www.tandavnews.com
Fact ~ In search of truth

आठौँ राष्ट्रिय खेलकूद फागुन मध्यतिर : सदस्य सचिव विष्ट

राँझा ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुन सक्छ भने । अहिलेसम्म आठौँ राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति प्रस्ताव गरिएको छ ।

“आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ ।”, उनले भने, “मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।”

प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुनसक्ने सदस्य सचिव विष्टको भनाइ थियो । “अत्याधुनिक प्रविधिको रङ्गशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ तर, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ ।”,

उनले भने, “सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौंँ ।”सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न आजैदेखि सचिवालय स्थापना गरिएको बताए ।

प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ । परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.