www.tandavnews.com
Fact ~ In search of truth

अपांगलाई सडक असुरक्षित

अपांगलाई सडक असुरक्षित
सन्तोष सुवेदी
गत मंसिरमा पस्र्याङ निवासी सुष्मिता गुरुङ कलेज पढ्नको लागि मालेपाटनको सडक हुँदै तल जाँदै थिइन् । उनलाई आफ्नै भेनाले पछाडिबाट ह्विलचियरमा सहायता गर्दै थिए । सोही समयमा विपरित दिशाबाट तिब्र गतिमा आएको बाइकले उनलाई हान्न पुग्यो । उनी ढलिन् । निधारमा चोट लाग्यो । घटना घटेको नौं महिना पुग्दा पनि उनलाई त्यो घटनाले अझै तर्साउँछ । यहाँका सडक अपांगमैत्री नहुँदा एक्लै हिड्न मुश्किल हुने गरेको उनले सुनाइन् । ‘एक्लै ह्विलचियर गुडाएर हिड्नै सकिँदैन्,’ उनले भनिन ।
उनी मात्र होइन स्वाबलम्बन जीवन पद्धति समाज नेपालका अध्यक्ष हितमान छन्त्याल पनि पोखरामा अपांगका लागि आवश्यक सडकको अभाव भएको देख्छन् । ‘व्यक्तिगत सहयोग बिना एक्लै हिड्न सकिँदैन्,’ उनले भने, ‘सडकको लेवल नमिल्दा हिड्न असहज हुने गरेको छ ।’ उनले यहाँका सरकारी कार्यालय पनि अपांगमैत्री हुन नसक्दा गाह्रो पर्न गएको गुनासो पोखे । ‘सरकारी कार्यालयमा गएर निरन्तर अनुरोध गरेका छौं । केही कार्यालयमा मात्र सुधार आएको छ,’ उनले भने, ‘राज्यबाट पनि अपांगलाई भनेर यथेष्ट सहयोग हुन अझै सकेको छैन् ।’
समाज नेपालको कोषाध्यक्ष अन्जना केसीले आवश्यकता परेको बेला ह्विलचियर पाउन कठिन भएको बताइन् । ‘राजनीतिक पार्टीका नेताहरुले सम्बोधन गरेको पाइदैन् । अर्कै पार्टीले काम गर्न दिएन भन्ने बहानाबाझको राजनीति हट्नुपर्छ,’ उनले भनिन, ‘अपांग भएर पछाडि पार्दा सार्वजानिक ठाउँमा समेत खुलेर बोल्न नसक्ने अवस्था आएको छ ।’ उनले अझै पनि कतिपय ठाउँमा पूर्वजन्मको पाप भन्ने आरोप लगाइएको उनले प्रस्टाइन् । ‘कतिपय ठाउँमा आवश्यक पूर्वाधारले गर्दा जान नसकेको अवस्था छ,’ उनले भनिन, ‘नरोइकन आमाले पनि दूध चुसाउँदिनन् त्यसैले हामी सम्बन्धित ठाउँमा बोलेर अपांगका अधिकार ग्रहण गर्न जान्नुपर्छ ।’ राजनीतिमा पनि अपांगको अधिकार हुनुपर्ने उनले औल्याइन् ।
डिडा नेपालका संस्थापक अध्यक्ष गिरिराज सुवेदीले योजना स्पस्ट हुननसक्दा समस्या भएको बताए । ‘हामीमा धेरै समस्या छन् योजना बन्छन तर स्पस्ट नहुँदा अप्ठ्यारो परेको छ,’ उनले भने, ‘यहाँका अग्ला र साँघुरा फुटपाथमा लडेर थुप्रै अपांग भएका साथीहरुलाइ चोटपटक लागेको छ, व्यवस्थापन हुन आवश्यक छ ।’ पोखराका सडकका फुटपाथ कम्तिमा ३ मिटर चाक्लो हुनुपर्ने उनले प्रस्टाए ।
स्वाबलम्बन जीवन पद्धति समाज नेपालका सल्लाहकार केवलबहादुर गौतमले अपांग क्षेत्रमा पहिलदेखिनै राज्यको नजर नाजुक बनेको बताए । उनले सरकारले बजेटमार्फत सामाजिक भत्ता दोब्बर बढाएपनि त्यसमा अपांगलाई नसमेटिएको गुनासो पोखे । ‘सडकपेटीमा जेब्राक्रस बनाएरजस्तै सेतो छडी अंकित जस्ता सामाग्री बनाउनुपर्छ,’ उनले भने, ‘बाटो, सडकमा हिड्न गाह्रो हुने गरेको छ । कार्यालयमा पनि अपांगमैत्री हुन जरुरी छ ।’ यहाँ बनेका संरचना अपांगमैत्री नहुनु र राज्यप्रदत्त सीमित सुविधा लिन नसक्नु समस्या भएको उनले बताए ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.