www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको सुढेगाउँमा पहिलोपटक बिजुली

तनहुँ ।

Mahanagar add

हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो ।बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पुर्याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ ।

उनले भने, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि १५ लाख रुपैयाँ लगानी भएको छ ।”व्यास नगरपालिका–१४ को नाल्दीघाटमा मात्रै अब विद्युत् विस्तार गर्न बाँकी छ । गोशलीका अनुसार नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत् विस्तार हुनेछ ।

उनले भने, “सुढेबाट छ किमी टाढा रहेको गाउँमा विद्युत् विस्तारका लागि पहल भइरहेको छ ।आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।” पहिलोपटक बिजुली बल्दा सुढेका स्थानीयवासीमा खुशीयाली छाएको छ ।

तनहुँका १५ प्रतिशत घरधुरीका स्थानीयवासी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् ।रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० घरधुरीमा चालू आर्थिक वर्षभित्रै विद्युत् पुर्याउने लक्ष्य छ ।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरी लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइने केन्द्रले जनाएको छ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए ।

विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पुर्याइनेछ ।केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ ।

जसअनुसार बन्दीपुर गाउँपालिकामा चार ठाउँमा, भानु नगरपालिकामा चार ठाउँमा, व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...