www.tandavnews.com
Fact ~ In search of truth

मानिस ड्रग्समा किन फस्छ ?

सन्तोष अधिकारी,
पोखरा/ताण्डव न्यूज ।

Mahanagar add

नेपालमा राजधानी काठमाडौँ पछि सबै भन्दा धेरै पोखराका यूवाहरु दुब्र्यवसनीमा फसेको बतान्छ । पहिले विभिन्न माध्यमबाट ड्रग्सको सेवनमा लागेका किशोर किशोरीहरु र यूवाहरु अहिले इन्जेक्सनबाट सिधै ड्रग्सको डोज पुरा गरिरहेका छन् ।

पहिले मानिसहरु विरामीहुँदा सेवन गर्ने औषधीलाई विना विरामी, धेरै मात्रामा प्रयोग गरेर मानिसहरु ड्रग्समा फस्ने गर्थे । अहिले समय फेरिएको छ । ड्रग्स सेवन गर्नेहरुको परिपाटी पनि फेरिएको छ ।

पहिले खोकी लाग्दा विरामीले खाने फेन्सीडील नामको औषधी धेरै खाएर ड्रग्सको प्रयोग गर्नेहरुले डोज पुरा गर्थे । अहिले यो उत्पादन नै हुन छोड्यो त्यसको नशामा झुम्न बानी परिसकेकाहरुले इन्जेक्सनलाई रोजे ।

‘सुईबाट प्रयोग गर्ने सबै सामानहरु महंगो हु्ने,’ लागुऔषध न्यूनिकरणको क्षेत्रमा झण्डै दुई दशकदेखि पोखरामा काम गर्दै आएका लालबहाद गुरुङले भने, ‘सुई र सुईमा भरेर प्रयोग गर्ने सामानहरु किन्न नपाइने । इलिगल रुपमा भने पाइने । तर, पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न छोडेनन् ।’

पोखरामा लागु, पदार्थ दुब्र्यशनीमा लागेकाहरुको न्यूनिकरणमा काम गर्ने एक मात्र संस्थाका कार्यक्रम ब्यवस्थापक समेत रहेको गुरुङका अनुसार लागुपदार्थ प्रयोगकर्ताकै भाषामा ‘सेट’ मिलाउन विशेष गरी तीन वटा औषधीहरु मिसाउने गरेको पाइएको छ ।

‘उनीहरुले यसलाई सेट भन्छन्,’ उनले भने, ‘ड्रग्सको डोज मिलाउनलाई नुर्फिन, डाइजोपाम र फेनार्गन मिसाउँछन् । यति मिलाएपछि तीन डोज बन्दो रहेछ ।’

महंगो तर, दैनिक प्रयोग कसरी ?

नियमित ड्रग्स सेवन गर्नेहरुले हरेक दिन कम्तीमा पनि १२ सय रुपैयाँ खर्चनुपर्छ । यो दैनिक खर्चनको लागि चानचुने कुरा हुँदै होईन । सन् २००५/००६ ताका पोखरा सिटी भित्र सय जना यूवामा ९० जना यूवाहरुले नियमित ड्रग्स सेवन नगरेपनि चाखेको वा एक पटक प्रयोग गरेकै पाइएको थियो ।

तर, अहिले १०० मा ४० जना यूवायूवती यसको सेवनमा रहेको हुनसक्ने अनुमान छ । यसको वास्तविक तथ्यांक भने कतै भेटिँदैन । पछिल्लो समय सचेतनाको क्रियाकलाप, मानिसहरु शिक्षित हुन थालेकोले यसको दर घटेको हो ।

‘ड्रग्स नियमित गर्नेले एकै पटक इलिगल रुपमै भएनी धेरै ल्याउने रहेछ,’ त्यस्ता प्रयोगकर्तासँग गरेको कुराकानीलाई आधार मानेर उनले भने, ‘त्यसरी ल्याएको आधा सामान आफुले नै यूज गर्न राख्ने, आधा त्यस्तै प्रयोग गर्नेलाई विक्रि गर्ने पनि गर्नेरहेछन । त्यसरी आएको पैसाबाट अर्काेपटकलाई सामान किन्ने रहेछन् ।’

कम्यूनीटी सपोर्ट ग्रुपले अहिले एचआइभी संक्रमण नहोस्, हेपटाईटीस बी र सी पनि नहोस् भनेर क्षति न्यूनिकरणको कार्यक्रम गर्दै आईरहेको छ । उनीहरुले यो कार्यक्रम चलाइरहँदा तीन जनामा एचआइभी संक्रमण भएको भेटिसकेका छन् ।

कति छन् पोखरामा त्यस्ता मानिस ?

पोखरामा मात्रै सुईबाट मात्रैै ड्रग्स प्रयोग गर्नेहरुको संख्या तीन हजार एकसय १५ जना हुन सक्ने अनुमान नेपाल सरकारको छ । यो २०१७ मा गरेको सर्वेक्षण देखाएको हो । राष्ट्रिय रुपमा अधिकतम ३४ हजार सातसय ३५ जना हुन सक्ने अनुमान छ ।

ड्रग्सको प्रयोगकर्ताहरु किशोर अबस्था देखि यूवायूवती र ५० वर्षसम्मका मानिस रहेको पाइन्छ । पछिल्लो सरकारी तथ्यांक अनुसार कास्कीमा लागुपदार्थ सेवन गर्नेहरुको संख्या छ हजार नौसय १७ छ ।

यो २०६९ सालको तथ्यांक हो । यो भन्दा पहिले २०६३ मा पाँच हजार एकसय १२ मात्र थियो । अब छिटै सर्वेक्षणको तयारी नेपाल सरकारले गरिरहेको छ । विभिन्न क्षेत्रबाट भएका प्रयासबाट अब हुने सर्वेक्षणमा संख्या घट्ने अनुमान लालबहादुर गुरुङको छ ।

कसरी सुरु गर्छन त ड्रग्स सेवन ?

ड्रग्सको सेवन मानिसले यसै गर्दै गर्दैन । कहिलेकाहीँ त्यसको अनुभव गर्नु छुट्टै कुरा हो । तर, नशाकै रुपमा त्यसलाई लिन थाल्नुका पछाडी धेरै कारणहरु छन् । पहिलो त उमेर चढ्दै जाँदा जस्तोसुकै जोखिम पनि मोल्न तयार हुन्छ मानिस ।

अर्काे जीवनमा एक पटक चाखौँ न त भनेर चाख्ने अनि पछि नशाकै रुपमा नियमित सेवन गरेको पनि पाइन्छ । एउटाले त्यसको नियमित प्रयोग गर्छ भने साथीको लागि यत्ति पनि गर्दैनस् भन्ने, भावनात्मक कुराहरुले पनि यसमा लागि रहेको पाइन्छ ।

अर्काे महत्वपूर्ण कुरा पारिवारिक वातावरणको कारणले पनि टिनएजरर्सहरु ड्रग्सको शिकार भईरहेका छन् । परिवारको वातावरणसँग वाक्कदिक्क भएको बच्चाले ड्रग्स सेवनको बाटो रोजेको लालबहादुरको अनुभव र अध्ययनले देखाउँछ ।

‘सबैभन्दा ठुलो कुरा त पारिवारीक वातावरण कस्तो भन्नेले जनाउँदो रहेछ,’ उनले भने, ‘परिवारमा सँधै टर्चर दिने, परिवारका सदस्यले खाली नराम्रो भइस्, विग्रिस् मात्रै भन्ने उसलाई हौसला, प्रोत्साहन भन्दा पनि गाली अनि भेदभावको रुपमा हेरेपछि ऊ चाहीँ यसमा लाग्दो रहेछ ।’

आफ्नो छोराछोरी ड्रग्समा फसेको थाहा पाउने अभिभावकहरुले यसलाई समस्या नभई इज्जतसँग जोडेर हेर्नेगर्नाले पनि यो ठुलो दुर्घटनाको खाडल तिर लम्किरहेको उनी बताउँछन् ।

‘बच्चाले यसको सेवन गर्ने गरेको थाहा पाएका अभिभावकहरु यसलाई समस्याको रुपमा स्वीकार्दैनन्,’ उनी भन्छन्, ‘अभिभावकले यसलाई समस्याको रुपमा ग्रहण गरेर समाधान खोज्न तर्फ लाग्ने हो भने मात्रै पनि यसको धेरै न्यूनिकरण हुने देखिन्छ । तर, त्यस्तो हुँदैन । अभिभावकहरु यसलाई इज्जतको रुपमा हेर्छन ।

सेवनकर्तालाई झन घृणागर्छन । उनीहरुले मायाँ नपाएपछि झन नशामा झुम्न थाल्छन् ।’ अहिले ड्रग्स यूजर्सहरुको परिपाटी पनि फेरीएको छ । पहिले पोखरामा मनोरञ्जनको माध्यम कहिँ कहिँ रहेको फिल्महल बाहेक खासै केहि थिएनन् ।

अहिले जहाँतहिँ बार, क्लबहरु, मेला महोत्सव धेरै हुने गरेका छन् । अहिले ड्रग्सलाई पार्टीहरुमा पनि प्रयोगमा ल्याउन थालिएको छ । पार्टीमा रक्सीहरुबाहेक नै ड्रग्सले जस्तै काम गर्ने केमिकलयुक्त बस्तु मिसावट गरेर त्यसको सेवन गरेर पनि मानिसहरुले ड्रग्सको न्यास्रो मेट्ने गर्छन ।

अर्काे कुरा सिरीन्जबाट ड्रग्स सेवनगर्नेहरु कुनै रमाईलोमा, मेला पर्वमा पनि कमै जान्छन् ।

अनि उनीहरुको लत छुट्दैन . . .

साथीसंगीको संगत या अरु कुनै कारणले ड्रग्समा फसेको उसलाई ड्रग्स सेवन गर्न हुँदैन, म गलतबाटो रोजेको छु भन्ने थाहा हुँदा हुँदै पनि सेवन गरिरहन्छ । यसको पछाडी थुप्रै कारणहरु छन् ।

‘उनीहरु मानसिक रुपमा, शारीरिक रुपमा भावनात्मक कुराहरु सुन्ने मुडमा हुँदैनन्,’ उनले भने, ‘उनीहरुलाई कसैले रोजगारी पनि दिँदैन, सीप पनि प्रयोगमा आउँदैन । कहिलेकाहीँ उनीहरुसँग भेटेर यस्तो यूज नगर भन्दा अब छोड्ने हो दाई छोड्ने हो भन्छन् ।

यस्तै टाइपको जवाफ आउँछ । उनीहरुलाई यसले जीवन बर्बाद पार्छ भन्नेनी थाहा छ । एक दिन छोड्नै पर्छ भन्ने पनि थाहा छ तर, किन रेगुलर यूज गरिराख्छन यसको उत्तर अहिलेसम्म पाइएन ।’ परिवार समाज नै नलागे यो न्यूनिकरण हुनेमा लालबहादुर संका गर्छन ।

ड्रग्सको शैली नै फरक

नेपालकै पूर्वी क्षेत्र, काठमाडौँ र पोखरा आसपासमा ड्रग्स प्रयोगकर्ताको अवस्था फरक – फरक देखिएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा काठमाडौं, पोखरा र पूर्व क्षेत्रमा प्रयोग हुने लागूऔषधको अवस्था र प्रकृति फरक देखिएको हो ।

प्रहरीले पुर्वी क्षेत्रमा सबै भन्दा ड्रग्स तथा लागुऔषधको प्रयोग हुने भनिएको मोरङ जिल्लालाई आधार मानेर अध्ययन गरेको थियो । तीन महिना लगाएर गरिएको अध्ययनमा यहाँ इन्जेक्सन मार्फत ड्रग्सको सेवन गर्नेको संख्या धेरै छ ।

अध्ययनका क्रममा एक हजार ६ सय १८ लागूऔषध प्रयोगकर्तासँग सोधपुछ गर्दा औषधिजन्य ड्रक्स कोरेक्स, फेन्सिडिल नाइट्रोजनलगायत सेवन गर्ने गरेको भेटिएको प्रहरी स्रोतले जनायो ।

के छ कानुनमा ?

लागू औषध (नियन्त्रण) ऐन, २०३३ नै अहिले यसमा आकर्षित हुन्छ । निषेध गरिएका कार्यहरु कुनै पनि व्यक्तिले देहायका कार्यहरु गर्न हुँदैन ।

(क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न,

(ख) अफीम वा कोकाको खेती गर्न वा अफीम वा कोकाको पात वा अन्य लागू औषधीको उत्पादन गर्न,
(ग) लागू औषधको निर्माण वा तैयारी गर्न,
(घ) लागू औषधको बिक्री वितरण गर्न,
(ङ) लागू औषधको निकासी वा पैठारी गर्न, र

(च) लागू औषध खरीद गर्ने, संचय गर्ने, राख्ने वा ओसार पसार गर्ने, र
(छ) गाँजा बाहेक अन्य लागू औषध सेवन गर्ने,

तर–

(१) नेपाल को पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मको लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्ने र खरीद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा यस दफा अन्तर्गत अपराध गरेको मानिने छैन ।

(१क) सिङ्गल कन्भेन्शन अन नाकोर्टिक ड्रग्स, १९६१ मा परिभाषा गरिए बमोजिमका औषधि मध्ये लागू औषध तयार गर्न प्रयोग गरिने रासायनिक पदार्थ मुख्य औषध नियन्त्रण अधिकारीको अनुमतिले मात्र तोकिएको अनुपातमा आयात–निर्यात, ओसार–पसार, सञ्चय, बिक्री–वितरण र प्रयोग गर्न पाइनेछ ।

(२) प्रतिबन्धात्मक वाक्यांश (१) बमोजिम दिइने अनुमतिपत्रको तरीका, त्यस्तो अनुमतिपत्रको ढाँचा र शर्त अनुमतिपत्र दिने अधिकारी, त्यसमा लाग्ने दस्तूर, अनुमतिपत्र बमोजिम गरिने काम उपरको अरु नियन्त्रण र व्यवस्था तोकिएबमोजिम हुनेछ ।

स्पष्टीकरण : यस खण्ड (ख), (ग), (घ), (ङ) र (च) को प्रयोजनका लागि “लागू औषध” भन्नाले गाँजालाई जनाउने छैन ।
५. निषेध लागू नहुने : यस ऐनका अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्तिहरुले देहायका अवस्थामा लागू औषधको सेवन गर्न निषेध भएको मानिने छैन
(क) औषधोपचाकरो निमित्त स्वीकृत चिकित्सकको सिफारिशमा कुनै व्यक्तिले अनुमतिपत्र प्राप्त पसलबाट सिफारिश बमोजिमको मात्रााम लागू औषध खरीदगरी सेवन गर्न।

(ख) तोकिएको वर्गका व्यक्तिले तोकिएको मात्रामा लागू औषध सेवन गर्न ।

५क. चिकित्सकको सिफारिशमा जनाउनु पर्ने स्कुनै व्यक्तिले स्वीकृति चिकित्सकको सिफारिश लिई लागू औषध खरीद गर्न आएमा अनुमतिपत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिश बमोजिम लागू औषध बिक्री गरिसकेपछि बिक्री भएको कुरा चिकित्सकको सिफारिशमा जनाई दिनु पर्नेछ ।

५ख. चिकित्सकको दायित्व स् चिकित्सकले कुनै व्यक्तिको निमित्त लागू औषध सिफारिश गर्नुपर्दा लागू औषध आवश्यक नपर्ने व्यक्तिलाई लागू औषध सिफारिश गर्न वा लागू औषध आवश्यक पर्ने व्यक्तिलाई पनि आवश्यकता भन्दा बढी मात्रामा लागू औषध सिफारिश गर्नु हुँदैन ।

६. नेपाल सरकार बाध्य नहुनेस् नेपाल सरकारले वा नेपाल सरकारबाट विशेष अनुमतिपत्र प्राप्त गरी नेपाल सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही नेपाल सरकारको तर्फबाट कुनै संस्थाले औषधि वा वैज्ञानिक अनुसन्धानको प्रयोजनको लागि कुनै लागू औषधको खेती गर्न, तयार गर्न, उत्पादन गर्न निर्माण गर्न वा निकासी–पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिश बमोजिम कसैलाई लागू औषध बिक्री गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।

७. वारेण्ट जारी गर्ने अधिकारी स् यस ऐन अन्तर्गत सजाय हुने अपराध कसैले गरेको छ वा गर्न लागेको छ भन्ने विश्वास पर्ने कारण भएमा त्यस्तो व्यक्तिको गिरफ्तारी र खानतलासीको निमित्त औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्नेछ ।

औषध नियन्त्रण अधिकारीले कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा त्यस्तो अपराधसित सम्बन्धित कुनै व्यक्ति लुकेको छ वा कुनै लागू औषध राखिएकोछ भन्ने आफूलाई विश्वास भएमा त्यस्तो घर, जग्गा, सवारी वा ठाउँको खानतलासी गर्नको निमित्त आदेश जारी गर्न सक्नेछ ।

८. बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार (१) यस ऐन अन्तर्गतकोखकुनै अपराध कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेकोछ र तुरुन्तै केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरु गर्न सक्नेछ ।

(क) त्यस्तो घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्न

(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारवाई गर्ने, (ग) अपराधसित सम्बन्धित लागू औषध र अन्य सामानहरु तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने, र (घ) अपराध गरेको भनी शंका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तार समेत गर्ने ।

(२) उपदफा (१) बमोजिम कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सदस्य वा त्यस ठाउँको एक जना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्रखी गर्नु पर्नेछ ।

तर नगरपालिका वा गाउँपालिका वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलादमी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि त्यस्ता व्यक्तिहरु उपलब्ध नभएको उचित आधार भएमा कम्तीमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिनेछ ।

८क. आर्थिक कारोबारको विवरण माग गर्न सक्नेः(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्ति, संघ–संस्था, फर्म, कम्पनी वा अन्तर्रा्ष्ट्रिय संगठनले लागू औषधको अवैध कारोबार गरेकोछ भन्ने विश्वसनीय आधार भएमा औषध नियन्त्रण अधिकारीले त्यस्तो व्यक्ति, फर्म, संघ–संस्था, कम्पनी वा अन्तराष्ट्रिय संगठनको नाममा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको रकम लागू औषधको अवैध कारोबारमा प्रयोग हुने देखिएमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित बैंक वा वित्तीय संस्थालाई त्यस्तो रकम रोक्का राख्न आदेश दिन सक्नेछ ।

गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने यस ऐन अन्तर्गत औषध नियन्त्रण अधिकारीले गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरेको सामानहरु बाटाको म्याद बाहेक गिरफ्तार वा कब्जा गरिएको चौबीस घण्टा भित्र मुद्दा हेर्ने अधिकारीकहाँ उपस्थित र दाखिल गर्नु पर्नेछ ।

औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्नेछ । औषध नियन्त्रण अधिकारीले देहायका लागू औषध नष्ट गर्न आदेश दिन सक्नेछ ।

(क) यस ऐन विपरीत कुनै जग्गामा खेती भइरहेको गाँजा, अफिम र कोका,

(ख) दफा ४ बमोजिम छुट भएका क्षेत्रमा बाहेक अन्यत्र आफै उम्रिराखेको गाँजा, अफीम र कोका,

(ग) बेवारिसी अवस्थामा फेला परेका कुनै लागू औषध, र

(घ) यस ऐन अन्तर्गतका कसूरसम्बन्धी मुद्दा अदालतमा दायर हुन नसक्ने अवस्था परेमा सो कसूरसित सम्बन्धित लागू औषध ।
कुनै व्यक्तिबाट लागू औषध बरामद भएप्छि औषध नियन्त्रण अधिकारीले लागू औषधको प्रत्येक पोकाबाट प्रहरी सहायक निरीक्षक र मुद्दा हेर्ने अधिकारीले खटाएको एकजना कर्मचारीको रोहबरमा बढीमा तीन ग्राम सम्म लागू औषध प्रत्येक पोकाबाट स्याम्पल लिई परीक्षणको लागि पठाउने, लागू औषधको प्रकृति छुटयाउन लागू औषध मुद्दाको अनुसन्धान अधिकारीले त्यस्तो ललागू औषधको स्याम्पल नमूनाका लागि राख्ने र अदालतमा त्यस्तो मुद्दा म्याद थपका लागि पेश भएपछि अदालतले प्रत्येक पोकाबाट बढीमा तीन ग्राम लागू औषधको नमूना राखी बाँकी लागू औषध सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि, स्थानीय जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र स्थानीय नगरपालिका वा गाउँपालिकाको प्रतिनिधि समेतको रोहबरमा मुद्दा म्यादथपका लागि अदालतमा पेश भएको पन्ध्रदिन भित्र नष्ट गर्नु पर्नेछ ।

कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफीम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागू औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागू औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेश बमोजिम प्राप्त गरेका वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेश गर्नु पर्नेछ ।

त्यस्तो प्रमाण पेश गर्न नसकमो र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...