www.tandavnews.com
Fact ~ In search of truth

वर्षभरि खाने आलु असिना पानीले नष्ट

बागलुङ ।

वर्षभरि खाने आलुबाली असिना पानीले नष्ट गरेपछि बागलुङको जैमिनी नगरपालिका–३ दमेकका किसान चिन्तित छन् ।

मुख्य नगदे बालीका रुपमा दमेकको नौला, दवदवे, रानीबासे, दह देउराली र खर्कलगायत स्थानमा किसानले लगाएको आलुबालीमा गत चैत २९, ३० र वैशाख १ गते परेको असिनापानीले ठूलो क्षति पुर्याएको वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताए ।

आलु र मकै खेतीमात्रै हुने उपल्लो दमेकमा असिना पानीले झण्डै ३५० परिवारको लाखौँ मूल्य बराबरको बालीमा क्षति पुर्याएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए । यहाँको आलु स्वादिष्ट हुने भएकाले किसानले व्यावसायिकरुपमा नै आलु खेती गर्दै आएका थिए ।

“यहाँका समान्य किसानले समेत वर्षमा दशमुरीभन्दा बढी आलु फलाउने गरेका छन्”, वडाध्यक्ष छन्त्यालले भने, “आलुबालीसँगै बारीमा लगाइएको भटमास, सिमी, मकै, बन्दाकोभी, काउलीलगायत तरकारी बालीमा समेत ठूलो क्षति पुर्याएकाले यो वर्ष सबैको रोजीरोटी असिना पानीले खोसेको छ ।”

“आलु र मकैले भरिभराउ हाम्रो बारी मरुभूमिजस्तै भएको छ”, वार्षिक ३० मुरी आलु बिक्री गर्दै आएकी किसान पवित्रा क्षेत्रीले भनिन्, “आलु बेचेर किनेको खाद्यान्नले छाक टार्दै आएका हमीले अब के खानु ।” असिनापानीको क्षतिबारे यकिन भइनसकेको वडा कार्यालयले जनाएको छ ।

जैमिनी नगरपालिकाका उपप्रमुख रानासहितको समूहले प्रभावित क्षेत्रको अनुगमन गरेको र क्षतिको लगत सङ्कलन भइरहेको वडाध्यक्ष छन्त्यालले बताए । आलुबालीमा पुगेको क्षतिका कारण चिन्तामा रहेका किसानलाई नगरपालिकाले उपलब्ध गराउने राहतले मात्रै प्राप्त नहुने भन्दै उक्त नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग समेत राहतका लागि अनुरोध गरेको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.