www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी प्रसारण करिडोरको वैकल्पिक मार्गबारे अध्ययन

बेनी ।

कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो ।

आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

Batas

पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्षरूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प दिइएको उनले जानकारी दिए ।

अध्ययन टोलीका सदस्यसमेत रहेका वडाध्यक्ष बरुवालका अनुसार प्रस्ताव गरिएको नयाँ वैकल्पिक मार्गबारे प्राविधिक अध्ययन गरी उपयुक्त देखिए अहिले प्रसारण लाइनको प्रस्तावित टावरलाई स्थानान्तरण गरी निर्माण गर्न आयोजना र स्थानीयवासीबीच सहमति भएको छ ।

प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रजिअ ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैंक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफल भएको थियो ।

सो छलफलमा स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमति भएअनुसारको अध्ययनको काम शुरु भएको प्रजिअ ढकालले बताए ।

नयाँ वैकल्पिक मार्गको अध्ययन गरी टावर ४१ ‘ए’ देखि ४३ सम्मको मार्गमा वैकल्पिक अथवा प्रस्तावित कुन मार्ग उपयुक्त हुने भन्ने निक्र्योल हुने बताइएको छ । अध्ययनको निचोडअनुसार नै विवादित बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयवासीबीच सहमती भएको हो ।

म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन यस क्षेत्रको जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयवासीको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको छ ।

सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर र सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिएको भए पनि ढिलाइ र स्थानीयवासीको विवादले निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये १०३ टावर निर्माण भइसकेको छ ।

टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा छ र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण शुरु हुन नसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

प्रसारण लाइनले पोखरेबगरमा स्थानीयवासीको घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि यस क्षेत्रका स्थानीयवासीले नक्सा परिवर्तन गरी बस्तीलाई जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन् । स्थानीयवासीले भनेबमोजिम टावरको नक्सा परिवर्तन गर्ने मागमा सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन एक वर्षअघि नै सक्ने लक्ष्य थियो ।

पहिलोपटक छ महीना र दोस्रो पटक तीन महीनाको म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्णरूपमा निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.