www.tandavnews.com
Fact ~ In search of truth

एक सेकेण्डमा १६ लिटर बियर, ३८० खिल्ली चुरोट तान्छ पोखरा !

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

त्यसो त सिमित मात्रामा पिउने हो भने मदिरा सेवन गर्नु अनुचित नभएको तथ्य बेला बला सुनिइरहन्छन् । तर, स्वर सम्राट नारायण गोपालले ‘आज भोली हरेक साँझ मातिन थालेछु’ गाए जसरी हरेक दिन पिउने र शिव परियारले ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ गाएजसरी अधिक पिउनेहरुको संख्या पनि उत्तिकै छ ।

हजारौँ बर्षअघिदेखि भिन्न फलफूलका जुस, मह र अनाजको प्रयोग गरेर इथाइल अल्कोहल अर्थात् पिउन योग्य मदिराको प्रयोग हुँदै आइरहेको छ ।

Batas

इजिप्सीयन सभ्यताको विकासक्रमसँगै मदिराको विकास भएको कुरा पनि इतिहासहरुमा उल्लेख छ । ७००० बिसिको सेरोफेरोमा चाइनामा मदिराको प्रयोग भएको जनाइरहँदा भारतमा ३००० देखि २००० बिसीमा चामल उसिनेर ‘सुरा’ बनाउने गरेको तथ्य उल्लेख छ ।

मदिराको प्रयोगमा बृद्धी भएपछि सन् १९२०मा अमेरिकाले कानुन नै निर्माण गरेर बन्द गर्यो । कानुनले बर्जित गरेपछि अवैधानिक रुपमा मदिरा सेवन र बेचविखन ह्वात्तै बढ्यो । अन्ततः १९३३ मा उक्त कानुन फिर्ता लिइएको थियो ।

विश्व बजारको अर्थतन्त्रमा ठूलो हिस्सा राख्ने उपभोग्यमा मदिरा पनि हिट लिस्टमै पर्छ । यसको प्रयोगका लागि भिन्न देशहरुले भिन्न कानुन निर्माण गरेका छन् ।

सन् २०१६को तथ्यांक अनुसार नेपाल एशियाको तेस्रो तल्लो मुलुक हो, जहाँ प्रति वर्ष प्रतिब्यक्ति ७.४ लिटर खपत हुन्छ । सबै भन्दा कम बंगलादेशमा ०.९ र भुटानमा १.९ लिटर प्रतिवर्ष प्रतिब्यक्ति खपत हुन्छ ।

माल्दीभ्समा एक ब्यक्तिले एक वर्षमा सबैभन्दा धेरै ३३.७ लिटर मदिरा पिउने गरेको उल्लेख छ ।

नेपाल इन डाटाले सार्वजनिक गरेको तथ्यांक अनुसार कहिलेकाहीँ मात्रै मदिरा सेवन गर्नेहरुले वर्षमा २ लि. पिउँछन् भने प्रायः पिइरहनेहरुले ७.४ लिटर मदिरा उपभोग गर्छन ।

कति पिउँछ पोखरा ?

लेकसिटी ‘पोखरा’ । लेक (ताल) भएकै कारण विश्वको पर्यटन बजारमा पोखराको नाम जोडिएको हो भन्दा अत्युक्ती नहोला । ‘रिल्याक्स मुडमा’ फेवामा पोतिएको माछापुच्छ«े नियाल्दै मदिराको चुस्की लिन पर्यटक लालायित छन् ।

त्यसकारण, यहाँ पोखरेलीले मात्रै प्रयोग गर्ने भन्दा पनि समग्र पोखरामा कति मदिरा खपत हुन्छ ? यसको तथ्यांक बुझ्ने प्रयास गरेका छौँ ।

मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुङ्गानाका अनुसार विभिन्न ब्राण्डका मासिक ६० देखि ७० हजार कार्टुन बियर खपत हुन्छ । ७० हजार कार्टुनलाई लिएर हिसाब गर्दा दिनको लगभग २४०० कार्टुन हुन आउँछ । लगभगमै हिसाब निकाल्दा एक घण्टामा पोखराले १ सय कार्टुन बियर भ्याउँछ । १ सेकेण्डमा २ कार्टुन पोखराले पिउँछ ।

‘ओल्ड दरबार’ (ह्वीस्की) प्रकारका मदिरा मासिक २५०० कार्टुनसम्म विक्री हुने मदिरा व्यवसायी संघ जनाउँछ । एक दिनको हिसाब गर्दा ८३ कार्टुन विक्री हुने यस मदिरा पोखराले १ घण्टामा ३ कार्टुट पिइसक्छ ।

यस्तै, ‘गोल्डेन ओएक’ (मदिराको नाम) स्तरका मदिरा ६ हजार कार्टुनसम्म खपत हुन्छ । एक दिनमा लगभग २ सय कार्टुन यस प्रकारको मदिरा पोखरामा उपभोग हुन्छ ।

माथि उल्लेखित मदिराहरु नेपाली ब्राण्ड मात्रै हुन् । स्वदेशमै उत्पादीत मदिराकै हाराहारीमा विदेशी मदिराको प्रयोग हुने मदिरा व्यवसायी संघको भनाई छ । पर्यटकले चहलपहल बढी हुने लेकसाइडमा बढी विदेशी ब्राण्डले स्थान पाउँछ ।

(माथी उल्लेखित मदिराका ब्राण्ड, यस्तै प्रकारको हो भनेर बुझाउनका लागि उल्लेख गरिएको हो ।)

कति खिल्ली तान्छ पोखरा ?

मदिरा पिउने पोखराले ‘चुरोट’ पनि उत्तिकै खपत गर्छ । पोखरा चुरोट आयात गर्ने विभिन्न कम्पनी, डिलहरुसँग तथ्यांक बुझ्दा दैनिक करिब ५० लाखको कारोबार हुँदो रहेछ । हामीले बढी बिक्री हुने ‘सूर्य’ कम्पनीको मूल्यलाई आधार मानेर तथ्यांक तयार पारेका छौँ ।

दैनिक ५० लाखको चुरोट तान्नु भनेको २५०० बण्डलको कारोबार गर्नु हो । २५०० बण्डललाई प्याकेटमा हिसाब गर्दा लगभग २५००० हुन आउँछ । यसलाई एक घण्टामा हिसाब गर्ने हो भने लगभग ११ सय प्याकेट चुरोट सकिन्छ । यसरी, एक सेकेण्डमा १९ प्याकेट हुन्छ । यसलाई खिल्लीमा ल्याइपुर्याउँदा ३८० खिल्ली चुरोट पोखरामा उड्छ ।

स्वास्थ्यको दृष्टीकोबाट…

विगतका अनुसन्धानले थोरै परिमाणको मद्यपानले स्वास्थ्यमा हानि नगर्ने देखाए पनि नयाँ अध्ययनले मदिरा सेवन पूर्ण रूपमा असुरक्षित रहेको तथा अशक्तता र मृत्युको जोखिम बढाउने तथ्य सार्वजनिक गरेका छन् ।

१९५ विभिन्न देशहरुमा अनुसन्धान गरि तयार पारिएको जर्नल ‘द ल्यानसेट’का अनुसार सन् २०१६मा विश्वमा २८ लाख मानिसको मृत्यु अल्कोहल अर्थात मदिराकै कारण हुने गरेको छ । विशेषतः १५ देखि ४९ वर्ष उमेर समूहका मानिसको मृत्यु हुने गरेको छ ।

नेपालमा सोही वर्ष लिभर सिरोसिस र कलेजोको दीर्घ रोगका कारण १,३६६ जनाको मृत्यु भएको देखाएको छ । कलेजो सम्बन्धी यस्ता स्वास्थ्य समस्या निम्तिनुमा मदिरा सेवन नै प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त अध्ययनले नेपालमा कलेजो सम्बन्धी रोग बाहेक मदिरा सेवनका कारण सन् २०१६ मा ६९४ जनाको क्यान्सरका कारण मृत्यु भएको देखाएको छ । तीमध्ये १८९ जनाको मुखको क्यान्सर, २११ जनाको घाँटीदेखि माथिल्लो भागको नलीको क्यान्सर, ११० जनाको खाना नलीको क्यान्सर, ८२ जनाको कलेजोको क्यान्सर, ४९ जनाको घाँटीको तल्लो भागको क्यान्सर, ३४ जनाको मलाशय तथा ठूलो आन्द्राको क्यान्सर र १८ जनाको स्तन क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ ।

यस्तै, एक हप्तामा ७ सय ५० मिललिटर रक्सी पिउनु ५ देखि १० खिल्ली चुरोट बराबरको क्यान्सरको जोखिम रहेको एक अध्ययनले देखाएको छ । एक हप्तामा महिलाले दश र पुरुषले ५ खिल्ली चुरोट खाँदा जत्ति जोखिम हुन्छ एक हप्तामा ७ सय ५० मिलिलिटर रक्सी खाँदा क्यान्सरको पनि उत्तिकै जोखिम हुने देखिएको छ ।

रक्सी पिउने अधिकांश मानिसका लागि त्यसको तुलनामा चुराट पिउनु क्यान्सरको जोखिम अत्यधिक हुनसक्ने विशेषज्ञहरुको भनाई छ । यस जोखिमलाई कम गर्न चुरोट सेवन पूर्ण रुपमा छाड्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

मदीराले निम्त्याएका घटना

घटना २०७५ पौषको हो । पोखरा महानगर–२२ भुम्दीभुम्दीका कुशुम पौडेलले श्रेया बिकको बलात्कारपछि हत्या गरे । उनि श्रेयाकै छिमेकि हुन् ।

पौडेल रक्सीलको नशामा घर आउँदै थिए । सोही क्रममा कोदी भन्ने ठाँउमा उनले श्रेया आउँदै गरेको देखे । श्रेयालाई उनले बोलाए । छिमेकीले बोलाएपछि नजाने कुरै भएन् । श्रेया पौडेल नजिक पुगिन् । पौडेलले १० रुपैंया दिए । श्रेया खुशी हँुदै पैसा के लिएकी थिइन् पौडेलले उनलाई च्याप्पै समाते । श्रेया कराउन थालिन् ।

उनको अवाज रोक्न पौडेलले घाँटी थिचे । त्यति गर्दा पनि नभएपछि झाडीमा फालिदिए । झाडीमा बजारिएकी श्रीया बोल्न सकिनन् । त्यही मौका पारेर पौडेलले बलात्कार गरे । त्यसपछि अरुलाई थाहा हुने डरले ढुङ्गाले टाउकोमा हानेर हत्या गरे । त्यसपछि पौडेल घर तिर लागे । अहिले हत्यारा पौडेल आजीवन जेल सजाय भोगिरहेका छन् ।

मादक पदार्थको नशामा पर्वतमा ३ जानाले ०७५ चैतमा आफ्नै साथीको हत्या गरे । मोदी गाउँपालिका वडा नं. ८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद वि.क.को हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।
राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरूबिच झगडा हुँदा २३ वर्षीय दलबहादुर नेपाली, २३ वर्षकै रविन सुनार र २६ वर्षीय कृष्णबहादुर सुनारले गङ्गाप्रसादको हत्या गरेका थिए । चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरूले गङ्गाबहादुरको हत्या गरेर उनको शवलाई नाङ्गो बनाएर फालेका थिए ।

यहि असार ८ गते दार्चुला स्थित नौगाड गाउँपालिका २ सुण्डमुण्डुमा शेरसिंह बडालले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरे ।

अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले आफ्नै घरमा आगो लगाउँदा उनकी श्रीमती ३० वर्षीया विमला बडालको जलेर मृत्यु भएको थियो ।  राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले परिवारसँग झगडा गरेका थिए ।

अल्कोहल इफेक्ट

डा. सरोज पोखरेल

अल्कोहलको लत नै लागेको छ भने सल्लाह अनुसार डोज निर्धारण गरेर विस्तारै घटाउँदै लैजाने हो । पिउँदै नपिउने भन्ने हैन । अहिलेसम्म पिउनु भएकै छैन भने, सुरु नगर्नुहोस् ।

शरिरका हरेक सिस्टममा असर पार्छ । कलेजोमा, पेटमा, पेनक्रियाजमा, रगतमा, मुटुमा, युरिनरी सिस्टममा, ब्लड ग्लुकोज अल्टरेसन, थाइराइड, स्कीनमा असर पार्छ । कलेजोको क्यान्सर, मुख लगायतको क्यान्सरको हुन्छ । मानिसको आयु समेत कम गराउँछ ।

यसको प्रयोगले सुगर , कलेजोमा असर पार्ने त हुन्छ नै । सँगै महत्वपुर्ण समय, परिवार समाजप्रति पनि नराम्रो असर पार्न जान्छ । मदिराको नशामै थुप्रै घटना घटेका उदाहरण हामीमाझ प्रशस्त छन् ।

मदिरा सेवन गरेपछिको २४ घण्टासम्म पनि यसले रगतमा सुगरको मात्रा कम गराउनसक्छ । रगतमा सुगरको मात्रा चाहिने भन्दा कम भएमा मानिसको मृत्युसमेत हुनपुग्छ ।

यहाँ विशेषतः के देखिन्छ भने, कुनै पार्टी होस् वा अकेजन, धेरै पिउने । ‘म दिनदिनै खाँदिन, कहिले काहीँ मात्र हो’ भन्नु गलत हो । कहिलेकाहीँ पिउनेलाई झन् ठूलो समस्या आइपर्न सक्छ । हेपटाइटिस बि र सीको जोखिम त हुन्छ नै कलेजोलाई पनि असर पार्छ ।

मदिराको सेवनले रक्तचाप तथा रगतमा खासगरी खराब कोलेस्टेरोल बढाइदिन्छ । यसले मुटुमा असर गर्छ ।

 

‘नियन्त्रणका लागि खटिइरहेका छौँ’

राजकुमार केसी
प्रवक्ता तथा डिएसपी
जिल्ला प्रहरी कार्यालय कास्की

मदिराका कारण दुर्घटना, हत्या, बलात्कार लगायतका अपराधजन्य क्रियाकलाप हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्न पनि हामी लागिरहेका छौँ ।  विशेषतः घरेलु मदिराको प्रयोग अत्याधिक हुने गरेको पाइन्छ । यसको नियन्त्रणको लागि टोली खटिइरहेको छ ।

कास्कीका विभिन्न स्थानमा सवारी चेकिङ्ग पनि बढाइरहेका छौँ । सवारी दुर्घटनाको मुख्य कारक मध्येको मदिरा सेवन पनि हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.