www.tandavnews.com
Fact ~ In search of truth

संरक्षणको पर्खाइमा तातोपानी कुण्ड

पोखरा ।

विसं २०६९ वैशाख २३ गते शनिबारको दिन ।

सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ्रे गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो । तर विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३० बजेको समयमा आएको बेमौसमी भीषण हिमपहिरोले सेतीमा बाढी आउँदा ६६ जनालाई बगायो । अठार जनाको लास फेला पर्यो भने ४६ जना बेपत्ता भए ।

बाढीले स्वदेश तथा विदेश दुबै तिरको ध्यान खिच्यो । खारपानीकै मात्र १३ घर बगायो । एकाध मिनेटमै सुन्दर बजार बालुवा र ढुङ्गाको बगरमा परिणत भयो भने ऐतिहासिक महत्व बोकेको तातोपानी कुण्डको नामोनिशान रहेन । कास्कीको उत्तरी भेगस्थित एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको प्राकृतिक उपचारको केन्द्र तातोपानी कुण्ड बाढीले बगाएर लोप हुने खतरामा पुगेपछि स्थानीयवासी संरक्षणका लागि जुटे । तर बजेटको अभावमा आशातित उपलब्धि हुन सकेको छैन ।

विभिन्न सामाजिक सङ्घसंस्थाको प्रयासमा बाढी पीडितहरुलाई पुनःबास तथा पुनःस्थापनाको कार्य गरिए पनि प्राकृतिक चिकित्साको रुपमा विकास भई पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गरेको कुण्डको संरक्षण भने हुन सकेको छैन ।

बाढी आएको दुई वर्षसम्म सो स्थानमा तातोपानी ननिकेपछि विसं २०७२ मा स्थानीय बासिन्दाले पहिला पोखरी रहेकै स्थानमा केही मिटर गहिरो खाडल खने र त्यहाँ तातोपानी भेटियो । विगतमा नदीको वारिपारि दुबैतर्फ तातोपानी कुण्ड रहेको र त्यसको व्यवस्थापनका लागि साविक माछापुच्छ्रे गाउँपालिका र सार्दीखोलामा दुई वटा संरक्षण समिति क्रियाशील रहे पनि दिगो रुपमा संरक्षणको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन । संरक्षणमा राज्यका निकायमा ध्यानाकर्षण गरिए पनि चासो नदिइएको भनाइ तातोपानी संरक्षणमा क्रियाशील संस्थाहरुको छ ।

विगतमा ओत लाग्ने प्रतीक्षालय, सार्वजनिक शौचालय र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै कपडा फेर्ने ठाउँलगायतका पूर्वाधार भए पनि हाल पर्यटकका लागि कुनै पनि पूर्वाधार छैन । तातोपानी कुण्डले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएकाले तातोपानीलाई पूर्ववत् अवस्थामा फर्र्काइनु पर्ने माग स्थानीय बासिन्दाको छ ।

यहाँको तातोपानीमा नुहाउनाले जोर्नीको दुखाइ, छालासम्बन्धी घाउ, खटिरा, डण्डीफोर तथा बाथ लगायतका रोगहरु निको हुने विश्वासले देशका विभिन्न भागबाट नागरिकहरु पुग्ने गरेका छन् । नदीको दुबै किनारतर्फ गरी तीन वटा तातोपानीको पोखरी रहेकामा बाढीपछि एकातर्फको दुई वटा उत्खनन गर्दा पानी फेला नपरेर हाल लोप भइसकेकाले पनि साविक माछापुच्छ्रे गाविसतर्फ पर्ने एउटालाई उचित संरक्षण गरिनुपर्ने आवाज उठेको छ ।
देशमा सङ्घीयता कार्यान्वयन भएर तीन तहका सरकार निर्माण भए पनि कसैले पनि तातोपानी कुुण्डको संरक्षणमा ध्यान नदिएकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

पोखराबाट १५ किमीको दूरीमा रहेको यो ठाउँ बसमा एक घण्टाको यात्रापछि पुगिन्छ । गाउँपालिकाकै महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको तातोपानीको संरक्षण नभएकामा चिन्ता व्यक्त गर्दै छिमेकी वडा नं ३ का घाचोकका युवा सुशील जिसीले उत्कृष्ट पर्यटकीय एवं धार्मिक महत्व बोकेको अपूर्व प्राकृतिक सम्पत्ति तातोपानी क्षेत्रको व्यवस्थापनमा अभिभावकको खाँचो रहेको औँल्याए ।

सेती बाढीको दुई वर्षपछि पुनः सोही ठाउँमा तातोपानी निस्कन शुरु भए पनि व्यवस्थित संरक्षण र प्रवद्र्धनमा ध्यान नपुगेको भन्दै जिसीले चिन्ता व्यक्त गरे । सो कुण्डमा अहिले पनि दिनहुँ पर्यटक स्नान गर्न जाने गरेका छन् तर, कुण्ड व्यवस्थित छैन ।

विसं २०७२ मा तातोपानी कुण्डको पुनःनिर्माण गर्ने प्रयास स्वरुप नेपाल पर्यटन बोर्डको रु २४ लाख बजेटमा कुण्डको वरिपरि तटबन्धन गरेर नदीको बहाव रोक्ने प्रयास गरिए पनि बजेट अभावमा रोकिएको काम अहिलेसम्म पनि शुरु गर्न नसकिएको तातोपानी संरक्षण तथा विकास समितिका अध्यक्ष भीमबहादुर गुरुङ बताउछन् ।

“हिउँदमा पोखरी निर्माण गरेर काम चलाउँदै आए पनि बर्खा लागेसँगै पोखरी नदीले बगाउने गरेको छ । संरक्षणका लागि ५० मिटर जति तटबन्धन गरे पनि बजेट नहुँदा बाँकी ५० मिटरमा तटबन्धन गर्न सकिएको छैन,” गुरुङले भने ।

जब सेती नदीमा पानीको मात्रा घट्दै जान्छ, त्यसपछि समितिले तातोपानीको मुहानमा पोखरी बनाउने गरेको छ, उचित संरक्षणको योजना नभएकाले हिउँदमा पोखरी बनाए पनि बर्खा लागे सँगै नदीले डुबाउँछ । तातोपानीको मूलसम्म तटबन्धन गरेर सेतीको बहाव रोक्नुपर्ने र मूलबाट पानी केही मिटरमाथि लगेर पोखरी निर्माण गरी दिगो रुपमा संरक्षण गर्न सके पर्यटकका लागि यो एक उत्कृष्ट गन्तब्य बन्ने निश्चित छ ।

ऐतिहासिक महत्व बोकेको तातोपानी दीर्घकालीन संरक्षणका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने खारपानी संरक्षण समितिका संयोजक बमबहादुर गुरुङ बताउछन् । कुण्डको संरक्षण र खारपानी बजारलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयास स्वरुप राजनीतिक दलका शीर्ष नेतामार्फत अर्थ मन्त्रालयसम्म पनि पहल गरिरहेको गुरुङले बताए ।

गुरुङले भने – “संरक्षणको दिगो योजना बनाएर हामीले एउटा प्रस्ताव तयार गरेर वडामार्फत गाउँपालिका तथा अर्थ मन्त्रालयसम्म पेश गर्ने तयारी गरेका छौँ । पोखराबाट नजीकको दूरीमा रहेको तातोपानी कुण्डको संरक्षण गर्न सके पर्यटन आगमनमा वृद्धि हुनेछ ।” सङ्घ सरकारले सन् २०२० लाई नेपाल भ्रमर्ण वर्ष र प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरिसकेकाले पर्यटकीय गन्तव्यहरु बढाउन पनि तातोपानीको संरक्षण हुनुपर्ने उनी बताउछन् ।

समितिले दिवङ्गत ६६ जनाको स्मरणमा स्तम्भ निर्माण, साविक बजार रहेको स्थानलाई संरक्षण गर्न तारजाली लगाउने तथा मेला महोत्सवलाई लक्ष्य गरेर मञ्च निर्माण गरेको छ । वर्षौंअघि देखि हरेक वर्ष खारपानी बजारमा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने मेला बाढीपछि रोकिएकामा यस वर्षदेखि पुनः मेला शुरु गरिएको छ । मेलाको अवसरमा खारपानी पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पनि तातोपानी कुण्ड र खारपानी बजारको संरक्षणका लागि सरकारको सहयोग रहने विश्वास दिलाएका थिए ।

तातोपानीमा स्नान गर्न आउनेहरु कोही बजारबाट दैनिक ओहोरदोहोर गर्ने गर्छन् भने कतिपय त्यही वरपरका घरहरुमा एक हप्तासम्म बसेर नुहाउने गरेको पाइन्छ । बाढीले बगाउनुअघि स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट समेत गरी दैनिक १५० जनाले कुण्डमा स्नान गर्ने गरेकामा अहिले दैनिक ३० देखि ३५ जना जाने गरेका छन् ।

गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले सेती बाढीमा परेर निधन भएकाहरुको स्मृतिमा स्तम्भ निर्माण गरिएको र त्यसलाई उद्यान बनाउने गुरुयोजना अन्तिम चरणमा पुगेको जानकारी दिए । कुण्डको संरक्षणका लागि चेक ड्याम निर्माण गर्न वर्षेनी तारजालीको लागि बजेट विनियोजन गरी कार्यान्वयन गरिएको छ । वर्षेनी फरक फरक ठाउँमा तातोपानी निस्कने गरेकाले स्थानीय सरकारलाई दिगो संरक्षणको योजना बनाउन कठिनाइ भएको बताइन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...