www.tandavnews.com
Fact ~ In search of truth

आज विश्वकर्मा पूजा

काठमाडौं।

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ ।

वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । यस उपलक्ष्यमा आज वास्तुसम्बन्धी काम गर्ने संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ ।

यसको शुरुवात् विश्वकर्माले नै गरेको शास्त्रीय मान्यता छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.