www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको आरोप : सरकार सांसदप्रति उत्तरदायी भएन

 

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै काङ्ग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिएका थिए । सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गरे ।

यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएकोप्रति गुनासो गर्दै उनले सरकार सांसदप्रति उत्तरदायी नभएको टिप्पणी गरे ।सांसद खाँणले भने, “सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न, हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने आग्रह छ ।”

प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ नदिए बैठक अवरोध गर्ने उनले ध्यानाकर्षण गराए । सांसद खाँणको भनाइप्रति सभामुख महराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जवाफ दिन निर्देशन दिए ।

सो लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख महराले राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए ।

सांसद कर्णले तराई मधेशमा भएका आन्दोलनमा मानवाधिकार हननका घटना भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराए । उनले समितिले तीन हजार २ सय ६४ उजुरी सङ्कलन गरी छानबिन गर्नुका साथै प्रतिवेदन तयार गरी सरकारलाई बुझाए पनि हालसम्म सार्वजनिक नभएको सम्बन्धमा आपत्ति प्रकट गरे ।

सांसद कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सभामुख महराले सोबारेमा सरकारको विशेष ध्यानाकर्षण गराएका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.