www.tandavnews.com
Fact ~ In search of truth

एसइइ दिने छात्रालाई सेनेटरी प्याड

पर्वत ।
एसइई परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए ।

चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन् । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ ।

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए ।

सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रुपैयाँ रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्माले जानकारी दिए।

जिल्ला शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै छात्रा विद्यार्थी सङ्ख्याका अनुपातमा परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता जनाएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.