www.tandavnews.com
Fact ~ In search of truth

अलपत्र छन् पर्वतका आधा दर्जन यी ठूला योजना

पर्वत।

बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला बन्दीगृह, सदरमुकाम कुश्माबजारमा बसपार्क निर्माण, घुम्ती–खनियाघाट, भुरुङ्दीखोला पुल, ठुलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायतका योजना छन् ।

Batas

त्यसैगरी सदरमुकाम कुशमाबजारमा निर्माणाधीन बसपार्कसमेत लामो समयदेखि अलपत्र अवस्थामा छ । धवलागिरिका चार जिल्लामा आउजाउ गर्ने सयौँका सङ्ख्याका सवारीसाधन पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् । तत्कालीन अवस्थामा एक करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।

त्यसैगरी विसं २०६३ मा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो । निर्माण पूरा भएर एक वर्षसम्म विद्युत् उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ । केन्द्रबाट विद्युत् उत्पादन गर्न बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्री अलपत्र छन् ।

कतिपय मेसिनरी सामग्रीको अब अवशेष मात्र बाँकी रहेका छन् । निर्माणका बेलामा एक करोडको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो ।

यता जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विसं २०५२ मा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । तेइस वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीयवासी झन्डै ४०० बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो । पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो । तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो । करीब एक वर्षसम्म धारामा पानी आयो तर त्यसपछि विस्तारै धारामा पानी आउन छोड्यो ।

अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराको त अवशेष पनि बाँकी छैन । वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाइकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्र्याक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो ।

विसं २०७३ मा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ को असारसम्ममा कालोपत्रसहित सडकको काम सक्ने गरी रु छ करोड ९६ लाख ९० हजार ६३१ मा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधीन पुल झण्डै चार वर्षअघि निर्माण शुरु भए पनि अलपत्र रहेको छ । निर्माण शुरु भएको केही महीनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका थिए ।

छ करोड १३ लाखको लागतमा बन्न लागेको पुल चालू आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.