www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरको पहाडी क्षेत्रका गाउँमा बिजुली, स्थानीयमा खुशियाली

कावासोती ।

Mahanagar add

पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् । नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा त्यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो ।

मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका थिए ।

“विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ”, द्वारीका खेमबहादुर सुनारले भने, “बिजुली बलेपछि गाउँनै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।”

बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने सुनारले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ थियो ।

द्वारी, सारुडाँडा, डम्फघेरालगायतका गाउँका १२० घर विद्युत् सेवाबाट लाभान्वित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारको गरेर ९५ लाखको लागतमा यस क्षेत्रमा विद्युतीकरण गरिएको मध्यबिन्दु नगरपालिका–१४ का वडाध्यक्ष मीनबहादुर दर्लामी मगरले बताए ।

मध्यबिन्दु–१४ अन्तर्गत पर्ने साविक मैनाघाट गाविसको भेडाबारी, पोखरडाँडा, छप्रादीका १५० घरमा आर्थिक वर्ष २०७४-७५ मा बिजुली बाल्न सफल भएको भए पनि, साविक राकाँचुली गाविसको द्वारी, सारुडाँडा र डम्फघेरामा लामो समयको प्रयासपछि विद्युतीकरण गर्न सफल भएको वडाध्यक्ष मगरले बताए ।

गण्डकी प्रदेश सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ भन्ने नीतिअनुरूप अहिले नवलपुरका पहाडी क्षेत्रमा विद्युतीकरणको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्माले बताए ।

नवलपुरका पहाडी क्षेत्रअन्तर्गत बुलिङटार गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । यस्तै पहाडी क्षेत्रका धेरै बस्तीमा समेत विद्युत् पुग्न बाँकी रहेको छ । सबै क्षेत्रमा विद्युत् पुर्याउने गरी अहिले कार्य सञ्चालन भइरहेको प्रमुख शर्माले बताए ।

पहाडी क्षेत्रमा विद्युतीकरणका लागि बोझापोखरीमा निर्माण गर्न लागिएको सवस्टेशन निर्माणको काम लामो समयसम्म स्थगित भएकामा अहिले यसको निर्माणको कामसमेत धमाधम चलिरहेको उनले बताए ।

चाँडै सवस्टेशन निर्माणको काम सकेर जिल्लाका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने योजना रहेको प्रमुख शर्माले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...