www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

म्याग्दी

अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ ।

विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो ।
गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० माविमा इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गरिएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घका अध्यक्ष रमन पुनले जानकारी दिए।

Batas

अन्नपूर्णका विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । टेलिटिचिङ शुरु भएपछि विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकबाट पठनपाठनलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए।

विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि र अनुभव आदानप्रदान हुने, कुनै समस्या आएमा तत्कालै छलफलको माध्यमबाट समाधान पनि गर्न सकिने ज्ञानप्रकाश माविका शिक्षक सन्तोष पौडेलले बताए । सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा जडान गरिएको ताररहित इन्टरनेट उपयोग र गाउँपालिकाको सहयोगमा उपकरण खरिद गरेर टेलिटिचिङ शुरु गरिएको हो ।

नाङ्गीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्धार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश, रिमाको आदर्श मावि र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भएको छ ।

इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दिगो र निरन्तरता दिन स्थानीय सर्भर निर्माणको तयारी भएको हिमाञ्चल माविका शिक्षक किसान पुनले बताउनुभयो । सर्भर भएमा इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिने पुनले बताए । ल्याप्टपमा वेभक्याम खोलेर टेलिटिचिङ गर्ने व्यवस्था मिलाइएको छ ।

टेलिटिचिङ सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले रु १० लाख विनियोजन गरेको थियो । अध्यक्ष पुनको सक्रियतामा समुदायस्तरबाट रु पाँच लाख ५० हजार सहयोग जुटाइएको थियो । टेलिटिचिङलाई प्रभावकारी र दिगो बनाउन इन्टरनेट र विद्युत् सेवालाई प्रभावकारी बनाउनुपर्ने ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.