www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीलाई कारवाही माग

सोलुखुम्बु ।

पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए ।

पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो । सोलु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएको हो ।

वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढङ्गले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ ।

निरन्तर पार्टी विपरीतका कार्य गरेको भन्दै कारवाहीका लागि माग गरिएको छ । पार्टीमा चरम गुटबन्दी भएका कारण सोलुखुम्बुमा काङ्ग्रेस कमजोर हुन पुगेको निवेदनमा उल्लेख गरिएको छ । सोलुखुम्बुमा विगतदेखिनै केसी र अर्का नेता आङ्गेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ ।

केसी रामचन्द्र पौडेल पक्षधर र शेर्पा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् । एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको काँग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ । जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधान अनुसारनै चलिरहेको कही कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.