www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका नयाँ सिडिओलाई पत्रकारका दुई प्रश्न ?

पोखरा
ताण्डव न्यूज ।
कास्कीमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् । उनी आएको एक हप्ता पनि भएको छैन । विभिन्न क्षेत्रका ब्यक्ति तथा संघसंस्थाहरुले उनलाई कास्कीमा स्वागत गरिरहेका छन् । केहि स्वार्थका समुहरुले पनि नयाँ प्रमुख जिल्ला अधिकारी रमेककुमार केसीलाई स्वागत गरिरहेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालयकै आग्रहमा कास्कीमा क्रियाशिल सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारीबीच चिनापरिचय गर्ने कार्यक्रम थियो । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सबैलाई स्वागत गरेपछि सबैले आफ्नो आफ्नो परिचय दिए । अनि पत्रकारहरुले जम्मा दुई वटा विषयमा रहेर प्रजिअलाई र प्रजिअसँगै रहेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीलाई जिज्ञासा राखे ।

प्रश्न नम्बर १) पत्रकार ओम हमालको हातमा हत्कडी किन ?

Batas

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रजिअलाई पोखरामा स्वागत गर्दै प्रश्न गरे । उनले प्रजिअ र एसपीलाई एकैसाथ प्रश्ने गरे,‘तपाईँसँग अहिले हामी परिचय कार्यक्रममा बसिरहँदा पत्रकार महासंघ कास्कीको साधारण सदस्य समेत रहेको सक्रिय पत्रकारको हातमा हतकडी लागेको छ । हामी उनी एक सक्रिय पत्रकार हो भनेर मान्छौँ र हुन पनि । नत्र, प्रहरीले, प्रशासनले ओम हमाल यो÷यो कारणले पत्रकार हैन भनिदिनु प¥यो ।’

अध्यक्ष श्रेष्ठले पत्रकारीता बाहेक ओम हमालले संगठित रुपमा के गर्नै नहुने काम गरेको रहेछन् भन्नेबारे भन्नुपर्ने बताए ।उनको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी केसीले कानुन भन्दा माथी कोहि नरहेको र कानुनकै कार्यान्वयनमा लागेको फितलो तर्क दिए ।

‘कानुन भन्दा माथी कोही हुँदैन । हामी त्यसको कार्यान्वयनमा मात्रै लागेका हौँ,’ उनले । यसमैमा थप्दै एसपी दानबहादुर कार्कीले भने ओम हमालले विप्लब नेतृत्वको नेकपाको पार्टीको प्रचारको जिम्मा समेत लिएर विभिन्न काम गरेको दस्तावेज समेत आफूहरुले पाएको र काठमाडौँमा अदालतमा पेश गरेको बताए । ‘उनी संलग्न विभिन्न दस्तावेजहरु पाएका छौँ । अदालतमा प्रमाणको लागि पेश गरेका छौँ । उनी कुनै पार्टीको प्रचारको भूमिकामा रहेको पनि पाएका छौँ ।’

पत्रकार महासंघका सदस्य कमल पौडेल अथकले उदाहरण दिँदै प्रश्न गरे, ‘प्रधानमन्त्रीको, अरु कुनै पार्टीको पनि प्रचारको जिम्मा कसैनकसैले पाइरहेकै छ जिम्मा पाएकै आधारमा पक्राउ गर्न मिल्छ ।’ पौडेलले गरेको प्रश्नमा कास्की प्रहरी प्रमुख र प्रजिअले खासै उत्तर फर्काएनन ।

एसपीले ‘यो अलि फरक छ’ भन्ने जवाफमा टारे । ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले पत्रकार महासंघका अध्यक्षलाई बोलाएर यस्तो यस्तो ठाउँमा ओम हमालको संलग्नता रहेको छ भन्न सक्नुपर्ने बताए ।

प्रश्न नम्बर २) लेकसाईड कति बजेसम्म खोल्ने ?

बजार अनुगमनमा प्रशासन फितलो भएको विषयबाट पर्यटकीय नगरी पोखराको लेकसाईड क्षेत्र कति समय खोल्न हुने भन्ने विषयले प्रवेश पायो । ताण्डव न्यूजका सम्पादक गिरीले लेकसाईडमा केहिले राती २ बजेसम्म पनि सञ्चालन गरिरहँदा आइस्क्रीम बेच्ने ब्यापारीहरुलाई किन १० बजे नै प्रहरीले सिस्टी बजाउँदै बन्द गर्न लगाउँछ भनेर प्रश्न गरे । जवाफमा प्रमुख जिल्ला अधिकारीले भने, ‘यो विषयमा अदालतमा विचाराधिन छ ।

केहि दिन अघि हाम्रो एसपी साप अदालतमा भएको यस सम्बन्धी छलफलमा पनि जानु भएको थियो उहाँले केहि भन्नु होला ।’ यति भनेर नयाँ सिडिओ पन्छिएपछि एसपी कार्कीले भने, ‘लेकसाईड दिनरातै खोल्ने ठुलो कुरा हैन । पर्यटकीय क्षेत्र, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हामी पनि तदारुकताका साथ लागेका छौँ ।

काठमाडौँको ठमेल, कास्कीको पोखरा, चितवनको सौराहा २४ सै घण्टा खुलाउने विषय आइरहेको छ । लेकसाइड रातभरी खोल्न ब्यवसायको क्याटागोरी गर्नुपर्ने र ब्यवसायीले कमिटमेन्ट पनि गर्नुपर्छ ।’

उनले अध्यारो ठाउँमा सिसी क्यामेरा ब्यवसायीहरुले राख्नुपर्ने बताए ।‘यहाँका बारहरु, बाहुबली वाला हैन साउण्ड प्रुफ हुनुप¥यो । पार्कीङ चाहियो । धुम्रपान मध्यपानको लागि छुट्टै ठाउँ बनाइयोस । अनि ब्यवसायीले योयो गर्न सक्छौँ भनेर कमिटमेट गरेर कार्यान्वयन गर्ने आधार बताउनु प¥यो ।’

यो त भयो लेकसाईडको कुरा पृथ्वी चोकमा ट्याक्सीवाला देखि होटल वालाले यात्रु÷उपभोक्तालाई तानातान गर्ने कुरा पनि नयाँ प्रजिअलाई पत्रकारहरुले सुनाए । संसदिय पत्रकार मञ्च गण्डकीका अध्यक्ष समेत रहेका कान्तिपूर दैनिकका पत्रकार लालप्रसाद शर्माले भने, ‘पृथ्वी चोक वरपरका होटलहरुमा पुलिसले किन साँझ नौ बजे देखि नै होटल, अन्य ब्यवसाय बन्द गर्न लगाएको ? राती आएका मानिसहरु कहाँ जाने ? प्रहरीले ज्याजती नै गर्छ ।’

त्यसको जवाफ भने प्रजिअले दिएनन । एसपीले दिए । भने, ‘त्यहाँ के भइरहेको छ म बुझौँला ।’ लगत्तै अर्का पत्रकार शिवराज बास्कोटाले पृथ्वी चोकमा होटलवाला र प्रहरीबीच लुकामारी चलिरहेको बताए । ‘ केही दिनयता पृथ्वी चोकमा होटलवाला र प्रहरीबीच लुकामारी चलिरहेको छ,’ उनले भने, ‘पृथ्वी चोकमा प्रहरी र होटल वाला दुबैको ज्याजती छ ।

एउटा झोला बोकेर गाडीबाट कोही झ¥यो भने, कोही त्यहाँ हिँडीरहेको देखे होटलवालाले तानातान गर्छन, प्रहरी आए ह्वार्र भाग्छ, गए ह्वार्र आउँछन् । प्रहरीले होटल ब्यवसायीसँग मिलेर त्यहाँका होटलको सम्पर्क नम्बर देखिने गरेर एउटा बोर्ड राख भन्न सक्दैन ?’ होटलहरु चाँडै बन्द गर्न लगाएर पर्यटकीय शहर पोखराको मुखमै पर्यटकहरुलाई अलपत्र पार्ने काम प्रहरीले गर्न नहुने उनको तर्क छ । जवाफलमा प्रहरी प्रमुखले यसबारे छलफल गरिने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.