www.tandavnews.com
Fact ~ In search of truth

सुदूरपश्चिम र मध्यपश्चिममा अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व

काठमाडौं।

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

wardno4

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।

‘यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो,’ उनले भने ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए ।

Mahanagar add

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

‘यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ,’ उनले भने ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागलअर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् ।

दूर्वाष्टमी

दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए ।

अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।यो दिनमा सूदुरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...