www.tandavnews.com
Fact ~ In search of truth

कल्याणकारी कोषमार्फत तनहुँका बिरामी शिक्षकलाई राहत

तनहुँ ।

विभिन्न रोगबाट पीडित तनहुँ जिल्लाका शिक्षकलाई कल्याणकारी कोषमार्फत राहत प्रदान गरिएको छ । मिर्गौला र मुटुरोगबाट पीडित दुई शिक्षक, एक सहायक कर्मचारी र अज्ञात समूहको आक्रमणबाट घाइते एक शिक्षकलाई कल्याणकारी कोषमार्फत राहत रकम प्रदान गरिएको हो ।

दुवै मिर्गौला फेल भई उपचाररत कुलज्योति आधारभूत विद्यालयका शिक्षक रामलाल श्रेष्ठ, मुटुरोगबाट पीडित वाराही माध्यमिक विद्यालयका शिक्षिका शुभद्रा न्यौपाने र दुवै मिर्गौला फेल भएर उपचाररत मिन माध्यमिक विद्यालयका सहायक कर्मचारी सोमनारायण श्रेष्ठलाई जनही ५२ हजारका दरले राहत रकम प्रदान गरिएको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष कमलभक्त पोखरेलले जानकारी दिए ।

साथै अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका सहवीर आधारभूत विद्यालयका शिक्षक गमबहादुर थापालाई १५ हजार राहत रकम प्रदान गरिएको छ । ‘अरुलाई सहयोग गर्र्यौं पटक–पटक आफैँलाई सहयोग जुटाऔँ यसपटक’ भन्ने उद्देश्यसहित दुई वर्षअघि कल्याणकारी कोष स्थापना भएको थियो ।

कल्याणकारी कोषमा जिल्लाका शिक्षकले प्रतिदिन एकका दरले रकम जम्मा गरेका छन् । सोही कोषबाट मिर्गौलापीडित, अर्बुद रोगपीडित, प्यारालाइसिसलगायतका रोगबाट पीडित भएका शिक्षकलाई ५२ हजारका दरले राहत रकम प्रदान गर्ने गरिएको सङ्घका अध्यक्ष पोखरेलले बताए ।

कल्याणकारी कोषमार्फत अर्बुद रोगपीडित भीमाद नगरपालिकास्थित दीपक माध्यमिक विद्यालयका विश्वराज गैह्रे, मिर्गौला रोगबाट पीडित म्याग्दे गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयका विनोददत्त खनाल, प्यारालाइसिस पीडित व्यास नगरपालिकास्थित शिवपञ्चायन आधारभूत विद्यालयका हेमलाल घिमिरेलाई यसअघि नै ५२ हजार प्रदान गरिएको थियो ।

शिक्षकको हकहित र पेशागत सुरक्षाका लागि स्थापना गरिएको कल्याणकारी कोषमा जिल्लाका शिक्षकले एक दिनको रु एकका दरले वार्षिक ३६५ जम्मा गरिरहेका छन् । कल्याणकारी कोषमा रकम जम्मा गरिसकेपछि रकम जम्मा गरेको व्यक्ति र निजको परिवारले सुविधा पाउन सक्नेछन् ।

कुनै शिक्षक र तिनका परिवारको मृत्यु भएमा, अर्बुद रोग, मिर्गौला फेल र मुटुको समस्या भएको खण्डमा उक्त कोषबाट ५२ हजार सहयोग हुनेछ । दश वर्षसम्म कोषमा रकम जम्मा गरेका शिक्षकले अवकाश लिनुपरेमा जम्मा गरेको रकम फिर्ता पाउनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.