www.tandavnews.com
Fact ~ In search of truth

बेनीमा भाडामा मनोमानी,पाँच किलोमिटरको भाडा १३० रुपैयाँ

म्याग्दी ।

बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।

बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।

wardno4

महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको २.५ किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शङ्कर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् ।

सो सडकमा प्रतिकिलोमिटर १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको १३० लिने गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए ।

Mahanagar add

वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा रु १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले १३० रुपैयाँ लिएको बताए । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् ।

यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ । यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिए ।

गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरुका विरुद्ध उचालेको उनको भनाइ छ ।म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए।

म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ ।

म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरुले भोग्नुपरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...