www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं स्वयम्भू नजिक गोली चल्यो, अपहरणको धम्की दिने २ पक्राउ

काठमाडौं ।

काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजीकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो । घटना आज दिउँसो १२ः१० बजे भएको थियो ।

पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरुले लिखु हाइड्रो पावरबाट २० लाख, विभिन्न ठेकेदारबाट २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरुले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरु लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.