www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै पिताद्वारा बारम्बार बलात्कृत महिलाको दर्दनाक कथा

ताण्डव न्यूज । 

जेनी हेन्स नामक महिलालाई उनका पिता रिचर्ड हेन्सले लामो समयसम्म बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भएपछि अस्ट्रेलिया स्तब्ध भएको छ ।

जेनी बच्ची नै हुँदा पिताले लगातार बलात्कार गरेका र यातना दिएका थिए । अस्ट्रेलिया प्रहरीका अनुसार, देशको इतिहासमा यो सबभन्दा भयानक बाल उत्पीडनको मामिला हो ।

Batas

यस्तो आघात झेल्नका लागि जेनीको दिमागले असाधारण तरिका विकसित गर्नुपरेको थियो । पीडाबाट आफूलाई अलग्याउन उनले नयाँ पहिचान बनाउन शुरू गरिन् ।

उनीमाथिको उत्पीडन भयानक र नियमित भएकाले जेनीले कम्तीमा २५ सय फरक फरक व्यक्तिको पहिचान बनाउनुपरेको बताइन् ।

गत मार्च महिनामा भएको ऐतिहासिक सुनुवाइमा जेनीले पिताविरुद्ध गवाही दिएकी थिइन् । त्यतिखेर उनले आफ्ना व्यक्तित्वहरूको सहायताले आदलतमा प्रमाण प्रस्तुत गरेकी थिइन् । उनका विभिन्न पहिचानमा चार वर्षकी बालिका सिम्फनी पनि थिइन् ।

अस्ट्रेलियामा मात्र नभई संसारमै पहिलोपटक मल्टीपल पर्सनालिटी डिसअर्डर वा डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डरको शिकार महिलाले फरक फरक पहिचानका साथ गवाही दिएको र अभियुक्तलाई सजाय दिइएको छ ।

जेनीले भनिन्, ‘हामीहरू डराएका छैनौं । हामीमाथि उनले के के सम्म गरेका थिए, त्यो बताउनका लागि हामीले लामो समयसम्म प्रतीक्षा गरेका थियौं र उनीहरूले अब हामीलाई चुप लगाउन सक्दैनन् ।’

सेप्टेम्बर ६ मा ७४ वर्षीय रिचर्ड हेन्सलाई सिड्नीको अदालतले ४५ वर्षको जेल सजाय दिइएको छ ।

हेन्सको परिवार लन्डनबाट सन् १९७४ मा अस्ट्रेलिया पुगेका थिए । जेनी चार वर्षकी हुँदा पिताले उत्पीडन गर्न थालेका थिए । सिड्नी पुगेपछि उनले हरेक दिन क्रूरतापूर्वक उत्पीडन गर्थे ।

जेनीले पीडित महिलामाथि पर्ने असरका बारेमा अदालतमा मे महिनामा बताइन्, ‘मेरा पिताले जानीबुझी मेरो उत्पीडन गर्थे । उनी हरेक मिनटको आनन्द उठाउँथे ।’

उत्पीडनकी शिकार महिलाले आफ्नो पहिचान नखुलाउने अधिकार राख्छिन् तर जेनीले पिताको पहिचान उजागर गर्नलाई आफ्नो पहिचान समेत खोलिन् ।

जेनीले भनिन्, ‘मैले उनलाई यो सब बन्द गर्नका लागि प्रार्थना गरेकी थिएँ । म रोएको उनले सुने । उनले मेरा पीडा देखे । मैले अनुभव गरेको आतंक पनि उनले देखे । उनले मेरा रगत देखे । मलाई पुगेको शारीरिक क्षति पनि देखे ।

तर भोलिपल्ट फेरि उनले यो सबै कुकृत्य दोहोर्‍याउँथे ।’

उनले भनिन्, ‘पिताले मेरो दिमाग भुटेका थिए । मेरो दिमाग पनि उनले पढ्न सक्छन् जस्तो लाग्थ्यो । उनले मलाई धम्क्याउँदै उत्पीडनका बारेमा कसैसँग कुरा गरेमा वा सोचेमा आमा, भाइ र बहिनीलाई मारिदिने धम्की दिएका थिए ।’

जेनी थप्छिन्, ‘पिताले मेरो आन्तरिक जीवनमा आक्रमण गरेका थिए । म आफ्नो दिमागमा पनि सुरक्षित अनुभव गर्दिनथिएँ । मलाई त्यतिखेर के भएको थियो भन्ने कुरा पनि म जाँच्न सक्दिनँ र म आफ्नो निष्कर्ष पनि बताउन सक्दिनथिएँ ।’

सेप्टेम्बर ६ मा जेनीका पितालाई ४५ वर्षको सजाय सुनाइएको थियो । त्यसदिन उनी पिताभन्दा केही मिटर पर बसेकी थिइन् । रिचर्ड हेन्सको स्वास्थ्य ठीक छैन तर उनले परोलमा बाहिर निस्कनुअघि कम्तीमा ३३ वर्ष जेल बिताउनुपर्नेछ ।

सजाय सुनाउने न्यायाधीश सारा हग्गेटले हेन्सको मृत्यु जेलभित्रै हुन सक्ने बताएकी छन् । साराले भनिन्, ‘रिचर्डको अपराध गम्भीर रूपमा विकृत र चिन्ताजनक छ । त्यो घृणित र भयानक पनि छ ।’

उनका अनुसार, जेनीले जति हानि बेहोर्नुपरेको थियो त्यसको भरपाई कुनै पनि सजायले हुन असम्भव छ ।

बीबीसीबाट साभार  

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.