www.tandavnews.com
Fact ~ In search of truth

लाजले विकराल

उमा विक
पोखरा, ताण्डव न्यूज । 

सुनिता नेपाली । उनको पहिलो सन्तान छोरी । छोरी जन्माउँदा उनी भर्खर २० वर्षकी थिइन् । छोरी जन्मेको महिना दिन नबित्दै उनको आङ खस्यो । ‘घरमा सुत्केरी हुँदा काममा सहायता गर्ने कोही थिएन बुहारी मान्छे काम बेस्सरी गनुपथ्र्यो’ उनी भन्छिन् । घरको मात्र होइन घर बाहिरका काम पनि गर्नुपर्ने उनको बाध्यता थियो ।

भारी नबोकी खान पुग्दैनथ्यो । भारी बोकेर उनले श्रीमानलाई रक्सी खुवाउनु पथ्र्यो । सुत्केरी भएको १ महिनामै बालुवा, आलुको ५० केजी सम्मको भारी बोकेर छाक जुटाउनुपथ्र्यो । सुत्केरीको तागतिलो खाना खान पाउनु त परको कुरा । पाठेघर खसेपछि पेट सहनै नसक्ने गरि दुख्ने, बस्न गाह्रो हुने हुन्छ उनलाई । उनी अहिले ४५ वर्षकी भइन् । पाठेघरको समस्या हुँदाहुँदै पनि उनले ४ छोराछोरीको हेरचाह त गर्नुपर्छ नै उनले शारीरिक सम्बन्ध राखेर श्रीमानलाई पनि खुस पार्नुपर्छ । पाठेघर खस्ने क्रम जारी छ पीडा सहेर बसेकी छिन् तर उपचारका लागि उनी अझै अस्पताल पुगेकी छैनन् ।

राधिका सिवाकोटी । ६ सन्तानकी आमा हुन् । बालबच्चा सहरमै जन्मेका हुन् तर उनले ६ सन्तानलाई नै आफैले पाइन् । सुत्केरीमा स्याहार गर्ने कोही भएन । ‘सुत्केरी भएको १०÷१२ दिनमै मैले ठूलाठूला कपडा धुनेदेखि घरका काम सबै गरे ’ उनी भन्छिन् । बालबच्चा वर्षेनी जन्माउनाले पनि उनी सुत्केरी भएपछि तङ्ग्रिन पाइनन् । उनलाई दोस्रो सन्तान जन्माएदेखि नै हड्डी करकर खाने, पेट दुख्ने हुन्थ्यो तर उनले यसलाई सामान्य लिइन् । अहिले उनी ४८ वर्षकी भइन् । एक वर्षअघि देखि उनलाई बस्नै नहुने, छिटोछिटो हिँड्न नहुने भयो । एक दिन ट्वाइलेट बस्दा अचानक केही योनीमा झुन्डियो अनि मात्र थाहा पाइन् पाठेघर खसेको ।

ललिता पौडेल । दुई छोराछोरी छन् उनको । दुई सन्तान ईश्वरको वरदान । श्रीमान् श्रमतीबीच सल्लाह भयो अब सन्तान नजन्माउने । ललिताले पाठेघरमा अस्थायी साधन कपटी राखिन् । ५ वर्षको लागि तर उनलाई रक्तश्राव हुन थाल्यो । अस्थायी साधनको धेरै प्रयोगका कारण पनि रक्तश्राव भएको रहेछ । झण्डै ९÷१० वर्ष यो समस्यालाई पालेर बसिन् । रक्तश्रावकै कारण झण्डै ज्यान गएन उनको । अहिले उनी ४८ वर्षकी भइन् । ४ वर्ष अघि पाठेघर काटेर फालेपछि उनले पुर्नजीवन पाइन् । सुत्केरी बेला उनले पनि सुख पाइनन् । घरको काम, घाँस दाउरा उनले सुत्केरी बेलाबाटै गर्नुप¥यो ।

भर्खर ३५ वर्षकी भइन् सरिता सुनार । बिहे हुँदा मात्रै १६ वर्षकी थिइन् । बाबा आमाले सानै उमेरमा उनको बिहे गरिदिए । बिहेको एकवर्ष पछि नै उनको पहिलो सन्तान जन्मियो । पहिलो सन्तान जन्माउँदा मात्र १७ वर्षकी थिइन् । दुई वर्ष पछि अर्को सन्तान जन्मियो । त्यसपछि पनि उनको गर्वमा सन्तान रह्यो । दोस्रो सन्तान पछि अरु सन्तानको चाह उनमा थिएन । उनले श्रीमानसँगको सल्लाहमा क्युरेट गरिन् । एक पटक होइन बारम्बार उनले क्युरेट गरिन् कारण उनको शरीरलाई उनी आफूले नियन्त्रण पाउँदिनथिन् । क्युरेटको कारण पाठेघर कमजोर बन्यो जसले उनको स्वास्थ्यमा गम्भीर असर प¥यो । वर्ष दिन उनी ओछ्यानमा थला परिन् । स्वास्थ्य नै धारमा परेपछि उनले शारीरिक सम्बन्ध अस्वीकार गर्न थालिन् । पारिवारिक कलह यहीबाट सुरु भयो । श्रीमानले उनलाई कुटपिट गर्न थाले । अन्ततःश्रीमानले उनको स्वास्थ्यको ख्याल नगरेपछि उनी श्रीमान्बाट टाढिएर एकल जीवन बिताइरहेकी छिन्
….

महिलाहरुको आङ अर्थात् पाठेघर खस्नुको पछाडि अनेकन कारणहरु छन् । यसमध्ये महिला माथि हुने हिंसा वा विभेद एक मुख्य कारण हो । महिला भएकै कारण हाम्रो समाजमा महिलाहरुले भेदभाव सहनु परिरहेको छ । फलस्वरुप महिलाहरुले आफ्नै शरीर जीवनमाथि आफूले नियन्त्रण गर्न पाउँदैनन् । यौन सम्बन्धलाई महिलाले नियन्त्रण गर्न नपाउनाले महिलाको स्वास्थ्य धरापमा पर्ने गरेको छ । जसले गर्दा महिलाहरुमा उच्चदरमा पाठेघर सम्बन्धी समस्या पाठेघर खस्ने जस्ता उनीहरुको स्वास्थ्यमा असर पर्ने गर्दछ ।

पाठेघर खस्ने समस्या गाउँघरमा मात्रै होइन सहरमा पनि प्रशस्तै छन् । पाठेघर खसेको कुरा सहजै भन्न नसकेर वर्षौवर्ष सम्म लुकाएर राख्दा यसले महिलाको स्वास्थ्यमा ठूलो समस्या निम्त्याएको छ ।

माथि उल्लेखित पात्रहरु पोखरामा बस्दैँ आएका स्थानीय हुन् । गाउँघरका महिलाले मात्रै होइन सहर बजारका महिलाले पनि यसलाई लुकाएर राख्ने, चेकजाँचका लागि अस्पतालसम्म पुग्न लजाउने गरेको पाइएको छ । आङ खस्नु सामान्य समस्या हो, तर थुप्रै महिलाको जीवनमा यो आकाशै खसेजस्तो पीडा बनिरहेको छ । खासमा आङ खस्दैमा आकाशै खस्दैन, उपचार गरे निको हुन्छ ।

के हो आङ खस्नु भनेको ?

महिलाहरुमा देखिने पाठेघर खस्ने समस्या एक प्रमुख तथा जटिल समस्या हो । यसलाई हाम्रो समाजमा ‘आङ खस्ने’ समस्या पनि भनिन्छ । हाम्रो परिवार तथा समाजमा प्रजनन् अंगको बारेमा निकै न्यून मात्रामा छलफल हुने भएकाले पनि यो समस्या महिलाहरुको लागि घातक हुने गरेको छ । पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका महिला जोसुकैलाई हुन सक्छ ।

अझै चेतनाको अभाव

स्वास्थ्य कार्यालय गण्डकी प्रदेश कास्कीले २०६७/६८ सालबाट पाठेघरको समस्या सम्बन्धी चेतना फैलाउन क्याम्प चलाउँदै आएको बतायो । यसरी क्याम्प चलाउँदा अस्पतालसम्म पुगेर जाँच गराउन लाज मान्ने महिलाहरुको सहभागिता बढी हुने गर्दछ ।

अस्पताल पुग्न असहज मान्ने महिलाहरु आफ्नो गाउँठाउँमा शिविर/क्याम्प चलाउँदा भने खुलेर पाठेघरको समस्याबारे बोल्ने गरेका छन् । अघिल्लो वर्ष सञ्चालन गरेको शिविरबाट २५/२६ जनाले पाठेघरको अप्रेसन गरेको स्वास्थ्य कार्यालय कास्कीकी पब्लिक हेल्थ नर्स अधिकृत सम्झना ढुङ्गानाले बताइन् ।

क्याम्प सञ्चालन गर्दाको अनुभव

क्याम्पको समयमा १९ वर्षका लाई पनि आङ खस्ने समस्या भएको पाइयो । बाबा आमाले छोरा पाउने उद्देश्यले वर्षै पिच्छे सन्तान जन्माउँदा ६ वटा छोरी जन्माएका रहेछन् । उनी जेठी छोरी । आमाले वर्षेनी छोराछोरी जन्माएपछि जेठी छोरी भएकाले उनले गाउँघरको ठाउँ काम बेस्सरी गर्नुपर्ने । उनमा पनि आङ खस्ने समस्या देखियो उनको आमालाई भन्दा आमा दङ्ग परिन् । उनलाई रिङ पेसरी लगाइदियौ । दुई वर्ष पछि हामीले राखेको अर्को क्याम्पमा उनी आइन् । उनको दुई वर्ष भित्र कम्प्लिटली हिल भाको थियो ।

३२/३३ वर्षका महिलामा बढी आङ खस्ने समस्या पाइयो । वृद्धाहरुमा धेरै यो समस्या देखा पर्छ । कति वृद्धाहरु पाठेघर खसेको अवस्थामा यत्तिकै झुण्ड्याउँदै हिडेको पनि भेटियो ।
कत्तिले अस्पताल गएर चेक गर्न लाज मानेकाले घरमै आफैले खसेको पाठेघरलाई अड्याएको पाइयो । महिलाहरुले रबरका चुराले, भाडा माँझ्ने तारले खसेको पाठेघरलाई अड्याएको पाइयो । यसले इन्फेकसन हुन्छ । र अन्य रोग लाग्ने खतरा पनि हुन्छ ।

गाउँगाउँका महिलाले पाठेघर खस्ने रोगलाई लुकाएर राखेको पाइन्छ । उनीहरु खुलेर अस्पतालमा जाँच गर्न लाज मान्ने तर शिविरहरुमा भने आउँछन् । अस्पतालमा पाठेघरको समस्या लिएर आउनेहरुले काउन्सिलिङ राम्रो नपाउने र राम्रो हेरचाह नपाउने भएकाले पनि आङ खस्ने समस्याका महिला अस्पताल आउन नचाहेको पाएँ । ५०÷६० उमेरका वृद्ध आमाहरु वर्षौदेखि पाठेघर खसेपनि उपचार नगरेको पाइयो ।

के भन्छ तथ्याङ्क ?

नेपालमा तुलनात्मक रुपमा ३० वर्ष भन्दा कम उमेरकामा यो समस्या हुने गरेको देखिएको छ तर ४०÷४५ उमेर कटेपछि यो समस्याले साह्रै दुःख हुन थालेपछि मात्र महिला उपचारका लागि जाँच गर्न अस्पताल पुग्ने गरेका छन् ।

कास्कीमा २०७३ साल देखिको तथ्याङ्क हेर्ने हो भने पाठेघर खस्ने समस्या घट्दो क्रममा छ । ०७३÷०७४ मा १३ सय ६७ महिला यस समस्याबाट प्रभावित भएको जनस्वास्थ्य कार्यालय गण्डकी प्रदेश कास्कीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या ०७४/०७५ मा बढेर १४ सय ९७ पुगेको थियो तर चालु आर्थिक वर्ष ०७५/०७६ मा भने फेरि घटेको छ । असार मसान्तदेखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने यस आर्थिक वर्षमा ५ सय ४७ जना यस समस्याबाट गुज्रेका छन् ।

पाठेघर खस्नु आफैँमा रोग होइन तर यो ठूलो समस्या हो

डा.गोमा तुलाचन
गाइनोक्लोजिस्ट

सामान्यतया नर्मल ठाउँ भन्दा तल खसेको वा सरेको अवस्थालाई पाठेघर खस्नु भनिन्छ । भ्जाइनल लेन्थ हाफभन्दा तल खसेको अवस्थालाई आङ खस्नु भनिन्छ ।

पेल्भिक अगार्न, पाठेघरलाई समात्ने, सर्पोट गर्ने लिगामेन्ट हुन्छ तिनीहरु कमजोर भएको खण्डमा पाठेघर खस्छ । धेरै महिलाहरुमा त्यो लिगामेन्टहरु कमजोर हुनुको मुख्य कारण भनेको घरमै नर्मल डेलिभरी गर्नु हो । नर्मल डेलिभरीमा पेल्भिक अर्गानहरु ट्रमा हुँदा मसलहरु कमजोरी हुन्छ । पाठेघर विवाहित महिलाको मात्र खस्ने भन्ने हुँदैँन कतिपय जेनेटिक हुन्छ । जेनेटिक हो भने अविवाहित योङ्ग लेडिमा पनि यो समस्या हुन सक्छ । उमेर बढ्दै जाँदा शरीरको हर्मोन पनि कमजोर हुदै जान्छ । यसले गर्दा पाठेघरले ठाउँ छोड्दै जान्छ । पाठेघर खस्ने समस्या ४० कटेका महिलामा बेसी देखिन्छ । योङहरुमा हुने समस्यालाई कन्टिनेन्टल प्रोल्याप्स भनिन्छ ।

पाठेघर खस्ने समस्याको पनि स्टेज हुन्छ । भ्जाइनलको हाफ भन्दा तल झरेको अवस्थालाई फस्र्ट स्टेज भनिन्छ । हाफदेखि मुखसम्म आउनेलाई सेकेन्ड स्टेज भनिन्छ । मुख भन्दा बाहिर निस्केको अवस्थालाई थर्ड स्टेज भनिन्छ भने पाठेघर सबै तल झरेको अवस्थालाई फोर्थ स्टेज भनिन्छ । पाठेघर खस्नु आफैँमा रोग होइन तर यो ठूलो समस्या हो । पाठेघर खस्ने समस्याबाटै ज्यान जाने त हुँदैन तर समयमा यसको उपचार गरेन भने इन्फेक्सनले अन्य रोग लाग्न सक्छ र ज्यान जान सक्छ । त्यसैले यसको चेकजाँच गरिरहनुपर्छ र स्वास्थ्यमा ध्यान दिनुपर्छ । पाठेघर खसेपश्चात अप्रेसन नै वेस्ट अपसन हो । अन्य उपचार भनेको सर्पोट गर्ने मात्र हो ।

पाठेघर खस्नुका कारण

कम उमेरमा विवाह गर्नु, कम उमेरमा बच्चा जन्माउनु, वर्षेनी बच्चा जन्माउनु, बच्चा घरमै जन्माउनु, साल झरेन भनेर बल लगाएर साल निकाल्नु, सुत्केरी अवस्थामा टुक्रुक्क बस्नु, ठुलाठुला लुगा धुनु, गह्रौँ काम गर्नु, गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु, आराम गर्नु जस्ता कारणले पाठेघर खस्ने डा. तुलाचनले बताइन् ।

लक्षणहरु

डा.तुलाचनको अनुसार यस्तो बेलामा बेस्सरी ढाड, हड्डीहरु दुख्ने, बस्दा अप्ठ्यारो हुने, सेतो पानी बग्ने, बेलाबेलामा रगत बग्ने, छिनछिनमा पिसाब लाग्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो बाहिर आए जस्तो हुने गर्दछ ।

उपचार

यसको घरेलु उपचार भनेको सर्वप्रथम सुत्केरी हुँदा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खानेकुरा खानुपर्छ । यो समयमा गह्रौँ काम गर्नुहुँदैन । डा.तुलाचनको अनुसार पाठेघर खस्नुको ४ वटा स्टेज हुन्छ । फस्ट र सेकन्ड डिग्रीको अवस्थामा घरमै व्यायाम गरे पनि पाठेघर खस्ने समस्या कम हुन्छ । प्रजनन स्वास्थ्यसम्बन्धी तालिम पाएका महिलाहरुले सिकाएको व्यायाम गर्न सकिन्छ ।
यस्तै अर्को भनेको रिङ पेसरीको प्रयोग हो यसले पाठेघरलाई पुरानै अवस्थामा फर्काउनका लागि सहयोग गर्छ । योनीमा राखेको रिङ हरेक ३ महिनामा फेर्नुपर्छ । पाठेघर पूरै खसेको अवस्थामा भने पाठेघर काटेर फाल्नु नै उत्तम हो ।

बच्ने उपाय

सानै उमेरमा विवाह नगर्ने, गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गर्ने, चिकित्सकको सल्लाह अनुसार नियमित आइरन चक्की र क्याल्सियम खाने, गर्भवती अवस्थामा भारी सामान नउचाल्ने, गर्भवती अवस्थामा यौन सम्पर्क नगर्ने, सुत्केरी भएको ३ देखि ६ महिनासम्म यौन सम्पर्क नगर्ने,सुत्केरीपछि कम्तीमा पनि ३ देखि ५ महिना आराम गर्ने, पोषणयुक्त खाना खाने, कम्तीमा २ वर्षको अन्तरमा अर्काे बच्चा जन्माउने जस्ता कुरालाई अपनाउन सकेको खण्डमा आङ अर्थात् पाठेघर खस्ने समस्या कम हुनसक्छ । विद्यालयमा पनि पाठेघर सम्बन्धी शिक्षा दिइनुपर्ने डा.तुलाचन सुझाउँछिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...