www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी नदी डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा

रामपुर ।

कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ ।

कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा.कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए ।

Batas

हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा .चालिसेले बताए ।

कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिंचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ ।

कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करीब एक करोड बेलपत्र चढाइएको थियो । नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए ।

गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताए ।

नगरप्रमुख थापाले नदी डाइभर्सनले यसक्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिए ।

रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

कालीनदीको केही भाग पानीमात्रै तराईमा सिंचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गरे ।

उनले कालीनदी वारिपारिका जमीन सिंचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पु¥याउने योजना ल्याउनुपर्ने बताए ।

सांसद रानाले कालीनदी डाइभर्सन हुँदामात्र होइन, अहिलेदेखि नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गरे ।

कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.