www.tandavnews.com
Fact ~ In search of truth

सपाउँदेमा सति घाटुको रौनक

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज । 

लोक भाकामा गुञ्जिएका पाका तर सुरिला र सुमधुर स्वरहरु कुनै राष्ट्रिय कलाकारको नभई उमेर पुगेका घाटु गुरुआमाहरुको हो । जस्ले सति घाटुका लागि लोकलयमा गुन्गुनाइरहेका छन् । ति समूहको अगाडि पट्टि क्रमबद्ध रुपमा ढल्कीढल्की नाचिरहेका सात घाटुसरी कुमारीहरु । नजिकै छन् सात घाटुसरीका सातै सुसारे अनि सातै भयाजुहरु । घाटुसरीका पोशाक लगायत छन्द बिग्रेको खण्डमा मिलाइदिने काम गरिदिन्छन् सुसारे । त्यस्तै घाटुसरीका भयाजुहरु उक्त नाचमा प्रयोग हुने सामाग्रीहरु ओसारपोसारमा व्यस्त छन् ।

बिरुवा गाउँपालिका वडा नं ७ सपाउँदेमा हरेक बर्ष तीन दिनसम्म सति घाटुको रौनक हुने गर्छ । बिशेषगरी बैशाख पुर्णिमामा नाचिने सति घाटु स्याङ्जाको सपाउँदेमा भने केही दिन ढिलो हुने गरेको रोशनी युवा क्लबका अध्यक्ष मेखराज गुरुङ बताउँछन् । उनका अनुसार जेठमा साँध पूजा गरेपछि सति घाटु सुरु गरिन्छ । ‘गाउँका सबै परिवारले आ–आफ्नो खलक मिली साँध पूजा गर्ने प्रचलन छ,’ उनी भन्छन्, ‘यसो गर्दा बालीनाली फस्टाउने, रोगव्याधी नलाग्ने र परिवारमा सुख शान्ति छाउने विश्वास रहेको छ । यो पूजा गरेसँगै घाटु नाच्ने गर्छाै ।’

wardno4

उनका अनुसार बैशाख पूर्णिमा पछिको औंशीमा चन्द्रमा देख्ने दिन साँध पूजा गरिन्छ । गुरुङ जातिको बाहुल्यता रहेको सपाउँदे गाउँमा सति घाटु बिगत २ सय ५० बर्ष देखि नाच्दै आएको अग्रजहरुको भनाई छ । प्रबी गुरुङले उक्त गाउँमा सति घाटुको सुरुवात गरेको स्थानीय अग्रज तथा समाजसेवी क्याप्टेन दुद्धबहादुर गुरुङ बताउँछन् । उनी भन्छन्, ‘आर्थर ६ थरमा सति घाटुको प्रचलित छ, हाम्रो संस्कार संस्कृति अनुसार यो घाटु नाच्ने गरिन्छ, राजा पर्शुराम र रानी लिलावतीको प्रसंगलाई लिएर सात घाटुसरीको नाच र गुरुआमाहरुको लोकलयको माध्ययमबाट प्रस्तुत गर्ने गरिन्छ ।’ बिशेषगरी प्रकृतिलाई पूजा गर्ने बोनबादिहरु सति घाटुमार्फत देवी देवता, सिमिभिमी, देउचुली, बर्चुली लगायतलाई बोलाएर पुकार्ने गरिन्छ ।

गुरुङका अनुसार सोमबार देखि सुरु भएको उक्त घाटुमा मुख्य गुरुआमाको रुपमा कुसमाया गुरुङ, सहायक गुरुआमा रुपमा भैसरी गुरुङ, खगी गुरुङ, हिमसरी गुरुङ, जसमती गुरुङ, चौसरी गुरुङ रहेका छन् भने घाटुसरीको रुपमा ज्ञानु गुरुङ, धनमाया गुरुङ, जस्मिन गुरुङ, रिता गुरुङ, अस्मीता गुरुङ, नानुमाया गुरुङ रहेका छन् भने सति र राजाको रुपमा रेखा गुरुङ, रहेका छन् ।

घाटुका प्रकार

घाटु चार प्रकारका हुने गर्छ, स्थान बिशेषले सति घाटु, कुसुण्डा घाटु, बाह्रमासे घाटु र लामा घाटु नाच्ने गरिन्छ । सति घाटु कम मात्रामा नाच्ने गरेको घाटु गुरुआमा कुसमाया गुरुङ बताउँछिन् । उनी बिगत सम्झिदै भन्छिन्, ‘मैले करिब ६० टोलीलाई नचाए होला, अहिले यो उमेरमा समेत नचाउदै छु, यो हाम्रो संस्कृति हो, जोगाउनुपर्छ ।’

गुरुआमाका अनुसार रजस्वला नभएका कुमारीहरुलाई आवश्यक बिजोर संख्यामा नचाईन्छ र तीन बर्षसम्म एक घाटुसरी नाच्नुपर्ने हुन्छ । ‘घाटुसरीहरु, सुसारेहरु, भयाजुहरु र हामीहरु घाटु थाल्न भन्दा पहिलो रातमा दर खान्छौ, त्यसपछि अर्काेदिनसम्म पानी र फलफुलकै भरमा नाच्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले त्यो अवधिमा देवी देवतालाई बोलाएका हुन्छौ त्यसैले चोखो हुनुपर्छ, कतिलाई त भगवान चढ्छ, यदि गीत मादलको छन्द बिग्रियो भने अर्धचेत पनि हुने हुन्छ ।’

Mahanagar add

गुरुआमाका अनुसार गीत मार्फत गाउँ वरपरका देवी देवतालाई बोलाईन्छ, अनि पहिलो र दोस्रो दिन पुकारिन्छ, अन्तिम दिन गाउँको सिमानामा गएर गीत मार्फत बिदा गरिन्छ ।

कसरी नाचिन्छ सति घाटु ?

विशेषतः गुरुङ र मगर जातिमा प्रचलित नाच हो सति घाटु । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाख पूर्णिमा सम्म नाचिने एक शास्त्रीय नाच हो । सति घाटु, कुसुण्डा घाटु, बाह्रमासे घाटु र लामा घाटु गरी चार प्रकारका घाटु हुन्छन् । बिशेषगरी घाटु गुरुङ मगरहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । सति घाटु पछिल्लो समय स्याङ्जा, लम्जुङ, तनहुँ र गोरखाका केही भागमा मात्रै प्रशिद्ध छ । बेमौसममा नाच्न नमिल्ने सटि घाटुको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । बिशेषगरी सति घाटुमा राजा परशुराम र रानी चम्पावतीको कथावस्तु र सतिप्रथामा आधारित रहेको यो घाटु नाच्ने गरिन्छ ।

घाटुमा नाच्नका लागि कन्याहरुलाई घाटुसरीका रुपमा कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम गुरुआमाहरुले जपिरहन्छन् लोक लयमा । देवीले पत्याएपछि घाटुको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।

घाटु नृत्यमा वाद्य र श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । घाटुसरीहरु शिरफुल, लौशा, पटमारा, डुङ्ग्री, कण्ठ, साडी, पटुकी, चोला तथा चापको प्रयोगमा सिगारिन्छन् । ति मध्ये एक घाटुसरीलाई राजा र सतिको रुपमा छुट्याइन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शक समेत भावुक हुने गरेको पाइन्छ । सति घाटुमा गुरुआमाले गीतबाटै मंगलचरण गरि घाटु देवता जगाउने, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन । भने सतिको बिच समयमा दर्शकहरुलाई मनोरञ्जनका लागि जोक्कर निकालेर प्रशंगलाई उल्हासमय बनाइन्छ ।

तेस्रो दिन गाउँको सिमानामा देवल बनाइएको हुन्छ उक्त ठाउँसम्म सबैजना नाच्दै गएर बोलाएका पुकारेका देवी देउदालाई आफ्नै स्थान तर्फ फर्काउनका लागि पूजापाठ गरिन्छ । घाटुसरीको संख्या अनुसार उक्त देवलमा कुखुराको चल्लालाई हातैले चुटालेर भोग दिए पश्चात गितले बिट मारे सँगै सति घााटु त्यो बर्षको लागि सकिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...