www.tandavnews.com
Fact ~ In search of truth

आँखिझ्याल बन्दै म्याग्दी घोडेपानीको मगर सङ्ग्रहालय

म्याग्दी ।

संसारकै उत्कृष्ट गन्तव्यस्थलमध्येको एक म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीका आमाहरुले १७ वर्षअघि २०६० सालमा प्रतिव्यक्ति पाँच-पाँच रुपैयाँ संकलन गरी सञ्चालन गरेको मगर सङ्ग्रालय मगर संस्कृति र जीवनशैली बुझ्ने र हेर्नेका लागि आँखिझ्याल बनेको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका महिलाले स्थापना गरी सञ्चालन गरेको सो सङ्ग्रहालयमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ ।

सङ्ग्रहालयमा सङ्ग्रहित जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, कृषि औजार, पुराना सिक्का, रुपैयाँ, भियाङ्गा, सय वर्षअघि प्रयोग गरिएका मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडालगायत मगर जातिले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामग्री सङ्ग्रह गरिएको घोडेपानी मगर सङ्ग्रहालयकी प्रमुख एवम् घोडेपानी आमा समूहकी सदस्य सेउमाया पुनले बताए ।

सङ्ग्रहालयकी प्रमुख पुनका अनुसार सङ्ग्रहालय २०६० सालमा १९ जना सदस्यले पाँच रुपैयाँ उठाएर सामुदायिक भवनको एउटा कोठा भाडामा लिई सङ्ग्रहालय स्थापना गरिएको थियो । सुरुमा घोडेपानीका मगरहरुको घरमा रहेका पुराना केही सामाग्रीहरु सङ्कलन गरी शुरु गरिएको सङ्ग्रहालय पछि विस्तार गरिएको हो ।

म्याग्दीका विभिन्न मगर बस्तीहरुमा पुगेर प्राचीन सामाग्रीहरुको खोजी गरी गाउँगाउँबाट सङ्कलन गरिएका सामग्रीहरु सङ्ग्रहालयमा राखिएको उहाँले जानकारी दिए ।सङ्ग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्युसम्मका दैनिक जीवनमा प्रयोग हुने सामानहरूको संरक्षण गरेर राखिएको छ । मगर समुदायको जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा, सिक्का, खेतीबालीमा प्रयोग हुने औजार सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ ।

आमा समूहका सदस्य पुनका अनुसार आन्तरिक र बाह्य गरी दैनिक १५० जनाको अनुपातमा पर्यटकहरु सङ्ग्रहालयको अवलोकन गर्न आउँछन् ।‘यो सङ्ग्रहालय मगर संस्कृति र जीवनशैली बुझ्ने गण्डकी प्रदेशकै सबैभन्दा पुरानो र महत्वपूर्ण सङ्ग्रहालय हो’, स्थानीय पूर्णबहादुर पुनले भने, ‘यसको संरक्षण र सञ्चालनमा स्थानीय निकाय तथा प्रदेश सरकारले ध्यान दिनु आवश्यक छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.