www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ ताराखोलामा अल्लोबाट उत्पादित कपडाको माग बढ्यो

बागलुङ ।

Mahanagar add

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् ।

ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए ।

ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन् । परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन् ।

अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गङ्गा घर्तीमगरले बताए । विगत छ वर्ष अल्लोको कडा उत्पादन गर्दै आएकी ४५ वर्षीया गङ्गा भन्छन, “बागलुङसँगै काठमाण्डौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन् ।” मागअनुसारका कपडा बनाउन नसकेको उनको भनाइ छ ।

जङ्गलबाट सङ्कलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ ।

उद्यमीहरुका अनुसार ६०/७० मिटरको तानमा बुनेको कपडालाई  ३५ हजारसम्म बिक्री हुने गर्दछ । यस्तै हातले बुनेको झोला, गन्जी, भाङ्ग्रालाई तीन÷तीन हजार, सललाई दुई हजार रुपैयाँमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताए ।

केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ ।

“हातले गर्दा कयौँ दिन लाग्थ्यो”, रोकाले भने, “उपकरणका सहायताबाट काम गर्दा लागत कम उत्पादन धेरै भएको छ ।” अहिले यस केन्द्रमा झण्डै ३०० मिटर कपडा बिक्रीका लागि तयार पारिएको छ ।

स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ । स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ । “अहिले कपडाको माग ह्वात्तै बढेपछि अल्लोको धागोबाट कपडा बुन्न भ्याइनभ्याइ भएको छ”, रोकाले भने, “यस्तै माग बढेमा अल्लोको उत्पादनलाई औद्योगीकरण गर्न आवश्यक देखिन्छ । ”

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मूलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ । जङ्गल, खोल्साखोल्सी लगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोत्ताबाट मूल्यवान् कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीको भनाइ रहेको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...