www.tandavnews.com
Fact ~ In search of truth

करको मारमा च्याङग्रा व्यवसायी र उपभोक्ता

बागलुङ ।

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ ।

गत वर्षको तुलनामा चार हजार बढीका दरले च्याङ्ग्रा खरीद गर्नुपरेको बागलुङका व्यवसायीले बताएका छन् ।च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो ।

Batas

चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए ।“२३ हजार रुपैयाँ मुस्ताङमै पुग्यो ” उनले भने, “गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो ।”

च्याङ्ग्रा खरीदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ । पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरीद गर्न थालेका छन् । केसीले ल्याएका १ सय १ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन् ।

उनी लगायत बागलुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन् । च्याङ्ग्रा बाग्लुङमा ल्याइ पुर्याउँदा व्यवसायीले तीन÷चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन् ।

यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन् । अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताए।

“एकै वर्षमा चार÷पाँच हजार महँगो भयो”, उनले भने, “च्याङ्ग्राको व्यापार जोखिमपूर्ण छ ।” थापाले ७० वटा च्याङ्ग्रा बागलुङ भित्राएका छन । जोमसोम पुगेर ल्याएका च्याङ्ग्रा बेच्दा एक÷दुई हजार नाफा निकाल्न पनि धौ–धौ भएको उनको भनाइ छ ।
व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताए ।

मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् । जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ । प्रतिकिलो १२ सय रुपैँया तिरेर च्याङ्ग्राको मासु किनेको बागलुङ नगरपालिका–४ का गोविन्द्र प्रसाद शर्माले बताए ।

महँगै परे पनि उपभोक्ताले च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन् ।

मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाण्डौँ सम्म पुर्याइन्छ । । पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.