www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

काठमाडौं ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्र्धा गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काँग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले गाउँमा रहेका जनतालाई पूर्वाधार पुर्याउन नसक्दा अधिकांश मानिस पलायन हुँदै गएको भन्दै गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे । गाउँमा रोजगारीको अवसर सिर्जना नगरेसम्म पलायन हुने अवस्था नरोकिने उनको भनाइ थियो ।

सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको नेता पौडेलको भनाइ छ । उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले प्रजातन्त्रका लागि ठूलाठूला क्रान्ति गण्डकी क्षेत्रमा भएको उल्लेख गरे । समाजले प्रजातन्त्रलाई बलियोे बनाउन महत्वपूर्ण भूमिका खेल्न सुझावसमेत दिए । पूर्वमन्त्री रामबहादुर गुरुङले गाउँमा बस्ने वातावरण निर्माण नभएसम्म मुलुक विकास हुन नसक्ने बताए ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले सरकारले गरेका गल्ती कमजोरीलाई जागरण अभियानमार्फत आम जनतामाझ लैजानुपर्ने बेला आएको बताए ।

विसं २०७४ जेठ १३ मा स्थापना भएको समाजले गण्डकी क्षेत्रमा जन्मेर टोखा नगरपालिकाभित्र बसोबास गर्ने प्रजातान्त्रिक आस्था भएका व्यक्तिलाई समेटेर अगाडि बढेको समाजका अध्यक्ष इन्द्रविलास घिमिरेले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.