www.tandavnews.com
Fact ~ In search of truth

आपराध रोक्न विश्वसनीय सूचना आवश्यकः गृहमन्त्री थापा

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उनले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिए ।

‘संगठित अपराध, लागूऔषध, मानव वेचबिखन, साइबर क्राइमजस्ता गतिविधि रोक्न सुदृढ र भरपर्दो सूचनाको आवश्यकता हुन्छ, तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यवसायिक इन्टेलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ’, गृहमन्त्री थापाले भने ।

देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले संगठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेका बताए ।

नेपाल सरकाले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सुरक्षा निकायको विशेष भूमिका रहने भन्दै उनले यस्ता प्रशिक्षणले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार तथा प्रतिवद्ध बनाउन मद्दत मिल्ने उल्लेख गरे ।

गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयनका लागि पनि यस्ता प्रशिक्षण जरुरी रहने उनको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना संकलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले तालिमको उद्देश्यबारे प्रष्ट्याएका थिए । पैँतालिस दिनसम्म चलेको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ उपअनुसन्धान निर्देशक र १० प्रमुख अनुसन्धान अधिकृतको सहभागिता थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.