल मान्छेका चर्को आवाजहरु अरुणतिरै बढ्दै थियो ।

प्रज्जवलित दियो हातमा लिएर योगमाया आफ्ना अनुयायीहरुसंग भजनकीर्तन गर्दे अगाडि बढ्दै थिइन् । अब के हुने हो भने कौतुहुलता दर्शकदिर्घामा थियो ।

दियोको प्रकाशले योगमायाको आखाँ अध्यारोमा चम्किरहेका थिए । अनि अन्तिम पटक ओठमा मन्द मुस्कान छरि उनी अरुणमा मिसिइन् । उनीसंगै उनका अनुयायीले पनि अरुण नदीमा जलसमाधि लिन्छन् । यस दृश्यले दर्शक दिर्गलाई स्तब्ध बनाउँछ र नाटक सकिएको घन्टी बज्छ ।

यो शिल्पी थिएटरमा मञ्चन भएको नाटक योगमायाको अन्तिम दृश्य थियो । योगमायाको मुख्य भुमिकामा थिईन् मिथिला शर्मा । नाटक टंक चौलागाईद्धारा निर्देशित थियो । २०७४ को मदन पुरस्कार प्राप्त गरेको नीलम कार्की ‘निहारिका’को औपन्यासिक कृति ‘योगमाया’ मा नाटक आधारित थियो ।

पुस्तकमा पढेका पात्रहरुलाई रंगमञ्चमा हुबहु देख्न पाउदाँ कल्पनामा मात्र बाचेँका पात्रहरु आँखै अघि टुप्लुक्क आईपुगे झै लाग्यो ।

यो पुस्तक र नाटक मात्रै हैन । ईतिहासलाई आजको वर्तमान परिस्थितिमा पुर्नजागृत गराउने प्रयास पनि होे । योगमायाका योगदानहरुलाई सम्झिरहने र त्यसलाई अनुसरण गर्नका लागि पनि यस पुस्तकले महत्वपूर्ण योगदान दिएको छ ।

पुस्तक योगमायाको आरम्भममा अमेरिकी अनुसन्धानकर्ता बार्बरा निम्री अजिजले पारिजातलाई भेटी योगमायाका केही सृजनालाई अनुवाद गर्न दिएको प्रसङ्गबाट कथा अगाडि बढ्दछ । त्यससंगै योगमायाका जीवनका मुख्य पात्रहरु र घटनाहरुलाई सविस्तार वर्णन गरिएको छ ।

पुस्तकले नै योगमायाको साहस, आटँ र विद्रोही चेतलाई प्रस्तुत गरेको छ । जतिबेला आफ्ना विचारहरु राख्नु भनेको दरबारीयाहरुको आखाँको कसिङ्गगर हुनु बराबर हुन्थ्यो त्यस समयमा योगमायाले आफ्ना विचार मात्र राखिनन् आफै पनि समाज रुपान्तरणका लागि अघि बढिन् ।

माथि उल्लेखित घटनाविवरण यथार्थमा वि.स १९९८ को हो । जतिबेला योगमायाले आफ्ना अनुयायीहरुसंग एकैपटक जलसमाधि लिएको ईतिहास छ । समाज परिवर्तनका लागि आफ्नो देह त्याग गरि दबाव दिनु साधरण कुरा पक्कै होइन ।

उनले सुरुमा आफूलाई अग्निमा दहन गर्ने प्रयास गरेकी थिईन् जुन त्यसबेला राजाका सिपाहीहरुले बिथोल्छन् । त्यसपश्चात योगमाया र उनका अनुयायीलाई जेलमा हाली चरम यातना दिईएको घटना पनि पुस्तकमा उल्लेख छ ।

योगमायाले सामान्तवाद विरुद्धमा आफ्ना आवाजहरु निरन्तर उठाईरहिन् । राणकालिन निरुंकुश शासनले उनी र उनका अनुयायीहरुमाथि ज्यादतीको पराकाष्ठा नाघे । उनले सतीप्रथा, दासप्रथा उन्मुलनका लागि अभियान चलाईन् ।

योगमाया नारीलाई शिक्षा दिनुपर्छ भनि त्यतिबेलामा नै आवाज उठाईन् । एकल महिलाले पनि विवाह गर्न पाउनुपर्छ भन्ने पक्षमा उनी थिईन् । उनकी आफ्नै छोरीको जब श्रीमान् मर्छन् योगमाया छोरीको विवाह गरिदिने अनुरोध घोषणा गर्छिन् त्यतिबेला सतीप्रथा अझै थियो तर छोरीले भने आमासंगै बस्ने हठ लिइन् ।

योगमायाले अन्याय, अत्याचार, कमाराकमारी राख्ने प्रथाका विरुद्धमा बोलिन् । उनको सोच धेरै अगाडिको थियो । त्यसैले त उनले उठाएका त्यतिबेलाका मुद्धाहरु अहिले हाम्रा मुद्धा बनेका छन् । यसको अर्थ समस्या त्यति बेला पनि थियो जतिबेला योगमाया थिईन्, समस्या आज पनि छ तर आज योगमायाको कमी छ ।

योगमाया साक्षर थिइनन् तर उनी भित्र ज्ञानको भण्डार थियो । त्यस समयमा पनि उनी भित्र समाज रुपान्तरणको चेतना थियो । उनी विद्रोही थिइन् । सामाजिक चेतना र जागरणका लागि उनी एक सशक्त आवाज थिईन् ।

अहिले उनी एक इतिहास मात्र हुन् । तर उनका विचारहरुबाट पाठ सिक्नु जरुरी छ । उनको आटँ र साहसलाई अनुसरण गर्नु आवश्यक छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...