www.tandavnews.com
Fact ~ In search of truth

सिलगुडीमा पोखराको पर्यटन चर्चा

सिलगुडी ।

भारतको सिलगुडीमा मङ्गलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे चर्चा भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनको आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मङ्गलबार सिलगुडी पुगेको हो ।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बङ्गलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणाका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए ।समारोहमा वक्ताहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने चर्चा गर्दै यस क्षेत्रको संयुक्त पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न आफूहरू इच्छुक रहेको बताए ।

“पोखरामा हेर्नै पर्ने धेरै पर्यटकीय आकर्षण छन्,” उनले भने, “प्रकृतिका मनोरम दृश्यका साथै साहसिक पर्यटनका विविधता पोखरामा पाउन सकिन्छ ।”नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को पाँच वर्षअघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७ दशमलव शून्य नौ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्याङ्कले देखाउँछ ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् । नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका महासचिव सन्दिपन घोषले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए ।पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अझै बलियो बनाउन आफूहरू प्रतिबद्ध भएको बताउँदै उनले बङ्गाल ट्राभल मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे।

मार्टमा पोखरा पर्यटन परिषद्बाट वर्षेनी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए । “हिजोदेखि शुरु मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग आज व्यापार आदानप्रदान ९विटुवी०को कार्यक्रम समेत राखेका छौं,” उनले थपे, “पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष आदि बारे जानकारी गराउने गरी आज पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ ।”

सिलगुडीको बङ्गाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि भोलिदेखि दुई दिने प्रर्वद्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्देलले जानकारी दिए । पोखराको पर्यटन प्रर्वद्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभिट्टा हुँदै ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलसम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुर्भाग्य भएको बताए ।

“सीमा नाकाबाट विमानस्थलसम्म पुग्ने बाटो पनि नबन्नुले पर्यटकमा नकारात्मक असर पार्दछ, उनले भने,“सीमा क्षेत्रको वातावरणले विदेशी पर्यटकलाई कति प्रभाव पार्ने भन्ने कुराले अत्यन्त महत्व राख्छ, यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।”

काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलमा जाने मार्गमा विगत आठ वर्षदेखि गाडी चलाउँदै आएका झापाका पूर्ण राजवंशीले भारतीय पर्यटकले अव्यवस्थित बाटोप्रति चित्त दुखाउने गरेको बताए । दैनिक ठूलै सङ्ख्यामा भारतीय पर्यटक सीमा नाका हुँदै भद्रपुर विमानस्थलबाट नेपाल भ्रमणमा जाने गरेको उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...