www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो जग्गा भन्दै सुकुम्बासी बस्ती हटाउने प्रयास

पोखरा ।

विभिन्न समयमा राज्यले सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्वासीको समस्या जटिल बन्दै गएको छ ।

पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको जग्गाको महत्व बढ्दै गएकाले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिर सहित बस्ती हटाउने प्रयास शुरु गरेका छन् । पोखरा महानगरपालिका–१४ रातमाटे डाँडामा रहेका सुकुम्वासीलाई परिचयपत्र सहित बसोबास क्षेत्रको सुचीकृत गरिएकामा अहिले केही व्यक्तिले आफ्नो जग्गा भएको जिकिर गरेर दुःख दिन थालेकाले उनीहरु यतिखेर समस्यामा परेका छन् ।

सो क्षेत्रमा बसोबास गर्न अनुमति दिइसकेको अवस्थामा केही व्यक्तिले जग्गा ओगट्ने मनसायले आफूहरुलाई त्रस्त बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीले जीवन सुरक्षा तथा गाँसबासको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

विगत २५ वर्षदेखि क्षेत्रमा बसोबास गरेको गरेको आधारमा राज्यले सुकुम्वासी वर्गीकरण गरी हामी ८१ घरपरिवारलाई परिचयपत्र दिएको रातमाटे टोल विकास संस्थाका अध्यक्ष राजु नेपाली बताउछन । उनी भन्छन, “जसले आफ्नो जग्गाको हक भनी जिकिर गरेका छन्, उनीहरुले पनि जग्गाको आवश्यक प्रमाण भने देखाउन नसकेका कारण जग्गा हडप्ने नियत मात्र देखिन्छ।”

पच्चिस वर्षसम्म आफ्नो जग्गा हो भने खोजी गरिएन तर अहिले सङ्क्रमण कालमा जग्गा हडप्नकै निम्ति सुकुम्वासीप्रति अन्याय गरिएको अखिल नेपाल सुकुम्वासी सङ्घका प्रदेश संयोजक अर्जुन मल्ल बताउछन् ।निहित स्वार्थका भरमा केही अराजक जत्थाले बिना आधार र बिना प्रमाण बस्तीमा प्रवेश गर्ने गरी ज्यानै लिन सम्मका धम्की दिने काम भएको सुकुम्वासी सङ्घका जिल्ला अध्यक्ष हर्कमान विकले जानकारी दिए।

रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.