www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहाल र वाङ्बीच भेटः सदियौँदेखिको सम्बन्धबारे छलफल

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।

होटल मेरियटमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।

भेटपछि उनले सञ्चारकर्मीसँग भने, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।

उहाँहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवद्र्यक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ ।”

भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताए । चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्तद्य पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताए ।

भेटमा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.