www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्टको लाल किल्लामा विद्यालाई साथ र आशिर्वाद

पोखरा,
ताण्डव न्युज ।

भोट माग्नको लागि केही नेता र कार्यकर्ता सहित उनी छोरेपाटनको ओरालो झर्छिन् । उनी अर्थात नेपाल कम्युनिष्ट पार्टी कास्की क्षेत्र न २ की उम्मेदवार विद्या भट्टराई । पोखरा–१७ र पोखरा–२१ जोड्ने पुल अघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले माला लगाउदै शिरमा हात राखेर आशिर्वाद दिए ।

‘रविन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौ,’ भावुक भन्दै पहारीले भने, ‘रविन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’

Batas

पोखरा–२१ मा घरदैलो गर्न पुगेकी विद्यालाई जहाँ स्वागत गरियो त्यो पुल उनै नेता रविन्द्रकै पहलमा बनेको भन्दै थिए स्थानीयहरु । रविन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको हरि अधिकारीले सुनाए ।

‘उनी नभएको भए पोखरा–२१ यस्तो हुनेनै थिएन,’ उनले भने, ‘यो ठाउँ कम्युनिष्टले विउ रोपेर मलजल पनि गरेको छ, नत्र यो ठाउँ यस्तो हुनेनै थिएन । यहाँ जति पनि विकास भएको छ, त्यो सबै कम्युनिस्टकै पहलमा भएको हो । विजुली, बाटो, खानेपानीमा सबै कम्युनिस्टकै देन छ । रविन्द्रले यत्तिकै लगातार तीन पटक यस क्षेत्रबाट जितेका होइनन ।’

त्यति मात्र होइन कास्कीमै कम्युनिस्टको लाल किल्ला भनेर पोखरा–२१ लाई चिनिने अधिकारीले बताए । ‘गएको स्थानीय चुनावमा एमाले मात्र हुँदा १ हजार ७ सय २५ मत अन्तरले वडा अध्यक्षले जिते,’ उनले भने, ‘अहिले माओवादी पनि एउटै भएका छन्, यसपटक वडा २१ मात्र ४ हजार मत अन्तर हुन सक्छ ।’

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विद्याले जित हासिल गरेपछि जनचहानालाई शिर उपर गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘मेरो परिवार र पार्टीलेनै दिएको ज्ञान अगालेर जनताकै हितमा जिवन समर्पण गर्नेछु,’ उनले भनिन्, ‘जनता र राष्ट्र भन्दा माथी कोही छैन, जसको निम्ती म कुनै पनि चुनौतीको सामना गर्न तयार छु ।’

उम्मेदवारलाई हौसला प्रदान गर्दै नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद तथा युवा नेता राजिव पहारी, नेकपा पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा–२१ का वडा अध्यक्ष खगराज आचार्य, नेकपा पोखरा–२१ का अध्यक्ष कृष्ण थापा मगर लगायत नेताहरु भोट माग्न हिँडेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.