www.tandavnews.com
Fact ~ In search of truth

दुःखमा फुलेको खुसीहरु

गोडेको आलु बारी तिर हेर्दे बसिरहेको थियो ऊ । हातमा लागेको माटो देख्दा उसले भर्खर काम सकेको हुनुपर्छ । ढोरपाटनको सुन्दरता र चिसो मौसममा पुग्दा मंगोलियन अनुहार भएको १३, १४ वर्षको जस्तो देखिने उसलाई सोधे, ‘स्कुल छैन तिम्रो ?’

बाहिरको मान्छे त्यसमाथि एक्कासी प्रश्न सोध्दा उसको अनुहार लाजले राता भए जस्तो लाग्यो । ‘जस्तो लाग्यो’ किनभने उसको गाला पहिले नै रातो स्याउ जस्तै थियो । मेरो प्रश्नले झन् बढी राता भए कि भन्ने अनुमान मात्र गरे । फेरि प्रश्न दोहो¥याए, ‘विदा छ’ उसले सानो स्वरमा भन्यो ।

बाग्लुङ्ग नै बसेर पढेपनि विदामा भने ढोरपाटन आएर खेतबारीको काममा सहयोग गर्ने गर्दो रहेछ । आलु बेचेर नै घर खर्च चल्छ उसको परिवारको । उत्तर थाहा हुदाहुदै पनि सोधे ‘कति गाह्रो हुन्छ नि?’, ‘हुदैन, सानोदेखि गरेको, बानी परिसक्यो’ उसको छोटो उत्तर आयो ।

उमेर सानै भएपनि पनि उसको ‘हुदैन’ भन्ने उत्तरले उ कति ठूलो भइसकेको छ भन्ने कुरामा प्रष्ट भए । दुःख भएतापनि उसले भन्न चाहेन कि जस्तो पनि लाग्यो तर सायद उसले दुःखको अनुभुति नै नगरेको पनि हुनसक्छ । जुन चीजलाई मैले दुःख देखे उसले त्यसलाई दुःखको रुपमा नदेखेको पनि हुन सक्छ ।

सृष्टि के.सी एक परिचित नाम हो । उनी दृष्टिविहिन हुन् । उनको मोटिभेशनल भिडियोहरु सामाजिक सञ्जालमा धेरैले धेरैपटक हेरेका छन् । उनले आफनो अपांगतालाई नै बाच्ँने एक हतियार बनाईन् । दृष्टिविहिनले के गर्न सक्छ र भन्नेहरुका लागि एक उदाहरण बनिन् । उनले आफ्नो कालो रंगको ससांरमा हराभरा फुलहरु फुलाईन् । उनको आटँ र साहसले दुःखहरुलाई खुसीहरुमा परिणत गरिदिएको छ ।

हरेकको दुःखप्रतिको आआफ्नै परिभाषा छ । कसैको लागि दुःख भनेको दिनभरि टन्टलापुर घाममा पसिना बगाएर काम गर्ने हुनसक्छ, कसैका लागि घाममा आधा घण्टाको बाटो हिड्नुमा हुन सक्छ । कसैका लागि मोबाईल फोन हातमा नहुनु हुन सक्छ भने कसैको लागि फोन भएर पनि ईन्टरनेट चलाउन नपाउनुमा हुन सक्छ ।

कसैलाई स्कुल जानु दुःख हुन सक्छ, कसैलाई त्यसैको ठीक विपरीत । हरेक व्यक्तिवीच भिन्नताहरु भएतापनि हामीमा केही समान छ भने त्यो हामीले भोग्ने ‘दुःख’हरुको अनुभुति हो । दुःखको किसिम फरक हुन सक्ला तर हामी कोही पनि त्यसबाट टाढा रहन सक्दैनौ । हरेकसंग दुःखी हुनका लागि कारणहरु हुन्छन् ।

सानो छदाँ हामी जति दुःख भएपनि, त्यो दुःख कम, हाम्रो दैनिकि जस्तो बढी हुन्थ्यो । दुःखले त्यति सारो दुखी बनाउदैनथ्यो । तर हामी वयस्क (एडल्ट) भईसकेपछि दुःख हुनु हुदैन भन्ने धारणलेस–साना दुःख र समस्यामा पनि आत्तिन्छौ र दुःखी बन्छौ । दुःखलाई हाम्रो जिवनको पर्यायको रुपमा लिन नसक्दा हामी खोक्रो हुन थाल्छौ ।

दरौ भेडाबारी, स्याङ्गजामा दिउँसोको समय थियो । कच्ची बाटोको छेउमा एउटा बालक गाग्रीमा पानी भरेर डोकोको सहाराले बोकि हिडिरहेको थियो । उसलाई घरबाट आधा घण्टा पर पानी लिन जानुपर्ने रहेछ । उसको दुवै हात खाली थिएनन्, एक हातले पानीले भरिएको ग्यालिन समातिरहेको थियो अर्को हातमा साईकलको टायरको स्टेरिङ्ग ।

उ अलिकति हिड्थ्यो अनि रोकिदै स्टेरिङ्ग घुमाउथ्यो । टाढा भएपनि ढौडदै गएर सोधे, ‘यो कसले बनाईदिएको ?’ उसले खुसी भएर भन्यो, ‘मैले’ । उसले आफैले आविष्कार गरेको आफै जस्तै मिनि गाडी थियो ।

पानी लिन जानुपर्ने दुःखमा उसले आफ्नो खेल्ने रहरको फुललाई फुलाउदै थियो । उ खुसी देखिन्थ्यो । पिठ्ँयू र हात दुवैले पानी बोक्दा उसलाई दुःख भयो भन्ने सोचे । तर पानी बोक्नु उसको आवश्यकता र बाध्यता दुवै भएतापनि उसका लागि त्यो सामान्य काम थियो । उसका लागि त्यो काम कम र स्टेरिङ्ग घुमाउन पाउने मौका बढी थियो ।

दुःख हरेक ठाउँमा र हरेकको जीवनमा छ । तर दुःखको प्रकृतिहरु भने फरक छन् । दुःखले दिने दुखाईहरु पनि फरक छन् । सुखी हुनु भनेको दुःख कम हुनु होईन ।सायद सुखी हुनु सन्तुष्ट हुनु हो ।

जसरी गणितको सुत्र माईनसबाट माईनस जोड्दा प्लश हुन्छ । त्यसरी दुःखलाई दुःखको रुपमा नलिईकन त्यसलाई खुुसीको पलहरु फुलाउने फुल बनाउन सक्छौ ।

saathidurga@gmail.com

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...