www.tandavnews.com
Fact ~ In search of truth

अनाथ बालगृहमा अर्थाभाव

गलेश्वर।
म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि अर्थाभाव भएको छ ।

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न अर्थाभाव भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताए ।

सभापति महतले अनाथ बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथाशक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायलाई आग्रह गरे ।

सङ्गठनले बिहीबार साँझ बेनीमा एक कार्यक्रमको आयोजना गरेर अनाथ बालबालिकाले आश्रय लिँदै आएको बालगृहको थप भवन निर्माणका लागि सहयोग सङ्कलन अभियान शुरु गरिएको जानकारी गराएको हो ।

सङ्गठनका सभापति महतले दुईतले छ कोठे भवन निर्माण गर्न लागिएको बताउँदै भवन निर्माणका लागि ५५ लाख लागत अनुमान गरिएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा बेनी नगरपालिकाले पाँच लाख विनियोजन गरेको भवन निर्माण योजनाका लागि थप ५० लाख जुटाउन विभिन्न दाता, व्यक्ति तथा सहयोगी सङ्घसंस्थाको खोजी गरिएको उनको भनाइ थियो ।

बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी सात बालिकासहित १२ अनाथ बालबालिका आश्रित छन् । बुबाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ ।

विसं २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइई सम्मको अध्ययन गरेको सङ्गठनले जनाएको छ ।

बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.