www.tandavnews.com
Fact ~ In search of truth

कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर ?

तीर्थ भटृराई
गमगढी (मुगु) ।

एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो ।

छायाँनाथ रारा नगरपालिका पहिलेको कर्णाली अञ्चल र हाल कर्णाली प्रदेशमा पर्ने अति दुर्गम तथा विकासमा पछिपरेको मुगु जिल्लामा पर्दछ, तर यसै नगरपालिकाभित्र रहेको राराताल भने पर्यटकीय क्षेत्रमा नेपालको मात्र नभई विश्वकै लागि एउटा हिराको टुक्राजस्तै रहेको छ र यसले कर्णाली प्रदेशको मात्र नभई देशकै समुन्नतिमा बल पु¥याउने अपार सम्भावना बोकेको छ ।

Batas

पश्चिमी नेपालको उत्तरी हिमाली क्षेत्रमा पर्ने रारा ताल विसं २०२० मा राजा महेन्द्रले भ्रमण गरेर ‘रारा कि अप्सरा’ भन्ने कविता लेखी रारा तालको वर्णन गरेपछि जिल्ला पञ्चायतले पनि यसको नाम पनि महेन्द्रताल घोषणा गरेपछि यसको देशभर चर्चा परिचर्चा शुरु भएको थियो ।

यो ताल २९८० मिटर उचाइमा पहाडहरुको काखमा वरिपरी जङ्गलले घेरिएको र अत्यन्त कञ्चन पानी भएको ताल हो । जति हे¥यो उति हेरिरहँु जस्तो लाग्ने यो ताल रारा राष्ट्रिय निकुन्जअन्तर्गत रहेकाले हालसम्म अप्रदूषित नै रहन सफल भएको छ । यस ताललाई देखेर मन्त्रमुग्ध हुनेको त कुरै छाडौँ, तस्वीर, टेलिभिजन, वृत्तचित्र आदिमा हेर्ने सौभाग्य पाउने जो कोही पनि जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य ठान्दछन् । यसको सुन्दरताको आकर्षणले युरोपेली देशका पर्यटक पनि यहाँको भ्रमणमा आउने गरेका छन् ।

यस्तो गरिमामय प्राकृतिक सम्पदा भएको मुगु जिल्ला भने आर्थिक तथा भौतिक प्रगतिको हकमा भने निकै पिछडिएको छ । मुगु जिल्लाको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार ५५,२८६ रहेको छ भने साक्षरता प्रतिशत ५१ रहेको छ । यहाँको जनजीवन अत्यन्त कष्टकर भएकाले शिक्षा, स्वास्थ्यको अभाव भई सरदर आयू ३९ वर्ष मात्र रहेको छ ।

भौगोलिक तथा भौतिक प्रगतिमा पिछडिनु त छँदैछ, त्यसमाथि यस जिल्लाले भोग्नुपरेको अर्को विकृति वा कुसंस्कार रहेछ, अत्यधिक मदिरापान । ज्यादै चिसो हावापानी तथा हिउँ नै पर्ने भएकाले र जातीगतरुपमा केही मदिरापान स्वाभाविक भएपनि विकृतिको रुपमा जहिले पनि र जहाँ पनि मदिरापान हुने भएकाले यहाँका परिवार पीडित हुने रहेछन् ।

घरमूलिले मदिरापान गरी आफ्नो आम्दानी त्यसैमा स्वाहा पार्ने त छँदैछ, त्यसमाथि पुरुषले मदिरापानको नसामा पत्नि तथा छोराछोरीहरुलाई पिट्ने, अंगभंग हुने र मृत्युसम्म हुने घटना बढ्दै गएका रहेछन् । मदिराकै कारण चाँडै क्यान्सर जस्ता रोग लागी अकालमा मृत्यु हुने घटना पनि यहाँ धेरै हुने रहेछन् ।

यहाँ विवाहपछि एक÷दुई वर्ष दाम्पत्य जीवन सुखमय हुने तर तुरुन्तै मदिरापानका कारण पारिवारिक मनमुटाव बढ्दै गएर छोडपत्र हुने तथा बहुविवाह हुने घटना धेरै हुने रहेछन् । सामान्यतया कसैको पनि घरमा पारिवारिक शान्ति नहुने गरेको पाइयो ।

यस्ता घटनाबाट आजित भएर नै सङ्घीयता लागू भएपछि बनेको यहाँको स्थानीय सरकार वा छायाँनाथ रारा नगरपालिकाले यो विकृति सदाका लागि हटाउनु आवश्यक ठानेको रहेछ ।

यसै क्रममा नगरपालिकाको सभाले २०७४ असारमा नगरलाई मदिरामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले कार्यविधि बनाई लागू गर्ने निर्णय गरेको र २०७५ साउन ३२ को नगरपालिकाको राजपत्रमा प्रकाशित भइसकेको तथा २०७५ असोज २ गतेको सर्वपक्षीय, सर्वदलीय भेलाले यसलाई कार्ययोजना बनाई कडाइका साथ लागू गर्ने निर्णय गरेकोमा २०७५ मंसिर १ गतेदेखि लागू हुने गरी सोही दिन नगरपालिका क्षेत्रलाई देशकै पहिलो मदिरामुक्त क्षेत्र घोषणा गरियो ।

कर्णाली प्रदेश (प्रदेश नं ६) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंसिर १ गते मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रमको उद्घाटन गर्नुका साथै सो दिन नगरपालिकाद्वारा तयार गरिएको प्रतिवद्घतापत्र वाचन गर्नुभयो भने उपस्थित जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न सङ्घसंस्थाबाट उपस्थित अतिथिले सो प्रतिबद्घता वाचनमा साथ दिँदै सामूहिक रूपमा प्रतिबद्घतापत्र लेखिएको व्यानरमा हस्ताक्षर गरी प्रतिवद्घता व्यक्त गरे ।

प्रतिबद्घतापत्रमा नगरक्षेत्रभित्र कसैले पनि मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण, सेवन र ओसारपसार नगर्ने, नगराउने उल्लेख छ । प्रतिबद्घतापत्रमा समारोहमा उपस्थित मुख्य अतिथि, विशेष अतिथि तथा अन्य अतिथि गरी २२ जनाले हस्ताक्षर गर्नुभएको थियो ।

घोषणासभामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका जनतालाई बाहिरका मानिसहरुले वोल्न पनि नजान्ने, खान पनि नजान्ने र लाउन पनि नजान्ने ठान्दछन् तर आज यस प्रदेशको यस नगरपालिकाले देशलाई नै एउटा सकारात्मक सन्देश दिन लागेको बताए ।

उहाँले कर्णाली प्रदेशमा जनताको आफ्नो सरकार बनिसकेकाले यस क्षेत्रका समस्या सम्बोधन गर्ने गरी काम थालिसकेको र मुख्य सरोकारका योजनाहरुमा बजेटको कमी नहुने बताए । उनले प्रदेशलाई नै समृद्घ बनाउने उद्देश्यअनुरुप कालीकोटको नाग्मदेखि मुगुको उत्तरी सिमानाका नाक्चे नाङ्ग्लासम्मको सडक तुरुन्तै बनाउने गरी एडिबीसँग ऋणका लागि कुराकानी भइरहेको बताए ।

उनले मदिरापान जस्तो विकृतिले हाम्रो आर्थिक अवस्था, शिक्षा आदिमा असर पारेकाले अब यसलाई निषेध गरी विकास निर्माण र शिक्षा स्वास्थ्यको विकासमा लाग्नुपर्ने आवश्यकता भएको बताउँदै नगरपालिकाले मदिरामुक्त क्षेत्र घोषणा गर्न लागेकोमा नगरपालिकालाई धन्यवाद दिए ।

मुगु जिल्लाका सांसद गोपालबहादुर बमले जिल्लालाई सुसंस्कारयुक्त र समुन्नत बनाउन यस्तो घोषणा आवश्यक भएकोले यो घोषणा गर्न लागेकोमा नगरपालिकालाई धन्यवाद दिए ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समाजमा मदिरापानले विकृति ल्याउने बताउँदै मदिरामुक्त घोषणालाई कडाइका साथ कार्यान्वयन गर्न प्रहरी प्रशासनले सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाहीले मुगु जिल्ला दुर्गम हुनुका साथै विकासमा पनि पछि परेको स्थितिमा यहाँका जनतामा रहेको मदिरापान गर्ने संस्कारले समाजमा विकराल समस्या पैदा गरेको बताउनुहुँदै यस्तो स्थितिमा देशलाई नै सन्देश दिने गरी मदिरामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बताए ।

उनले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि, २०७५ लागू गर्न सहयोग गर्न प्रहरी प्रशासन तथा प्रदेश सरकारलाई अनुरोध पनि गरे । आफ्नो तर्फबाट घोषणालाई पूर्णरुपमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने उद्घोष पनि उनले गरे ।

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको बताउनुभयो भने नगरपालिकाको तुम गाउँका स्थानीय केशर रावलले रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको उल्लेख गर्नुहुँदै आफूले अब उप्रान्त मदिरा सेवन नगर्ने घोषणा गरे । पत्रकार महासङ्घका जिल्ला सभापति नृपेन्द्र मल्ल, विभिन्न जनप्रतिनिधि तथा संस्थाका प्रतिनिधिले यस घोषणालाई आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

मदिराबाट पीडित भएकी नगरपालिकाको वडा नं १, श्रीनगरकी एक महिला नन्दकला मल्लले आफू १८ वर्षमा विवाह गरी पतिले मदिरासेवन गरेकै कारण कलेजोको क्यान्सर भएर उहाँको १० वर्षमै मृत्यु भएको बताउँदै त्यसपछि आफ्ना चार छोराछोरी हुर्काउन ठूलो सङ्घर्ष गर्नुपरेको बताए ।

रासससँग कुरा गर्दै पूर्व प्रधानाध्यापक देवीकृष्ण रावलले यस जिल्लामा मदिरापानले जनताको आर्थिक स्थितिमा असर पार्नुका साथै शिक्षा, स्वास्थ्यमा पनि असर पारेको र कम उमेरमै क्यान्सरजस्ता ठूला रोग लागेर मृत्यु हुनेको सङ्ख्या धेरै हुन लागेकाले यस्तो घोषणा आवश्यक भएको र यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

पूर्वकर्मचारी राजबहादुर शाहले यहाँका जनतामा १५ वर्षमा विवाह गर्ने, १६ बर्षमा बच्चा पाउने र १७ बर्षमा छोडपत्र हुने र वहुविवाहका घटना बढ्ने गरेको र रक्सीका कारण नवविवाहितको सम्बन्ध १÷२ बर्ष मात्र राम्रो हुने र त्यसपछि भने पारिवारिक सम्बन्ध तनावग्रस्त हुने र महिला तथा बालवालिका शिक्षा, स्वास्थ्यबाट बञ्चित भई प्रताडित हुनुपरेको बताए ।

घोषणासभामा केही वक्ताले आफू विगतमा हेर्दा सम्मानित देखिए पनि मानिसले जँड्याहाको रुपमा चिन्ने गरेको स्वीकार्दै अब उप्रान्त मदिरा सेवन नगर्ने प्रतिबद्घता गरेका थिए भने बिक्री वितरणको इजाजत प्राप्त केही व्यापारीले इजाजत नगरपालिकालाई नै फिर्ता गरेका थिए ।

केही मानिसहरुले यस्तो घोषणाले रारा जस्तो पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई असर पार्ने र विदेशी पर्यटकमा कमी आउने आशङ्का व्यक्त गरे पनि स्थानीयले भने पर्यटकको संख्या भन्दा जिल्लाका जनताको सभ्यता, स्वास्थ्य र समृद्घि ठूलो कुरा भएको धारणा राखेका छन् ।

यस घोषणाबाट मदिरापानका बोतलबाट हुने प्रदूषणबाट पनि रारालगायतका क्षेत्र मुक्त हुने र राराको सौन्दर्यमा बढोत्तरी नै आउने अपेक्षा गरिएको छ ।

यसरी सङ्घीयता लागू भएपछि स्थानीय सरकार तथा नगरपालिकाको इच्छाशक्ति भएमा देशलाई नै एउटा सकारात्मक सन्देश दिन सकिन्छ भन्ने कुरा एउटा अत्यन्त दुर्गम स्थानको छायाँनाथ रारा नगरपालिकाले पुष्टी गरेको छ भने नेपालकै पहिलो मदिरामुक्त क्षेत्र बन्न सफल भएको छ । यस घोषणाको कार्यविधि नगरपालिकाको गत साउन ३२ गतेको राजपत्रमा प्रकाशित भइसकेकामा सोही कार्यक्रममा सांसद बमले सो राजपत्र सार्वजनिक गरेका थिए । राजपत्रमा नगरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले फोहरमैला व्यवस्थापन कार्यविधि,२०७५ पनि प्रकाशित गरिएको छ ।

कार्यविधिअनुसार मदिरा सेवन गरी होहल्ला तथा झैझगडा गर्ने व्यक्तिलाई पहिलोपटक रु दुई हजार जरिवाना गरिनेछ भने सो कसुर दोहो¥याएमा पटकैपिच्छे रु पाँच हजारका दरले बढदै जाने प्रावधान छ । बिक्री वितरण, ओसारपसार र उत्पादन गर्नेलाई पहिलो पटक रु ५० हजार र सोही कसूर दोहो¥याएमा पटकैपिच्छे रु ५० हजारका दरले बढ्दै जाने प्रावधान छ ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले मदिरा सेवन गरी होहल्ला गरेमा त्यस्ता व्यक्तिलाई सर्वसाधारणलाई गर्ने सजायको दोब्बर सजाय हुनेछ । यो घोषणा कार्यान्वयन गराउन नगरप्रमुखको संयोजकत्वमा एउटा सात सदस्यीय मदिरा नियन्त्रण, व्यवस्थापन तथा उन्मूलन समिति गठन गरिएको छ । समितिमा नगरउपप्रमुख तथा एक महिलासहित चार सदस्य र नगरका प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहनेछन् ।

सो घोषणापछिको कार्यान्वयनको अवस्था अत्यन्त उत्साहजनक रहेको, नगरका बासिन्दाको दिनचर्या र क्रियाकलापमा स्पष्ट सुधार देखिएको, व्यापारीवर्ग सहयोगी देखिएको र महिला तथा बालबालिका पनि खुशी देखिएकाले यसमा सफल भएरै छाड्ने नगरका प्रमुख शाहीले रासससँगको कुराकानीमा बताए ।

यो घोषणा गर्ने नगरप्रमुख शाहीलगायत जनप्रतिनिधिको प्रयास अन्ततः सफल भएको छ । यसलाई कडाइका साथ लागू गर्न स्थानीय प्रहरी प्रशासनको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा दुईमत छैन । यस घोषणाले छायाँनाथ राराको सभ्यता, संस्कृति र सम्पदा संरक्षणमा बल पु¥याई जिल्लाकै समृद्घिमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.