www.tandavnews.com
Fact ~ In search of truth

इन्धन ढुवानी लागत घटाउन १० वर्षे नयाँ रणनीति

काठमाडौँ ।

नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ ।

निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

बजारमा इन्धनको खपत बढ्दै गए पनि निगमसँग इन्धन भण्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा इन्धन अभाव हुने अवस्थाको अन्त्यका लागि पूर्वाधार विकास अत्यावश्यक भइसकेको छ ।

यथास्थितिमा निगम चल्न नसक्ने भएकाले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि संस्थाले प्रक्रिया अगाडि बढाएको छ । विभिन्न चार ठाउँमा जग्गा खरीद गरे पनि यसको निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । निगमले पोखरा र विराटनगरमा रहेका डिपोको स्तरोन्नति गर्ने कार्ययोजना बनाएको पनि पौडेलले बताए ।

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता छ । तर, वार्षिक इन्धन खपत १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारणगृह गरेर ७१ हजार ६२२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । यी स्थलमा पेट्रोल पाँच हजार १८४ किलोलिटर, डिजेल ४२ हजार ४०० र हवाई इन्धन आठ हजार ४०० किलोलिटर भण्डारण क्षमता छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.