www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारी व्यवस्थापनबारे बेनी नगरपालिकामा बिबाद

संजय रेग्मी,
ताण्डव न्यूज ।

कर्मचारीको व्यवस्थापनको बिषयमा नगरप्रमुख र कार्यपालिकाका सदस्यहरुको बीचमा कुरा नमिल्दा म्याग्दीको बेनी नगरपालिकामा बिबाद उत्पन्न भएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णयका बिषयमा उनीहरुका बिचमा पानी बाराबारको स्थिति पैदा भएको छ ।

Batas

नेकपाबाट बहुमतमा रहेका कार्यपालिकाका सदस्यहरुले शिक्षा, युवा तथा खेलकुद शाखामा तत्कालीन स्रोत व्यक्ति समेत रहनुभएका गलेश्वर मा.वि.का शिक्षक जयराम सुबेदी र पौलत्स्य मा.वि.का शिक्षक मोहन बानियाँलाई व्यवस्थापन गर्ने निर्णय गरेपछि यो बिबाद बाहिर आएको हो ।

कर्मचारीको व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको बेलामा आपसमा कुरा नमिलेपछि काँग्रेसबाट निर्वाचित नगरप्रमुख श्रेष्ठले बैठक नै स्थगित गरेर बाहिरिएका थिए । जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत जाहेर गर्दै निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिए । तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुमतको निर्णयलाई मान्यता दिन दिएको रायको आधारमा सुवेदी र बानियालाई शाखाको जिम्मेवारीका लागि नियुक्ति दिइएको थियो ।

यसबीचमा, नगरप्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा समेत १८ जनालाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गर्दै इजलासमा रिट दायर गरेपछि उच्च अदालत पोखराको बागलुङ इजलासले शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । २०७६ असार १२ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै सो अवधि सम्मलाई २०७६ जेठ ३ गतेको कायर्यपालिकाको बैठकमा बहुमतको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश गरेको छ ।

नगरप्रमुख र कार्यपालिका सदस्यहरुबीचको बिवादले नगरपालिकाका अन्य कामहरु पनि प्रभावित भएका छन् । नियमित बैठक, आगामी आर्थिक वर्षको योजना तथा बजेट, कामकारबाही लगायतका अन्य विषयमा असर परेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन । राजनीतिक प्रतिष्ठाको रूपमा जनप्रतिनिधिहरूको विवाद बढ्दै जाँदा नगरपालिका अस्तव्यस्त भएको र काम गर्ने वातावरण नभएको कर्मचारीहरुको गुनासो छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.