www.tandavnews.com
Fact ~ In search of truth

ऊर्जामा थप लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गरेका छन् ।

नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

भेटमा मन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि सरकारले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए ।“नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौँ, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ”, उपमहानिर्देशक ताकामीले भने ।

उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरू इच्छुक रहेको बताए । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.