www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रकाे क्षेत्रमा चुनाब नलड्ने बामदेव गौतमकाे घोषणा

पाेखरा ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम कास्कीमा हुन लागेको उपनिर्वाचनमा नउठ्ने भएका छन्। कास्की  क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री  रवीन्द्र अधिकारीेको गत फागुनमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।  गौतमले कास्की २ बाट उपनिर्वाचनमा नउठ्ने जानकारी शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकलाई गराएको उनका सहयोगी विश्वमणि सुवेदीले बताएका छन्।

‘ हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु’, गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु।’

wardno4

यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट वामदेव उम्मेदवार भएका थिए। जहाँ उनी कांग्रेसका सञ्जय गौतमसँग ७०० मतले पराजित भएका थिए।  उनले बर्दियामा कांग्रेसको भन्दा वाम गठबन्धनको ३२ हजार धेरै मत हुँदा पनि हार भोग्नुपरेको विगत सुनाउँदै कास्कीमा पनि त्यही जोखिम रहेको उल्लेख गरेका छन्। ‘२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो ।

Mahanagar add

तर, म पराजित हुनुपर्यो’, उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’  गौतमले कास्की २ मा स्थानीय नेतालाई नै पार्टीले टिकट दिनुपर्ने अडान राखेका छन्। ‘मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, उनले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ।’

उनले पार्टीको जितका लागि कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहेकामध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो अडान अघि सारेका छन्। वामदेव पछि हटेसँगै अब कास्की २ मा रवीन्द्र पत्नी विद्या अधिकारी (भट्टराई) ले उपनिर्वाचनको टिकट पाउने करिब पक्का भएको छ ।  अनेरास्ववियुको सचिवसम्म भएर रवीन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि विद्याले राजनीतिलाई विश्राम दिएर प्रद्यापनमा लागेकी थिइन्। रवीन्द्रको विरासत थेग्नका लागि विद्याले यसअघि नै आफू फेरि राजनीतिमा फर्किने बताइसकेकी छन्।

वामदेवले यसअघि पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पाबाट चुनाव लड्ने कोशिश गरेका थिए। तर त्यहाँबाट बुढाले राजीनामा दिन नमानेपछि वामदेवलाई पहिलो गाँसमै ढुंगा लागेको थियो। त्यसपछि उनले काठमाडौं क्षेत्र नम्बर ७ बाट उपचुनाव लड्न निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामाका लागि मनाएका थिए।

मानन्धरले राजीनामाको घोषणा पनि गरेका थिए।  तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै वामदेवको चहाना विपरित उभिएपछि त्यो प्रयास पनि सफल हुन सकेन। त्यसपछि वामदेवका लागि आफू राजीनामा दिन तयार रहेको कुरा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले बताएका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...