www.tandavnews.com
Fact ~ In search of truth

कृषक गोठालो होइनन्, मालिक हुन्

उमा विक
पोखरा, ताण्डव न्यूज । 

ए होई… काम पाइएन डिग्री पास गरेर ।।
भैसी पाल्छु गाउँतिरै झरेर ।।
चिन्ता छैन केही,
मलाई अमेरिका यही, मलाई अस्ट्रेलिया यही, मलाई जापान पनि यही ।।

पशुपति शर्माको यो गीत जस्तै डिग्री पास गरेको सर्टिफिकेट बोकेर काम खोज्ने धेरै छौ तर काम पाएका छैनौँ ।

काम नपाइएको होइन, भएका काम देख्ने आँखा नभएको हो । स्वदेशमै बसेर काम गर्ने इच्छाशक्ती नभएको हो । काम गर्न नचाहेको हो हामीले । काम गर्ने इच्छा भए प्रशस्तै काम पाइन्छ हाम्रै देशमा ।

कास्की मादी गाउँपालिका वडा नम्बर ९ का जीवन अधिकारी भैसी पाल्न गाउँ होइन शहर झरे । उनी नपढेका होइनन् । समाजले भन्ने राम्रा जागिर नखाएका पनि होइनन् उनले ।

७ वर्षअघि जिवनले एन्जियो/आइएन्जियोको जागिर र राम्रा अवसरलाई छोडेर सुरु गरेका थिए अधिकारी गाई फार्म । जीवनलाई स्वदेशमै बसेर केही गनुपर्छ भन्ने जिल थियो । अन्य विजनेसको बारे उनलाई थाहा नभएको पनि होइन तर उनलाई कृषिमै केही गनुपर्छ भन्ने सोच पहिल्यै देखि थियो । किनकी हाम्रो देशलाई कृषिप्रधान देश भनिन्छ तर कृषिमा केही परिवर्तन छैनन । कृषक दिनदिनै घटिरहेका छन् । कृषि पेशा नै विस्थापित हुने क्रममा छ ।

जीवनलाई आधुनिक कृषिमार्फत कृषिलाई हेर्ने नजर फेर्नु थियो । यसैले उनले आफ्नो नजर कृषिमा राखे । कृषिमा क्रान्ति गर्नुछ भने म आफैबाट सुरु गर्नुपर्छ भन्ने लागेर उनले फार्म सुरु गरे ।

उनी बच्चाबेला देखि नै गाईभैसी भनेपछि हुरुक्क हुन्थे । सम्झिन्छन्, ‘छिमेकमा कसैले गाई भैंसी किनेर ल्याएको छन् भन्ने थाहा पाउने बित्तिकै म हेर्न कुदिहाल्थे, गाईभैसी भनेपछि चाख लाग्थ्यो मलाई,’ उनी थप्छन्, ‘मलाई सानैदेखि कृषिमा लगाव भएर होला, अहिले मैले व्यवसायिक रुपमा गाई भैसी पालिरहेको छु ।’

गाईभैसीमा उनको मात्र होइन उनको परिवारको पनि उस्तै लगाव थियो । उनको घरमा दुईवटा दुहुनो भैसी कहिल्यै टुट्दैनथ्यो । गाउँभरिमा सबैभन्दा मोटो भैसी उनीहरुको घरको थियो । उनकोमा गाईभैसीलाई निकै स्याहार गरेर पाल्थे ।

कृषिमा दिगो सोच

जीवनले ७ वर्ष अघि ९ वटा माउ गाईबाट रहरैरहरमा पोखरा लामाचौरमा फार्म सुरु गरे । फार्म सुरु गर्दा ५ लाख लगानी गरेका थिए । अहिले उनको फार्म पोखरा–११,फुलबारीमा सिटिइभिटी बाट थोरै भित्र छ । फार्ममा कम्तिमा ९० गाई भैसी छन् । ३० प्रतिशत भैसी, ७० प्रतिशत गाई व्यवस्थित रुपमा पालेका छन् ।

५ लाख लगानी गरेर सस्टेन हुन केही गाह्रो थियो । ६ वर्षको अवधिमा कहिले घाटामा गयो कहिले न्युटलमा चल्यो फार्म तर उनी डगमगाएनन बरु लगानी गरिरहे ।

लगानी अनुसार रिर्टन नहुने होइन तर जीवन भने रिर्टन खोज्न भन्दा पनि दिगो रुपमा कृषिमा रहने सोचमा रहे । उनी भन्छन्, ‘मेरो सिद्धान्त फरक छ, अरुले एक दुई वर्ष कमाउने, घर घडेरी किन्ने,बैंक ब्यालेन्स राख्ने, ऐसआरामको लाइफको सोच बनाउँछ तर मैले कृषिलाई लङटर्म (दिगो) लैजाने ’ उनी थप्छन्, ‘कृषिमा सस्टेन हुनको लागि कम्तिमा ५ वर्ष रिर्टनको आश नै नगर्दा हुन्छ, अब बल्ल रिर्टन खोज्ने समय आएको छ मेरो । ’

दिनमा ७ सय लिटर दूध, ७ कर्मचारी

जीवनलाई लगानी अनुसारको रिटर्न नहुँदा कुनै दुःख मन हुँदैन । किनकी उनले कम्तिमा ७ जनालाई स्वदेशमै जागिर दिएका छन् ।
कर्मचारी उनीसँग खुशी छन् काम गर्नका लागि यसैमा उनलाई गर्व लाग्छ । समाजमा उनले खाती दूध खुवाइरहेका छन् ग्राहकलाई । कमाई कत्ति हुन्छ भन्ने कुराले उनलाई म्याटर राख्दैन । उनी भन्छन्, ‘मेरो कमाईले समाज परिवर्तन हुने होइन । मेरो कामले हो । ’

जीवनको फार्ममा बिहान बेलुका गरेर ६५०/७०० लिटर दूध उत्पादन हुन्छ । उनको लक्ष्य अब ८ सय लिटर दूध उत्पादन गर्ने रहेको छ ।

दूध दुहुनको लागि जीवनले आधुनिक मिल्किङ मेसिन राखेका छन् जसले दूध दुहुन सजिलो र छिटो हुन्छ ।

कृषिमा चुनौती

कृषिमा चुनौती भनेको सरकारले कृषि क्रान्ति नारामा सिमित गर्नु हो । प्रदेश  सरकारले कृषिको लागि ५ प्रतिशत बजेट छुट्याएको छ । ५ प्रतिशतमा २ प्रतिशत कर्मचारी खर्चमा जान्छ । ३ प्रतिशत बजेट बाँकी रहन्छ ।

‘कृषि प्रधान देशमा ३ प्रतिशत बजेटले कृषि क्रान्ति असम्भव छ,’ जीवन गुनासो गर्दै भन्छन्, ‘काम गर्दाका गाह्रो अप्ठेरो त छदैछ । सरकारले वास्तविक किसानलाई के अप्ठ्यारा छन भनेर गोठसम्म गएर हेरेको हुँदैन । ’

द्यूधको मुल्य समय सापेक्ष नबढ्दा उनी जस्ता अन्य थुप्रै किसान मारमा पर्छन् । ‘दाना चोक्करको मुल्य बढ्छ तर दूधको मुल्य बढ्दैन यो किसानलाई चुनौती हो, ’ उनी भन्छन । सरकारले किसानलाई अनुदान दिन्छ । तर त्यो हात्तिको देखाउने दाँत जस्तै मात्र हुन्छ । ७ वर्षको अवधिमा जीवनले कहिले अनुदान पाएका छैनन् ।

कृषक गोठालो होइनन्

समाजमा आजको दिनमा पनि कृषकलाई हेर्ने दृष्टिकोण गोठालोको छ । कृषिलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ ।  कृषि पेशा दुखि पेशा हो तर अब यो गोठाले पेशा होइन । गोठालो आफ्नो पेशाको लागि हो तर अरुले भन्नको लागि होइन ।

समाजले कृषकलाई दुखियाको नजरले हेर्छ । जीवन यही नजर परिवर्तन गर्ने अभियानमा लागेका छन् ।  जीवन भन्छन्, ‘कृषि पेशा गर्ने गोठालो होइनन, मालिक हुन् । सबै कृषि पेशा गर्ने मान्छेले च्यातिएको टोपी लाउनुपर्ने, फाटेकै जुत्ता लाउनुपर्ने, गोबरै टासेर हिड्नुपर्ने होइन । कृषि क्रान्ति गर्नुपर्छ भने सोच परिवर्तन गर्नुपर्छ । कृषक सानो हुन भन्ने सोच फेर्नुपर्छ । कृषकले पनि हामी सानो हौँ भन्ने हिनताबोध गर्नुहुदैन । हामी पनि केही हाँै भन्ने सोच्नुपर्छ ।’

जीवनलाई विदेश जानी सोच कहिले आएन । उर्जाशिल समय विदेशमा फाल्न उनलाई इच्छा लागेन । उनको लागि अमेरिका, अस्ट्रेलिया जापान जे भनेनि आफ्नै देश बन्यो ।

देशका उर्जाशिल युवालाई देशमै केही गर्नुपर्छ भनी मोटिभ गराउन सरकार एक्टिभ हुनुपर्ने उनी सुझाउँछन् ।  कृषि पेशामा अन्य जागिरको तुलनामा ४ गुणा तलब दिन्छु भन्दा काम गर्ने मान्छे नपाइनु, एउटा पसलमा झाँडु पोछा लगाउने कामको लागि तछाडमछाड हुनु दुखद रहेको जीवन बताउँछन् ।

उनी भन्छन्, ‘चुनौतीलाई सामना गर्न सके कृषिमा अवसरै अवसर छ ।’ उनी राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज,गण्डकी प्रदेशका सचिव हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...