www.tandavnews.com
Fact ~ In search of truth

चितवनका चार सामुदायिक वनलाई समेटेर राइनोपार्क बनाइँदै

चितवन ।

पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

राप्ती र नारायणी नदीको सङ्गमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन् । हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्दछन् । क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलका अनुसार प्रदेशसभाले जिल्लामा मेघौलीलाई पर्यटकीय गन्तव्यका रुपमा छानेको छ ।

यससँगै यहाँको पर्यटकीय प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा एक करोड बजेट प्राप्त हुने उनले जानकारी दिए । भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा वेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रूपमा विकास गर्न लागिएको छ ।

मेघौली विमानस्थल नजिकै राइनोपार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदैछ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र सङ्ग्रहालय रहने उनले जानकारी दिए । यसै महिनाको ३० गते शिलान्याश गरेर काम अघि बढाइँदैछ । दुई करोड ५० लाख खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।

Mahanagar add

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार राइनोपार्क झण्डै ५५० बिघा क्षेत्रमा फैलनेछ । पार्कमा थारू सङ्ग्राहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, वेतरी खोलामा ५०० मिटरसम्मको डुङ्गा शयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन् ।

यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिकवाक निर्माण गरिँदैछ । सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिकवाक निर्माण गरिनेछ ।

झण्डै एक किलोमिटर लामो त्यसै ठाउँमा हिँडेर पर्यटकले दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । सोका कारण वन्यजन्तुबाट कुनै दुर्घटना नहुने र पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

सुवेदीले यो नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि प्रचारप्रसारको अभावमा मेघौली पछिपरेको छ । मेघौलीमा ठूला–साना १० पर्यटकीय होटलमा २७३ को क्षमता रहेको छ ।

सुवेदीका अनुसार गत वर्षको तथ्याङ्कलाई हेर्दा मेघौलीमा वार्षिक ११ हजार विदेशी र सात हजार हाराहारी नेपाली पर्यटक आउने गरेका छन् । निकुञ्जभित्रको होटल टाइगरटप्स बन्द भएसँगै बाहिरको हात्तीपोलो खेल पनि बन्द भएको छ । यससँगै मेघौली थप ओझेलमा परेको हो । पछिल्लो समय मेघौलीमा नयाँपन दिनका लागि स्थानीयवासी लागि परेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Global Reach